कर्णाली प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा २२१ मानव अधिकार उल्लंघनका घटना भएका छन्। सन् २०१९ जनवरीदेखि जुनसम्मको अवधिमा २२१ अधिकार उल्लंघन तथा ज्यादतीको घटनाबाट २२२ जना पीडित भएको इन्सेकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
इन्सेकका अनुसार मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ। अघिल्लो ६ महिना (२०१८ जुनदेखि डिसेम्बरसम्म)को अवधिमा १५९ वटा मानव अधिकार उल्लंघनका घटना भएका थिए। त्यसबाट १६७ जना पीडित भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए। जसमध्ये २५ जना राज्य पक्षबाट पीडित छन् भने १४२ जना गैरराज्य पक्षबाट पीडित छन्।
उनका अनुसार पछिल्लो अवधिमा भएको घटनामध्ये राज्यपक्षबाट ३८ जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट १८४ जना पीडित भएक छन्।
यस वर्षको हालसम्मको अवधिमा कर्णाली प्रदेशका १० जिल्लामा गरी राज्यद्वारा प्रतिबन्धित क्रियाकलापमा संलग्न भएको आरोपमा ३४ जना पुरुष र एक जना महिला प्रहरीबाट गिरफ्तार भएको सुवेदीले जानकारी दिए। गैरराज्य पक्षबाट भएका धम्कीका घटनामा दुई र यातनाका घटनामा एकजना पीडित भएको इन्सेकको पछिल्लो तथ्याङ्कले देखाएको छ।
यस्तै, पछिल्लो ६ महिना अपहरणका घटनामा एक जना पुरुष, कुटपिटबाट ९ जना पुरुष, बालअधिकार हननका घटनामा ६ जना बालकसहित ३४ जना, अमानवीय व्यवहारका कारण दुई जना पीडित रहेको तथ्याङ्कमा उल्लेख छ।
गैरराज्य पक्षबाट भएको मानव अधिकार उल्लंघनका घटनाबाट ८ जना घाइते भएका छन् भने तीन जना पुरुष, पाँचजना महिलाको हत्या भएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ। यस्तै, चारजना पुरुष र चारजना महिला गरी ८ जना जातीय विभेदका घटनाबाट पीडित भएको सुवेदीले जानकारी दिए। उनका अनुसार गैरराज्य पक्षबाट पाँच जनालाई धम्की दिइएको छ।
१०९ जना महिला गैरराज्य पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनामा पीडित रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ। इन्सेकका अनुसार विप्लव समूहले पछिल्लो ६ महिनाको अवधिमा विभिन्न समयमा आह्वान गरिएको बन्दका क्रममा आठ वटा भौतिक संरचनामा क्षति पुगेको छ।
यस्तै, बलात्कारका घटनामा १५ जना बालिका पीडित भएका छन् भने बालविवाहमा ७ बालिका, दुई बालक र यौन दुर्व्यवहारका घटनामा पाँच जना बालिका पीडित रहेको इन्सेकका प्रदेश संयोजक सुवेदीले बताए। उनका अनुसार पछिल्लो ६ महिनाको अवधिमा कर्णाली प्रदेशमा दुई नवजात शिशुको हत्या भएको छ।
यस्तै, तीन जना बालकमाथि विद्यालयमा नै कुटपिट भएको छ। प्रदेशभर ६० जना महिला गम्भीर प्रकृतिका घरेलु हिंसाका घटनाबाट पीडित बनेका छन्। बोक्सी आरोपमा दुई जना, बहुविवाहबाट २८ जना, बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा सात जना र यौन दुर्व्यवहारका घटनाबाट ६ जना महिला पीडित रहेको तथ्याङ्कमा उल्लेख छ।