लोपोन्मुख जातिका रूपमा रहेका राउटे समुदायले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएपछि बिरुवा रोप्न थालेका छन्। शुक्रबार उनीहरूले ४५० वटा टिमुरका बिरुवा रोपेका छन्।
रोजगार कार्यक्रममा राउटेलाई समावेश गर्न समन्वय गरेको संस्था सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाका अनुसार उनीहरूले आफू बस्दै आएको ठाँटीस्थित खाली रहेको जमिनमा टिमुर, उत्तिस, गुराँसलगायतका बिरुवा रोप्नेछन्।
उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएपछि राउटेहरूले डेढ किलोमिटर गोरेटो बाटो पनि खनेका छन्। उनीहरूले खनेको बाटोलाई ‘राउटे पदमार्ग’ नामाकरण गरिने थापाले जानकारी दिए।
दैलेखको गुराँस गाउँपालिका–५ ठाँटीस्थित जंगलमा बस्दै आएका राउटे समुदायका ५२ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको हो। उनीहरूलाई असार १९ गतेदेखि २७ गतेसम्म ९ दिनको रोजगारी दिइएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए।
राउटेहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तोकिएको दैनिक ज्याला ५१७ रुपैयाँ पाउनेछन्। यस अनुसार उनीहरूका लागि ९ दिनको २ लाख ४१ हजार ९५६ रुपैयाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाले छुट्याएको छ।
गुराँस गाउँपालिकाको अगुवाइ तथा सामाजिक सेवा केन्द्र सोसेकसँगको समन्वयमा प्रधानमन्त्री रोजगार सेवा केन्द्र गुराँसमार्फत् कार्यक्रममा आबद्ध गराइएको हो।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गराइएको अध्यक्ष केसीले बताए ।
‘जंगलमा फिरन्ते जीवन बिताउने, रुख बिरुवा काट्ने गरेका छन् राउटेहरूले,’ गुराँस गाउँपालिकाका अध्यक्ष वलीले भने, ‘यसरी जंगल फाँड्ने राउटे समुदायलाई नै वृक्षरोपण गर्नेगरी कार्यक्रममा समावेश गरिएको छ, यसले उनीहरूलाई जंगल मास्नु हुने रहेनछ भन्नेबारे सिक्ने आधार हुनेछ ।’
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जंगलमा बस्ने गर्दछन्। उनीहरू आफू बसेको जंगलका रुख काटेर त्यहीँबाट भाँडा बनाउने र बेच्ने गरेका छन्।
विगतमा काठका भाँडा बनाएर पुख्र्यौली पेशा गर्दै आएका राउटहरू पछिल्लो समय भने परनिर्भर हुन थालेका छन्।
पछिल्लो समय उनीहरू समुदायमा गएर भाँडा बेच्ने भन्दा पनि पैसा माग्ने गरेका छन्।
उनीहरूको वासस्थान सुरुआतदेखि नै कर्णाली प्रदेशका पहाडी जिल्लामा हुने गरेको छ। उनीहरू विशेषगरी दैलेख र सुर्खेतका जंगलमा बस्दै आएका छन्। एक महिना अघिसम्म सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गुमीको जंगलमा बस्दै आएका राउटे समुदाय जेठ १७ गतेमात्र दैलेखको गोगनपानीमा सरेका थिए। यो समुदायमा अहिले १४५ जना सदस्य छन्।