काठमाडौं रानीपोखरीबीचमा दुइटा साना कृत्रिम पोखरी बनाइएको छ। वरिपरि इँट्टाले घेरिएको चारकुने कोठालाई दुई भागमा छुट्याइएको छ। दुवैको सतहमा कालोमाटो मुछेर ओछ्याइएको छ। कालोमाटोमाथि पानी हालेर पोखरी आकार दिइएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण पर्खाइमा रहेको पुरातात्विक पोखरी बनाउन छाडेर यो बीचमा किन साना पोखरी बनाएको होला?
हामीले यसबारे प्राधिकरणका सम्पदा महाशाखा प्रमुख शिवहरि शर्मासँग सौध्यौं। उनका अनुसार यो पोखरी निर्माणको परीक्षण हो। परम्परागत तरिकाले पानी अडिन्छ-अडिन्न भनेर 'डमी' बनाइएको उनले जानकारी दिए।
'यो डमीमा पोखरी बनाउने प्रक्रिया नै अपनाइएको छ। एउटा कोठामा खुट्टाले मुछेको र अर्कोमा मेसिनले मुछेको कालोमाटो हालेर परीक्षण गरेका हौं,' उनले भने, 'दुवैको नतिजा राम्रो छ।'
परीक्षण सफल भएकाले पोखरीमा पानी अड्याउन सकिने उनको विश्वास छ। खुट्टाले माटो मुछ्दा जनशक्ति र खर्च धेरै हुनाले अब मेसिनले मुछेकै माटो प्रयोग गर्ने तयारी भएको पनि उनले जानकारी दिए। रानीपोखरी पुनर्निर्माणको सबभन्दा ठूलो चुनौती नै प्राकृतिक रूपमा पानी अड्याउन सकिन्छ-सकिँदैन भन्ने थियो।
करिब तीन महिनाअघि प्राधिकरणले रानीपोखरी पुनर्निर्माण जिम्मा पाएको हो। शर्माका अनुसार अहिलेसम्म १६ प्रतिशत हाराहारी काम भइसकेको छ।
प्राधिकरणअघि निर्माण जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पोखरीभित्रको पश्चिमी भागमा सिमेन्ट ढलान गरेको थियो। यो भत्काएर पुर्नेदेखि पोखरीमा उम्रेका घाँस निकालेर सतह मिलाउनेसम्मका काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए। पर्खाल भत्काउँदा जमिन धसिने सम्भावना पनि थियो। यसलाई मिलाइएको छ र अहिले पोखरीले पूर्ण आकार पाएको छ।
पोखरी उपभोक्ता समितिले बनाइरहेको छ भने बालगोपालेश्वर मन्दिर र पुलका निम्ति निर्माण व्यवसायीसँग कुरा भइरहेको शर्माले बताए।
'अहिले पोखरी डिलमा माअप्पा(प्राचीन इँट्टा) छाप्ने काम भइरहेको छ,' शर्माले भने, 'मन्दिर, पुल र चारैतिर सौन्दर्यीकरण काम पनि चाँडै सुरू गर्नेछौं।'
पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरका अनुसार पोखरीलाई 'ग्राउन्ड जिरो' मा ल्याइसकेको छ। यो भनेको पोखरीको सतह मिलाएर डेढ मिटर कालोमाटो हाल्ने गरी तयार पारिएको हो। यो कामका लागि भक्तपुरका करिब ३० महिला र ८ डकर्मी खटिएका छन्।
'अहिलेसम्म त हामीले भक्तपुरका महिलाको सहायतामा निर्माण गरिरहेका हौं,' तुलाधरले भने।
कालोमाटो हालेरै पानी अडिने पुष्टि भएपछि यी भक्तपुरे दिदीहरू पनि दंग परेका छन्। भुइँचालोले भत्किएको रानीपोखरी पुनर्निर्माण जिम्मा पाएका यी दिदीहरू दिनहुँ दुई घन्टा यात्रा गरेर भक्तपुरबाट यहाँ आउँछन्। प्राधिकरणले भक्तपुर नगरपालिकामार्फत् यो टोली परिचालन गरेको हो।
रानीपोखरी उज्यालो हुँदै जाँदा उनीहरूको अनुहारमा पनि चमक बढेको छ।
सतह मिलाइएको पिँधमा डेढ मिटर बाक्लो कालोमाटो हालिन्छ। कालोमाटोलाई नेवार भाषामा 'द्यःचा' भनिन्छ। उपत्यकाका स्थानीयहरू द्यःचा एकदमै गुणकारी हुने भएकाले 'ईश्वरको माटो' मान्छन्। कालोमाटोमा पानी चुहिएर जान दिँदैन। यसमा पानी अड्याइराख्ने क्षमता हुन्छ। यो माटो साँखु, मध्यपुर थिमी, भक्तपुर र पनौतीबाट ल्याउने तयारी भइरहेको छ।
माटोको काम सकिएपछि एक तह माअप्पाकै 'सोलिङ' गरिन्छ। यो भनेको माटोमाथि इँट्टा छाप्ने काम हो। यसपछि पोखरी पानी भर्न तयार हुने तुलाधरले जानकारी दिए। टुँडिखेल र त्रिचन्द्र क्याम्पसमा ३०० मिटर बोरिङ गरेर पानी ल्याउने प्राधिकरणको योजना हो। नपुग पानीका निम्ति मेलम्चीकै एक लाइन जोडिनेछ जसले वाष्पीकरणबाट खेर जाने पानी क्षतिपूर्ति गर्छ।
'पहिले उत्तरी दिशाबाट (बागद्वारदेखि) आउने पानी दक्षिण हुँदै बागमतीमा पुग्थ्यो रे। यो पानीको बाटोबीचमा रानीपोखरी पर्थ्यो जसले यहाँ पानी कायम राख्न मद्दत गर्थ्यो। हामीले उत्तरी भागमा खनेर पनि हेर्यौं, पानी रसाइरहेको छ। तर पहिले जस्तो प्राकृतिक रुपमा पानीको प्रक्रिया रहने सम्भावना छैन,' उनले भने, 'त्यही भएर बोरिङ गरेर, मेलम्ची र केही आकाशे पानी जम्मा गरिने भएको हो।'
हामी रानीपोखरी पुग्दा त्यहाँ सानो 'ग्राइन्डिङ मेसिन' र डोजर पनि थियो।
'यस्ता उपकरण पुरातात्विक पोखरीमा निषेध छ हैन?'
मान्छेले मात्र काम गर्दा धेरै खर्च हुने भएकाले साना मेसिन प्रयोग गरिएको तुलाधरले बताए। डोजर भने छेउबाट निश्चित ट्रयाक बनाएर लगिएको उनले जानकारी दिए।
रानीपोखरी पुनर्निर्माणमा साढे ९ करोड बजेट छुट्याइएको छ। उपभोक्ता समितिले पहिलो किस्तामा १० प्रतिशत (करिब ९४ लाख रुपैयाँ) लिएको थियो। त्यो रकम सकिएको र दोस्रो किस्ताको रकम प्राधिकरणबाट लिने तयारी भइरहेको तुलाधरले बताए।
पोखरी भाइटीकामा खुला गर्ने तयारी छ। मन्दिर र पर्खालको टेन्डर भने भर्खर हुँदैछ। मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा निर्माण हुँदैछ जसको नक्सांकन सन् १८४५ मा प्रुसियाका राजकुमार वाल्डमारका साथमा आएका चित्रकारले बनाएको स्केच हेरेर बनाइएको हो।
सन् १९५१ मा जंगबहादुर राणाले बालगोपालेश्वरलाई युरोपेली प्रभावमा गुम्बज शैली दिएका थिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले त्यही स्वरूपमा पुनर्निर्माण गराएका थिए। प्राधिकरणद्वारा गठित विज्ञ टोलीले मन्दिर प्रतापमल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको थियो।
हालै प्राधिकरणले गरेको अध्ययनमा पुलको जग पनि कमजोर देखिएको छ। यसलाई पनि भत्काएर बनाइने भएको छ। पुलको जगदेखि सतहसम्म 'ड्राइ ड्रेस स्टोन वाल' लगाइनेछ भने बाहिरी भागमा पुरानै इँटा (माअप्पा) प्रयोग गरिने सम्पदा महाशाखा प्रमुख शिवहरि शर्माले जानकारी दिए।
उता उपभोक्ता समितिलाई भने पोखरी सँगसँगै बन्नुपर्ने मन्दिर निर्माणमा ढिलाइ हुँदा आफ्नो काममा बाधा पुग्ने हो कि भन्ने चिन्ता छ।
'मन्दिरको टेन्डर पाएको मान्छे आएर काम थाल्दा पोखरीको काम समयमै सक्न समस्या होला कि भन्ने लागेको छ,' उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले भने, 'तै पनि हामी समझदारीमा काम गरेर समयमै सक्ने प्रयास गर्नेछौं।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी