वैशाख अन्तिममा घर निर्माण सकियो। सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारी सारे।
घर सर्नुभन्दा पहिले उनीहरू लोकन्थलीमा डेरा बस्थे। डेरा बस्दा मासिक भाडामात्र २० हजार तिर्नुपर्थ्यो। आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने सोनमको विश्वास थियो।
बसाइँ सरेसँगै छोरा दिप्सनलाई नजिककैको नेतापुल बोर्डिङ स्कुलमा भर्ना गरे- युकेजीमा। लोकन्थली छँदै दीव्यदीप ज्योति बोर्डिङबाट दिप्सनले एलकेजी सकेका थिए।
सोनम एयरपोर्टमा रेस्टुरेन्ट चलाउथे। श्रीमती ईश्वरी कमलविनायकस्थित साह गार्मेन्टमा ज्याकेट सिलाउने काम गर्थिन्। ईश्वरीसँगै बसिरहेकी उनकी आमा सावित्री नाति दिप्सनको रेखदेख र घरायसी काममा खटिन्थिन्।
नातिलाई बोर्डिङ पुर्याउने, खाजा लगिदिने, घर ल्याउने सबै काम सावित्रीले गरिरहेकी थिइन्।
छिमेकी तारा ढकालका अनुसार सावित्री सधैँ नाति डोर्याउँदै बोर्डिङ जान्थिन्। बाबुआमा आफ्नै काममा व्यस्त भइरहने हुनाले दिप्सनलाई हजुरआमाको काख न्यानो थियो। बाँसबारीमा छोरीको घरमा बसेर सावित्री पनि नातिको भविष्यका खातिर यी सब गरिरहेकी थिइन्।
आतइबार तिनै सावित्रीलाई छोरी ईश्वरीले प्रेमी लगाएर हत्या गरेपछि दिप्सनले हजुरआमाको काख सधैँका लागि गुमाए। ईश्वरी पनि आमाको हत्या अभियोगमा थुनामा छिन्।
दिप्सन एकैपटक आमा र हजुरआमाको न्यानो काखबाट टाढिएका छन्।
बाबु-आमा भए पनि उनी एक्कासी ‘टुहुरा’जस्ता भएका छन्। आमाको काखमा हुर्किने बेलामा अब उनको जीवनमा बाबुमात्र छन्।
सावित्रीको हत्यासँगै घरमा ताला लागेको छ। सोनम सासुको काजकिरियामा सक्रिय छन्। जोरपाटीको किरिया घरमा १३ दिनको काम भइरहेको छ।
दिप्सनलाई उनकी माइली ठूलीआमा भगवतीको घर लोकन्थली राखिएको छ। अब उनी त्यहीँ बस्नेछन्।
सावित्रीका चार छोरीमध्ये माइली भगवती बसेकै घरमा ईश्वरी र सोनम पहिले डेरामा बस्थे।
भर्खरै नयाँ घर बनाएर उनीहरू सरेका थिए। आफ्नै घरमा सरेपछि गाउँले रहनसहनमा दिप्सन रमाउन थालेका थिए। नयाँ स्कुल पनि रमाउँदै जान्थे।
डेढ महिना नपुग्दै दिप्सनको पढाइ रोकिएको छ। हजुरआमाको हत्या भएपछि उनलाई स्कुल पुर्याउने मान्छे कोही छैन।
सोनम छोरालाई भगवतीकोमै राख्ने निर्णयमा पुगेका छन्।
सोनमले अब त्यो भर्खरै बनाएको घर फर्किने मनस्थिति लगभग त्यागेका छन्।
‘म अब त्यो घर फर्किन्नँ सायद, त्यसैले छोरालाई त्यहाँ कसैको साथमा छोडेर यता काजकिरियामा बस्न मन लागेन,’ सोनमले भने।
१३ दिनको काम सकिएपछि छोरालाई पुन: पहिलेकै बोर्डिङमा भर्ना गर्ने योजना उनको छ। तर, भर्नाको प्रक्रिया के हुन्छ भन्ने उनले बुझेका छैनन्।
कलिला दिप्सनलाई घरमा घटेको भयंकर दुर्घटनाबारे थाहा छैन। उनी हजुरआमा खोज्छन्, आमा खोज्छन्।
रातबिरात, भोक-निद्रामा हजुरआमा खोज्ने बानी परिसकेको छ। सोनमले हिजोआज छोरा दिप्सनले रात-दिन त्यही भोगिरहेको बताए।
‘के गर्नु, कल्पनै नगरेको घटना भयो, बालख छ, आमा-हजुरआमा खोज्छ,’ उनले भने, ‘तर, म उसलाई आमा-हजुरआमाको खाँचो महसुस हुन दिन्नँ।’
काजकिरिया सकिएपछि छुट्टै ठाउँमा डेरा लिएर बस्ने सोच बनाइरहेका छन्।
‘छोरा मान्छेको जीवन, काममा जानुपर्छ, म त फिल्म क्षेत्रमा काम गरिरहेको मान्छे हुँ,’ उनी भन्छन्, ‘बाबुलाई आमा बराबर माया पाउने स्थान अहिलेलाई ठूलीआमाको काख नै उपयुक्त होला भन्ने सोचेको छु।’
भगवतीका छोरा पनि दिप्सनजत्रै छन्। चाँगुनारायण जानुपहिले दिप्सनका साथी भगवतीका छोरा नै थिए। उनीहरू एउटै बोर्डिङमा एउटै कक्षामा पढ्थे। अब दिप्सनले समय काट्ने साथीको रूपमा ठूलीआमाका छोराको साथ पाउनेछन्।
‘दिप्सनलाई साथीको खाँचो पनि टर्छ, आमाकै रूपमा ठूलीआमाको साथ पनि,’ सोनमले भने, ‘उसको हरेक पाइलामा म साथ दिने नै छु।’
सोनम २९ वर्षका भए। उनको घर रामेछाप दोरम्बा गाउँपालिका-२ हो। उनी कलिलै उमेरमा काठमाडौं आएका थिए। २०५७ काठमाडौं आएका उनी होटलमा काम गर्थे। होटलमै काम गर्दै यतैबाट एसएलसी पास गरे। त्यहाँभन्दा माथि पढाइ अगाडि बढाउन सकेनन्।
लोकन्थलीमा बस्थे। जडिबुटी नरेफाँटमा ईश्वरी, उनकी साइँली दिदी, आमा सावित्री बस्थिन्। छेउछाउमै बसोबास र चिनजानका हिसाबले उनीहरूबीच सहमतिमै अन्तरजातीय बिहे भयो। बिहेपछिका दिनहरू सुखद् नै बितिरहेका थिए।
दिप्सन जन्मिएपछि जिम्मेवारी बढ्यो।
उनीहरू भरसक आफ्नै घर र जग्गाजमिन होस् भन्ने चाहन्थे। सोनमले २०७२ सालमा चाँगुनारायणमा जग्गा किने। कमाइको केही पैसा र केही ऋण गरेर एकतले घर बनाएका थिए।
छिमेकीहरूका अनुसार बाहिर देखिँदा सोनम र ईश्वरीको सम्बन्धमा चिसोपन थिएन। भर्खर बनेको घरमा भित्रभित्रै धमिरा लाग्न थालेको कसैले चाल पाएनन्।
सोनमका अनुसार ईश्वरी र सिरहा कल्याणपुर नगरपालिका-४ का मोहम्मद नौसाद गार्मेन्टमा सँगै काम गर्थे। एक-अर्काबीच ‘साथीको नाता’ थियो। नौसाद घरिघरि आइरहन्थे, लोकन्थलीमै हुँदादेखि। ‘साथी’को नाता लगाउँदै कोही घरमा आउनुलाई सोनमले आश्चर्य ठानेनन्।
‘मेरो पनि कोही साथी घर आउँछ, उनीसँग काम गर्ने साथी घरमा आउने-जाने गर्दा मैले शंका गरिनँ,’ सोनमले भने, ‘मान्छे मार्नेसम्मको योजना श्रीमतीबाटै भएको थाहा पाएपछि मेरो दिमागले राम्रोसँग काम गरेको छैन।’
सोनम घरमा बाक्लो नबस्ने गरेकाले नौसाद बढी नै आउने-जाने गरिरहेका थिए। यो क्रम नयाँ घर सरेपछि पनि रोकिएन।
जुन सम्बन्धलाई आमा सावित्रीले मन पराएकी थिइनन्। एक कान दुई कान गर्दै यसको सुइँको सोनमले पनि पाइसकेका थिए।
प्रहरीका अनुसार सोनमले वादविवाद गरेको भए भर्खर जोडिएको घरको इँटा भत्किन बेर लाग्थेन। सोनमले त्यो चाहेनन्। घरको कुरा घरमै मिलाउने प्रयास गरे।
त्यसैको ‘मिलनबिन्दु’ थियो, नौसादलाई दुबई जान पैसा दिने। ईश्वरीकै पैसाले नौसाद दुबई गए। यति भएपछि सोनम, सावित्री ढुक्क थिए।
तर नौसाद फर्किए।
यति चाँडो उनी फर्किएलान् भन्ने सोनमलाई लागेको थिएन। उनी फर्किने वातावरण पनि ईश्वरीले नै मिलाउलिन् भन्ने त कसैले कल्पना गरेकै थिएन।
घटनाबारे सोनम भन्छन्, ‘केही कुरा चाल नै पाइनँ, थोरैमात्र थाहा पाएको भए म सचेत हुन्थें।’
भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार हत्यामा ईश्वरीकै बढी जोड देखिन्छ।
उनी भन्छन्, ‘हत्या योजना उनैले बनाएको देखिन्छ। नौसादले एक्लै यो काम गर्न नसक्ने भनेपछि साथी खोज्न पनि पैसा दिने आश्वासन पनि उनैले दिएकी छिन्।’
नौसादले पूर्वी दिल्ली छाप्रा थाना, दुभौली पञ्चायतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमारको साथ लिनुपर्ने सुझाएका थिए।
भोला ईश्वरीको घरपरिवारसँग परिचित थिए। उनीहरू सँगै गार्मेन्टमा काम गर्थे। नौसाद ईश्वरीको घरमा पुग्दा यदाकदा भोला पनि सँगै हुन्थे।
नौसाद दुबईबाट असार ५ गते काठमाडौं आए। नौसाद र कुमारले पहिलो पटक असार ९ गते नै सावित्रीको हत्या गर्न खोजेको देखिन्छ। एसपी प्रधानका अनुसार दुई जना ९ गते एकपटक घर पुगेका थिए।
‘विदेश गएको डेढ महिना नबित्दै नौसाद आएको देखेर सावित्रीले हप्काएको र दिएको पैसा फिर्ता पनि मागेकि थिइन्,’ प्रधानले भने।
एसपी प्रधानका अनुसार सायद भोलाले पनि त्यो बेला सावित्रीको हत्या गर्ने हिम्मत गरेनन्। उनले नाता पर्ने मोहम्मद रहिसलाई हत्याको योजना सुनाए र रहिसलाई लिन नौसाद र भोला भारत गए।
मुम्बई गएर रहिसलाई लिएर उनीहरू असार १४ गते काठमाडौं आइपुगेका थिए। र, असार १५ गते पटक-पटकको प्रयासमा सावित्रीको हत्या गरेका थिए।
छिमेकी ताराका अनुसार बिहान ९ बजेदेखि नै तीन जना मान्छे आउने-जाने भइरहेको थियो। गाईगोठमा आएका बखत एकपटक ताराले सोधिन् पनि- को हो तपाईंहरू? तर, नौसादले ‘हामी आफन्तै हौं’ भनिदिए।
सावित्रीले पनि उनीहरूको आगमनबारे गाउँलेलाई केही भनिनन्, न अप्ठेरो नै मानिन्।
‘हामी घरतिरै हुँदा सावित्रीको चालचलन शून्य देखिन थाल्यो, पछि हेर्दा त मृत्यु पो भइसकेको रहेछ,’ उनले भनिन्।
गाउँलेहरुले आएका मान्छेहरूको हुलिया प्रहरीलाई बताइदिए।
सबै पक्राउ परे। ईश्वरी पनि पक्राउ परिन्। अहिले उनी प्रहरी हिरासत छिन्। यो मुद्दामा अदालतबाट दोषी भए जन्मकैद हुनेछ।
ईश्वरी आफूमात्र छोरा दिप्सनबाट टाढा भइनन्। हजुरआमालाई पनि उनीबाट टाढा लगिन्- सधैँका लागि।
यो पनि हेर्नुहोस्