अर्घाखाँची जिल्लाको सुपा देउराली नजिकै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
गोरूसिंगे सन्धिखर्क सडक अन्तर्गत सन्धिखर्क नगरपालिका ७ सुपादेउराली मन्दिर नजिकै लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै एक जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।
मृत्यु हुनेमा अर्घाखाँचीको भुमिकास्थान ३ का सुमन्त भुसाल र मालारानी ३ का रुद्र प्रसाद भुसाल रहेका छन्। भुसाल गाडी धनी रहेको बताइएको छ। अर्का एक पुरुषको परिचय खुलेको छैन।
त्यस्तै दुर्घटनामा अन्य ४ जना गम्भिर घाइते भएका छन्। गम्भिर घाइते ३ महिला र १ पुरुष लाई उपचारका लागि बुटवल पठाइएको छ। जीप सडकबाट ३ सय ५० मिटरभन्दा तल खोलामा खसेको छ । उक्कालो र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।