गतवर्षको एसइइ परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित भएको छ।
चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल थिए। ५० जना बाहेक सबैले एसइइ पास गरे। ५० को भने सबै विषयको परीक्षा रद्द भएको छ।
एसएलसी परीक्षा हटाएर बनाइएको एसइइ मा ग्रेडसिस्टम लागु भएकाले फेलपासको प्रचलन भने छैन। तर पनि कसले कुन ग्रेड ल्यायो भन्ने होडबाजी भने चलिरहेकै छ।
एसइइ एसएलसी विद्यालय तहको पढाई हो। यसमा थोरै ग्रेड ल्याएपनि वा धेरै ग्रेड ल्याएपनि विद्यार्थीको भविष्य तय भने गर्दैन। यो अरू कक्षा जस्तै एउटा तहमात्र हो।
हामीले एसइइ लागु हुनुभन्दा अघि (२०७१ साल जेठ ३० गते) तयार पारेको समाचार यसपालि पनि सान्दर्भिक हुने ठानेर पुन: प्रकाशन गरेका छौं।
परीक्षा नियन्त्रण कार्यालयले यसपाली (२०७१ सालमा) एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नतिजा निकालेको छ।
राष्ट्रिय ढुकुटीबाट शिक्षामा भएको झण्डैं खरब रुपैयाँको लगानी खेर नगएको देखाउन यो तथ्यांक 'हाइलाइट' गरेको हुनुपर्छ।
नियमित र पुरक (एक्ज्याम्पटेड) तर्फ कूल ५ लाख ४७ हजारले जाँच दिएका थिए। ती मध्ये १ लाख ८८ हजार हाराहारी उत्तिर्ण भए।
यो आँकडा अनुसार एसएलसी दिएका मध्ये एक तिहाई भन्दा केहि बढीले मात्र पास गरेको देखियो।यस हिसावले झण्डैं दुई तिहाई विद्यार्थी फेल भए।
एसएलसीलाई फलामे ढोका भन्ने 'धङ्धङी'बाट आम विद्यार्थी, अभिभावक र शिक्षक मुक्त भएका छैनन्।
समाजमा जकेडिएको त्यो चिन्तनले लाखौं विद्यार्थी, बाबुआमा र आफन्तका लागि आजको दिन 'कालो शुक्रबार' भएको छ। कयौं घरमा रुवावासी चल्नेवाला छ।
तर एसएसलसी फेल हुँदैमा जिन्दगीको जहाजै डुव्ने भने हैन। एसएलसी फेल भएर केहि फरक पर्दैन भन्ने साहस जुटाउन हाम्रै समाजमा दर्जनौं उदाहरण छन्।
एक/दुई पटक एसएलसी फेल भएर उनीहरुले हरेस खाएनन्। प्रयास गरे। मज्जाले पास गरे। कुनै बिधा समाते। करिअरमा चम्किलो तारा भए। समाजलाई पनि सकेको योगदान गरिरहेका छन्।
चर्चित हास्यकलाकार हरिवंश आचार्य एसएलसीमा दुईपटक फेल भएका थिए। तेस्रोपटक वल्लतल्ल पास भएका उनले थर्ड डिभिजन ल्याए। आफ्नो किताब 'चिना हराएको मान्छे'मा आचार्यले आफू चौँथो डिभिजनको विद्यार्थी भएको लेखेका छन्।
फेलभएपछि उनी व्यापारीको भरिया बनेर विदेश गए। कहिले सांस्कृतिक कार्यक्रममा भाग लिन्थे। तर परिक्षा भने दिन छोडेनन्।
एसएलसी फेल भएरपनि हरिवंश स्कुले जीवनदेखि नै नाटक र अभिनय राम्रो गर्न सक्थे। स्कुल क्याम्पसका पढाइमा 'चौथो डिभिजन' उनी नेपाली कलाक्षेत्रका अब्बल कलाकार हुन्।
आफ्नो किताबमा उनले आफू फेल भएर पास हुँदाको एउटा अनुभव यसरी लेखेका छन्, 'कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट भूलसुधार भनेर गोरखापत्रमा छापिन्थ्यो। त्यसमा कोही पास भएका फेल हुन्छन्, फेल भएका पास हुन्छन्।
नक्सालकै एकजना पढैया मान्छे फेल भएछन र त्यहीँ दिन झुण्डिएर आत्महत्या गरेछन्। तर, भोलिपल्ट गोरखापत्रको भुलसुधारमा उनी प्रथम श्रेणीमा पास भनेर निकाल्यो।'
सशस्त्र प्रहरीका पूर्व एआइजी रवीराज थापा कुनै बेला नेपालका तर्फबाट ओलम्पिकमा पुग्ने खेलाडी थिए। प्रहरी सेवामा उनले राम्रो अफिसरको छबी बनाए।
लागूऔषध नियन्त्रण गर्ने विज्ञको रुपमा उनले संयुक्त राष्ट्रसंघको मिसनमा काम गरे।
उनी पनि पहिलोपट एसएलसी फेल हुन्।२०२४ सालमा उनले पहिलोपटक एसएलसी दिएका थिए। साधारण सरकारी स्कुलमा पढेका उनलाई एसएलसीमा गणित लाग्यो।
विषय लाग्दा पनि थापालाई धेरै चिन्ता लागेन। किनभने उनलाई गाली गर्ने कोहि थिएन। फेल भएका दिनमा पनि उनी चिन्ता लिएर बस्दैनथे।
त्यो बेला पुरक परिक्षा दिने चलन पनि थिएन त्यसैले उनले एकवर्ष पछि मात्रै अर्को परीक्षा दिएका थिए।
खेलमा उनको रुचि थियो। अहिले सम्झीँदा पनि उनलाई एसएलसी फेल भएकामा कुनै गुनासो छैन।
उनी खेलकुदमा सौखिन थिए त्यसैले पढाइमा ध्यान दिएनन् आइए र बिए पनि उनले व्याक पेपर दिँदै पास गरे।
'एसएलसी फेल भएको थिएँ, तर त्यसले मेरो करिअरमा कहिल्यै असर गरेन,' थापाले भने, 'फलामे ढोका भनेर अभिभावक र शिक्षकहरुले देखाइदिने डर एकदमै गलत कुरा हो।'
शिक्षा पास फेल भन्दा पनि जीवनउपयोगी हुनुपर्ने धारणा उनको छ। 'शिक्षकले पढाई भन्दा जिवनमा पास हुनु ठूलो हो भनेर सिकाउनुपर्छ,' थापाको अनुभव छ, 'सानातिना पास फेलले जिवनलाई केही असर गर्दैन।'
द्वारिकानाथ ढुंगेल नेपाल सरकारका पूर्व सचिव हुन्। सरकारी जागिर त्यागेपछि उनी आइआइडिएस भन्ने अनुसन्धान केन्द्रमा काम गरे। उनी २०१५ र २०१६ सालमा एसएलसी फेल भएका हुन्।
दुईपटक फेल हुँदा निरास उनले कोचिङ पढे। अर्को वर्ष २०१७ सालमा उनी थर्ड डिभिजनमा पास भए।
'फेल हुँदा अल्ली दिन त म हिनताबोधले ग्रसित भएको थिएँ। साथिहरुले हेप्थे छिमेकीले पनि फेल भयो काम लाग्दैन भन्थे,' ढुंगेलले भने 'पछि मलाई हेप्ने साथीहरुले पढ्न सकेनन् तर मैले कहिले पछि फर्केर हेर्नुपरेन।'
नेपाली र हिसाबमा एसएलसी फेल भएका ढुंगेल एमए (राजनीतिशास्त्र) को टपर भए।
अमेरीकाको हार्वड र इण्डियाना विश्वविद्यालयमा गएर पढेँ। पिएचडी गरे। उनलाई लाग्छ, 'विद्यार्थी फेल हुने होइन। शिक्षा पद्धतिले विद्यार्थीलाई पास वा फेल बनाउने हो त्यो रोक्नुपर्छ।'
'एसएलसी फलामे ढोका' भनेर सारालाई तर्साउने शिक्षा पद्धति नै उनलाई चित्त बुझेको छैन। 'बुद्धि तीन घण्टामा जाँचिदैन, ज्ञान दिने र पाउने पद्धति विकास गर्नुपर्छ,' ढुंगेलले भने।
काठमाडौं, ललितपुरको सडक विस्तारको नेतृत्व लिएर चर्चामा रहेको उपत्यका विकास प्राधिकरणका निमित्ति प्रमुख छन्, भाइकाजी तिवारी।
उनी २०२९ सालमा अंग्रेजी विषय लागेर एसएलसी फेल भए। त्यसपछि २/३ वर्ष पढ्नै छोडे।
फेरि स्कूल भर्ना भए। २०३४ सालमा फेरि एसएलसी दिए। बोर्ड फिफ्थ भए। पुल्चोक इन्जिनियरीङ कलेजबाट सिभिल इन्जिनियरीङमा डिस्टिङ्सन ल्याए।
शिक्षा मन्त्रालयको स्कलरसीपमा रसियामा एमएस्सी गर्न गए। २०४४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका उनी उपत्याकाको विकास गर्ने सरकारी संस्थाको नेतृत्वमा छन्।
'म एसएलसीमा फेल नभएको भए यहाँसम्म आइपुग्ने थिँइन,' तिवारीले भने 'फेल हुनुले करिअरमा कुनै असर गर्दैन, हरेश खानु हुँदैन।'
सेतोपाटीसँगको कुराकानीमा सबैले एसएलसीलाई 'फलामे ढोका' भनेर चित्रण गर्ने चलनलाई अब बदल्नु पर्ने बताए।
'सानोतिनो जित हार'को नाममा बालबालिकाले जीवनलाई नै अध्याँरो देख्ने शिक्षा पद्धति र समाजको सोच फेर्नुपर्ने उनीहरुको साझा तर्क छ।
एसएलसी फेल भएर पनि आफ्नो कर्मक्षेत्रमा अव्वल भएकाहरुको संख्या ठूलो छ।