युनेस्कोले स्वयम्भूलाई विश्व सम्पदा सूचीबाट हटाइदियो भने आश्चर्य नमाने हुन्छ!
युनेस्कोले स्वयम्भूसहित काठमाडौंका विश्व सम्पदालाई खतरा सूचीमा राख्ने प्रस्ताव गरिसकेको छ। यति हुँदाहुँदै स्वयम्भूमा भइरहेका आधुनिक निर्माण रोक्न सरोकारवाला निकायहरूले ध्यान नदिँदा यो ठाउँ कुनै पनि बेला विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको हो।
भुइँचालोले क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा ध्यान नदिएको, कंक्रिट संरचना बनाएको लगायत कारण देखाउँदै युनेस्कोले काठमाडौंका विश्व सम्पदालाई खतरा सूचीमा राख्ने प्रस्ताव गरेको हो।
त्यसैमध्ये स्वयम्भू स्तुप छेउमै केही समययता धमाधम कंक्रिट संरचना बनाएर त्यहाँको पुरातात्विक स्वरूप मास्ने काम हुँदैछ।
स्वयम्भू पूर्वी भर्याङको प्रवेशद्वारमा केही महिनाअघि कंक्रिटको ढोका बनाउन खोजिएको थियो। सिँढीमा रहेको मूर्तिमा हाँसउठ्दो पाराले हरियो रंग पोतिएको थियो। स्थानीय र पुरातत्व विभागको पहलमा उक्त निर्माण रोकियो।
स्वयम्भू स्तुप नजिकै भइरहेको निर्माणमा भने स्थानीयले लगातार विरोध गरिरहँदा पनि पुरातत्वले चासो दिएको छैन। स्वयम्भू स्तुप नै छेकिने गरी भइरहेको यो निर्माण कर्मराज महाविहार भवन हो, जसमा अत्यधिक कंक्रिट प्रयोग गरिएको छ।
यहाँ चारैतिर जस्तापाताले घेरेर निर्माण हुँदैछ। भित्र के बन्दैछ थाहा हुन्न। जस्तापाताको कापबाट चिहाउन वा फोटो खिच्न दिँइदैन। पश्चिमी गेटबाट जाँदा पहिले अलि वरैबाट स्तुप देखिन्थ्यो। अहिले जस्तापाताले स्तुप छेकिएको छ।
सम्पदा क्षेत्र भनेको कुनै एउटा स्मारक मात्र होइन, त्यो स्मारक वरिपरिको समग्र क्षेत्र हो। डाँडाको टुप्पोमा बसेको स्वयम्भू महाचैत्य अहिले चारैतिरबाट देखिन्छ। महाचैत्य नै छेक्ने गरी अर्को संरचना उभियो भने यसको सम्पदा महत्व के रहला?
सिमेन्ट र आधुनिक उपकरण प्रयोग गरेर निर्माण भइरहेको यो महाविहारले पछाडिको जंगलसमेत मास्दैछ। पहिले २ आना ३ पैसामा फैलिएको महाविहारलाई पछाडिको जंगल मासेर १४ आना ३ पैसामा निर्माण गर्ने तयारी हुँदैछ।
पहिलेभन्दा सात गुना बढी क्षेत्रफल ओगट्ने गरी आधुनिक शैलीमा भइरहेको निर्माणले विश्व सम्पदा मापदण्ड उल्लंघन र स्वयम्भूको सुन्दरता बिगारेको भन्दै स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विरोध गरेको छ। स्वयम्भूको कमजोर डाँडाले आधुनिक संरचनाको भार बोक्न नसक्ने महासमितिका पदाधिकारी बताउँछन्।
काठमाडौं महानगरपालिकाको अनुमतिमा बनेको यो गुम्बालाई ’निजी विहार’ भन्दै पुरातत्व विभागले वास्ता गरेको छैन। निजी विहारमा सम्पदा मापदण्ड लागू नहुने भन्दै पुरातत्व पन्छिएको छ। महासमितिका पदाधिकारी यसैमा रुष्ट छन्।
‘सबै सम्पदा मौलिक सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ। यसलाई पनि मापदण्डअनुसार बनाउनुस्, हामी सहयोग गर्छौं भन्दा उहाँहरू मान्नुहुन्न,’ महासमिति अध्यक्ष सर्वज्ञरत्न तुलाधरले सेतोपाटीसँग भने।
महासमितिको यस्तो सुझावविपरीत कसैले नदेख्ने गरी जस्तापाता हालेर गुपचुप निर्माण गरिएको उनले बताए।
’यहाँका गुर्जुहरूको घर पनि सबै निर्माण गर्दिन्छु भनेर आफ्नो समर्थनमा पारेका छन्,’ ८३ वर्षीय तुलाधरले भने, ’यस्तो मनलाग्दी हुँदा पनि महानगर र पुरातत्व मौन बसेको देखेर हामी छक्क छौं।’
सन् १९५४ मा निर्माण भएको कर्मराज महाविहार तिब्बती बौद्धअन्तर्गतका चार मुख्य विद्यालयमध्ये एक हो। आकर्षक कलाकृतिले सजिएको यो गुम्बामा करिब ५० भिक्षु अटाउँथे। प्रत्येक दिन धुपबत्ती बालिन्थ्यो।
२०७२ को भुइँचालोले क्षति पुगेपछि भत्काएर नयाँ बनाउन लागिएको हो। सन् २०२० सम्म सक्ने लक्ष्य रहेको यो गुम्बा करिब १३ करोड ५२ लाखमा निर्माण हुँदैछ। यही क्रममा आफ्नो क्षेत्रफल पनि बढाउन वरिपरिको जंगलसमेत समेटेको महासमितिका उपाध्यक्ष ज्ञानु लामा बताउँछन्।
उनका अनुसार वनको जग्गा पहिले वन मन्त्रालयअन्तर्गत थियो। मन्त्रिपरिषद बैठकबाट गुठी संस्थानको स्वामित्वमा गयो। त्यसपछि गुठीकै मिलेमतोमा उक्त वनक्षेत्रलाई समेत गुम्बाअन्तर्गत पारिएको हो।
२०२१ को नापीअनुसार यो गुम्बा कित्ता नम्बर ६८६ को जग्गामा थियो। त्यतिबेला २ आना ३ पैसाको जग्गा दोस्रो नापी हुँदा कित्ता नम्बर ६२ कायम गरियो र क्षेत्रफल १४ आना ३ पैसा पुर्याइयो।
गुम्बाका सचिव राजेन्द्रलाल महर्जनले भने २०२१ को नापीमा ’भूलवश’ क्षेत्रफल कम परेकाले दोस्रो नापीमा सच्याइएको हालसाविक दर्ता निवेदनमा उल्लेख गरेका छन्।
‘सरकारले नै गुम्बालाई दिएपछि हामीले केही भन्न सकेनौं। त्यस्तै हो भने सरकारले धार्मिक वन जसलाई पनि दिन सक्ने भयो,’ महासमिति अध्यक्ष तुलाधरले भने, ‘स्वयम्भू डाँडामा यति ठूलो गुम्बा किन चाहियो? गुम्बा मात्र बनाएर भएन नि, घुम्ने ठाउँ पनि त चाहियो।’
उनका अनुसार अतिक्रमित जग्गा धार्मिक वनअन्तर्गत पर्छ। यसलाई प्रयोग गर्न छुट्टै नियम पालना गर्नुपर्छ। जथाभाबी मिचेर संरचना बनाउन पाइँदैन।
‘स्वयम्भू संरक्षण एवं निर्माण मापदण्ड २०६४’ अनुसार स्वयम्भू डाँडास्थित महाचैत्य वरिपरि अधिकतम २४ फिटको संरचना मात्र निर्माण गर्न पाइन्छ। यो मापदण्डअनुरूप गुम्बा पनि २४ फिटभन्दा अग्लो बनाउन पाइँदैन।
चौबीस फिट मात्र बन्नुपर्ने गुम्बामा परम्परागत सामग्री प्रयोग नगरी किन कंक्रिट पिलर हालेको भनी स्थानीयले प्रश्न गरेका छन्।
‘विश्व सम्पदा क्षेत्रमा कुनै पनि निर्माण गर्दा आधुनिक सामग्री प्रयोग गर्न हुँदैन भनेर पुरातत्व विभागले भनेको हामीले सुनेका छौं,’ हाल मरूटोल निवासी स्थानीय मधुसुदन श्रेष्ठ भन्छन्, ‘स्वयम्भूको यो गुम्बामा भने सिमेन्ट र डन्डी प्रयोग गरेको देख्दादेख्दै पुरातत्व किन मौन?’
युनेस्कोले सन् १९७९ मा स्वयम्भूलाई विश्व सम्पदा सूचीमा राखेको थियो। सूचीकृत गर्ने क्रममा यहाँ हुने सांस्कृतिक परम्परा, मौलिक घर लगायतका विविध पक्ष हेरिएका थिए। विश्व सम्पदा क्षेत्रमा भएको गुम्बालाई निजी भन्नै नसकिने अध्यक्ष तुलाधर बताउँछन्।
‘स्वयम्भू पूरै संरक्षित क्षेत्र हो। सातमध्ये एक सम्पदा पर्ने स्वयम्भूमा मनलाग्दी गर्न पाइँदैन,’ उनले भने, ‘यो मान्छेले कल्पना गरेर फेरि फेरि बनाउन सक्ने ठाउँ होइन।’
विश्व पर्यटनमा सम्पदा स्थलको विशेष महत्व हुन्छ। एकपटक खतरा सूचीमा परिसकेपछि पुनः विश्व सम्पदा सूचीमा फर्कन समस्या हुने संस्कृति मन्त्रालयकै अधिकारी बताउछन्।
यही जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३ औं सत्रमा हुने छलफलबाट उपत्यकाका सम्पदालाई खतरा सूचीमा राखिने सम्भावना छ।
कर्मराज महाविहार र अन्य आधुनिक निर्माण नरोकिने हो भने स्वयम्भू खतरा सूचीमा पर्ने बलियो सम्भावना छ, जुन नेपालको पर्यटनका लागि ठूलो क्षति हो।