गत जेठ २० गते। दिनभर कामको थकाइले लखतरान भएर डेरा फर्कंदै गरेकी डल्लुकी एक महिलालाई जेठ २० गते बेलुकी मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरे।
सुरूमा उनलाई मोटरसाइकलको लेग गार्डले पछाडिबाट ठक्कर दिएकोजस्तो लागेको थियो। तर पछिसम्म पनि दुखाइ कम भएन।
खपिनसक्नु गरी दुखेपछि उनले चोट लागेको ठाउँ हेरिन्, सानो घाउ लागेको रहेछ। नजिकै मेडिकल गएर मल्हम किनेर लगाइन्।
डेरा पुगेर उनले श्रीमानलाई घटनाबारे बताइन्। त्यो रात त्यसै बित्यो।
भोलिपल्ट मोबाइलमा फेसबुक चलाइराखेकी घरबेटीकी छोरीले डल्लुमा हिजो सिरिन्ज आक्रमण भयो रे भनिन्। त्यसपछि ती महिला श्रीमानलाई लिएर प्रहरी कार्यालय गइन्, आफूमाथि भएको आक्रमणबारे उजुरी दिइन्।
उनीहरूले उजुरी दिन नभ्याउँदै प्रहरीकहाँ अर्को उस्तै खालको उजुरी पनि आयो। उजुरी दिनेले भनेका थिए, ‘मोटरसाइकलमा आउनेले सिरिन्ज हानेर भाग्यो। उपचार र कारबाही गरिपाऊँ।’
जेठ १८ गते पनि यस्तै प्रकृतिको घटना भएका थिए। काठमाडौं वडा नम्बर १७ मा राती १० बजे मोटरसाइकलमा सवार व्यक्तिले एक महिलालाई आक्रमण गर्यो।
घटना भएको दुई सातापछि फेरि यस्तै प्रकृतिको आक्रमण भयो काठमाडौं वडा नम्बर १६ मा। राती १० बजे मोटरसाइकलमा सवार व्यक्तिले महिलामाथि आक्रमण गरेर भागे।
घटनालाई लिएर सञ्चारमाध्यममा श्रृंखलावद्ध समाचार आए। कतै सिरिन्ज आक्रमण त कतै धारिलो हतियार प्रयोग गरी आक्रमण भएको भन्दै।
यसपछि प्रहरीले आक्रमणकारी खोज्न सक्रियता बढायो।
चार वटा उजुरी आएको र घटना एकै रूटमा घटेको देखेपछि प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको थियो। सोह्रखुट्टे, डल्लु, स्वयम्भू क्षेत्रमा घटना घटेका थिए।
आक्रमणमा परेका महिलाहरूको अस्पतालमा उपचार गराउँदा चिकित्सकले पनि चोट हेर्दा धारिलो वस्तु प्रयोग भएको भन्ने अनुमान गरेका थिए।
घटनाबारे अनुसन्धान गरिराखेको महानगरी प्रहरी परिसर काठमाडौंले यी सबै घटनामा संलग्न रहेको आरोपमा बिहीबार बेलुकी एक युवालाई नियन्त्रणमा लियो।
महाराजगञ्जमा दाजुसँग मिलेर रेष्टुरेन्ट चलाउने रामेछापका ३० वर्षका सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनी अहिले नैकाप बस्थे।
पक्राउ परेका कार्कीले चार वटै घटनाको जिम्मेवारी स्वीकार गरेको प्रहरी दाबी गर्छ। महाराजगञ्जबाट नैकाप जाने क्रममा कार्कीले महिलामाथि आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीको भनाइ छ।
‘घटना एकै प्रकृतिको थियो। आक्रमण गरेको समय पनि बेलुकी १० बजेपछि मात्रै,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोगटीले भने, ‘सिरिन्ज भनेर प्रचार भइराखेको भए पनि काठको छेस्का, ढलान काँटीले महिलालाई आक्रमण गरेको कार्कीले स्वीकारेका छन्।’
घटनाबारे थप अनुसन्धान भइराखेको उनले बताए। पीडितहरूले मोटरसाइकलमा सवार व्यक्तिले आक्रमण गरेको उजुरी दिएको तथा पक्राउ परेका व्यक्ति सोही रूट हुँदै दिनहुँ बा ४७ प १३३१ नम्बरको मोटरसाइकल चढेर नैकापस्थित डेरा जाने गर्थे।
पक्राउ परेका कार्कीले दिएको प्रारम्भिक बयानमा राम्रो लाग्ने युवतीलाई छेस्का र ढलान किलाले घोप्ने गरेको बताएका छन्।