पृष्ठभूमिमा कहिले अंग्रेजी गीत बजिरहेको हुन्छ, कहिले हिन्दी त कहिले आधुनिक नेपाली।
यसैमा ताल मिलाउँदै जब उनी तबला बजाउन थाल्छन्, यस्तो लाग्छ त्यो पृष्ठभूमिमा बजेको गीतकै हिस्सा हो।
तपाईंलाई आफ्नो कानमा विश्वास नलाग्ला, तर आँखाले नै ढाँटेको कसरी भन्नु!
उनी बडो हाउभाउका साथ तबला ठोकिरहेका हुन्छन्। जब कान र आँखाले तबलाको आवाज छुट्टयाउँदै जान्छ, तब तपाईं चकित पर्दै सोच्नुहुन्छ- यतिसम्म मिहिन रूपले तबला संयोजन गर्न सम्भव हुन्छ र!
विख्यातप्रसाद ह्योजुले सम्भव गरेर देखाएका छन्।
भर्खर १६ वर्ष लागेका उनी चाहे तीव्र गतिको अंग्रेजी गीत होस् वा गम्भीर प्रकृतिका हिन्दी, त्यसको तालमा नङ र मासुजस्तो हुने गरी आफ्नो तबलाको धुन भर्न माहिर छन्।
पछिल्लो समय 'युट्युब' मार्फत् आफ्नो प्रतिभा देखाउने चलन संसारभरि बढेको छ। यस्ता थुप्रै स्टार छन्, जो युट्युबबाटै उदाए। विख्यात पनि युट्युबबाटै चिनिएका प्रतिभा हुन्।
उनी आफ्नो कलालाई 'तबला फ्युजन' का रूपमा परिभाषित गर्छन्। उनले फेसबुक र युट्युबमा आफूले तबला फ्युजन गरेका थुप्रै भिडिओ अपलोड गरेका छन्। हालै उनले भी-टेन समूहको 'हामी यस्तै त हो नि ब्रो' गीतमा तबला संयोजन गरेको भिडिओ चर्चामा छ।
यसबाहेक दिपक बज्राचार्यको 'मनमगन', चिराग खड्काको 'बूढी' लगायत थुप्रै हिन्दी र अंग्रेजी गीतमा उनले तबलाको ताल भरेका छन्।
बुटवलमा जन्मे-हुर्केका विख्यात नौ वर्षको उमेरदेखि तबला बजाउन थालेको बताउँछन्। उनी काठमाडौंको सिर्जना कलेज अफ फाइन आर्ट्समा संगीत सिक्दै छन्।
'स्कुलमा अरूले मादल बजाएर वाहवाही पाएको देख्दा म दंग पर्थें,' विख्यातले सेतोपाटीसँगको कुराकानीमा भने, 'यही वाहवाहीको लोभले मलाई मादलतिर आकर्षित गर्यो।'
स्कुलका शिक्षकले नै मादल सिकाइदिएको उनी बताउँछन्।
उनले आफ्नो यो रूचि घरमा बुबालाई सुनाए। पत्याएनन्। घरमा मादल थिएन, त्यसैले उनले बुबालाई विश्वास दिलाउन मादलझैं तिघ्रा बजाए, टेबल ठटाए।
यसबाट प्रभावित बुबाले मुग्लिङसम्म लगेर मादल किनिदिए। त्यसपछि भने, 'खै बाजा त।'
उनले बुबालाई केही धुन सुनाए। बुबा मख्ख।
त्यसपछि बुबाले नै उनलाई बागेश्वरी संगीतालय भर्ना गर्दिए, जहाँ उनले तबलासमेत सिके।
विख्यातलाई सुरूमा तबला भनेकै थाहा थिएन। गीतमा सुन्ने तबलाको धुन पनि उनलाई मादलकै जस्तो लाग्थ्यो। त्यहाँ तबलाबारे जानकारी पाएपछि यसतर्फ उनको रूचि बढ्न थाल्यो।
तबला सिक्न भने निकै गाह्रो भएको उनी बताउँछन्। 'हात बस्नै समय लाग्दो रहेछ,' उनले भने, 'सुरू सुरूमा हात र औंलाहरू यति दुख्थ्यो, अब योभन्दा बढी सिक्न सक्दिनँ भन्ने लाग्थ्यो।'
उनलाई तबलाको धुन छुट्टै सुन्नभन्दा थरीथरीका गीतमा यसको मिश्रण मन पर्थ्यो। उनले त्यसैमा आफ्नो हात बसाउँदै गए। आफ्नो इच्छाअनुसार अनेक गीतमा तबलाको धुन मिसाउँदै गए। यसमा गुरू सुरेश सेन्चुरीले मद्दत गरेको उनी बताउँछन्।
यही क्रममा एकदिन उनले आफूले बनाएका एकल धूनहरू सामाजिक सञ्जालमा हाले। एकल धून मान्छेले खासै नरुचाएझैं लाग्यो। कतिले त नकारात्मक प्रतिक्रिया पनि दिए। यसले कतिपय अवस्थामा उनको जोश हराउँथ्यो, निराश बनाउँथ्यो।
एसएलसीपछि उनले बुटवलमै एउटा ब्यान्डसँग काम गर्न थाले। उनी त्यही ब्यान्ड सदस्यका रूपमा एक स्थानीय होटलमा तबला बजाउँथे। यस्ता कार्यक्रममा धेरैले तबला खासै नरूचाएको उनको अनुभव छ। कति त तबला र मादलबीच झुक्किए पनि।
'होटल साहुले आज मान्छे नै भएन भन्दै ट्याक्सी भाडा मात्र दिएर पनि पठाए,' विख्यातले पुराना दिन सम्झे।
जब उनले लोकप्रिय अंग्रेजी वा हिन्दी गीतमा आफ्नो तबलाको धुन भरेर युट्युबमा हाल्न थाले, उनको चर्चा एकाएक चुलियो। थरीथरीका स्रोताले उनको तारिफ गर्दै प्रतिक्रिया पठाउन थाले।
यसरी अरू गीतमा तबलाको धुन 'फ्युजन' गर्दा लय र ताल मिलाउनमा बढी समय खर्चिनुपर्ने उनी बताउँछन्।
'धेरैले मेरो यो काम मन पराइदिनुभएको छ। खुसी लाग्छ,' कुटुम्बका सारंगीवादक किरण नेपालीसँग मिलेर काम गर्न लागेका विख्यात भन्छन्, 'थप काम गर्ने प्रेरणा मिलेको छ।'
विख्यात परिवारमा एक्ला संगीतकार होइनन्। कन्छो बुबाले पनि विभिन्न बाजा बजाउने गरेको उनले बताए।
विख्यातलाई तबलावादनमै करिअर बनाउन मन छ। तबला भनेको कस्तो वाद्यवादन हो भनेर युवा पुस्तालाई सिकाउन मन छ।
'आधुनिक वाद्ययन्त्रहरूको लोकप्रियताले तबलाको अस्तित्व जोगाउन चुनौती थपिएको छ,' उनले भने, 'म तबलाको प्रयोगलाई भजन र गजलमा मात्र सीमित नराखी आधुनिक गीत-संगीतमा पनि 'फ्युजन' गराउन चाहन्छु।'