नदीलाई सभ्यताको मुहान मानिन्छ। जस्तो रूसको भोल्गा, चीनको ह्वांगहो, भारतको सिन्धु र मिश्रको नाइल, त्यस्तै नेपालको बागमती।
सन् १९५० मा नेपाल आएका स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगनले बागमतीको एउटा तस्बिर खिचेका थिए। थापाथली पुलबाट टेकुतर्फ खिचिएको बागमतीको चौडाइ हेर्दा पत्याउनै मुश्किल हुन्छ।
करिब ६० वर्ष अन्तरालमै बागमती धेरै खुम्चिएको छ, जसका भुक्तमान हुन् ५२ वर्षीय भूषण बज्राचार्य।
टेकुका स्थानीय बज्राचार्यले हामीलाई बागमती किनार भ्रमण गराउँदै यहाँ भएका परिवर्तन र अव्यवस्थित बस्ती विकासबारे विस्तार लगाए।
यात्रा टेकुको जम्बुदीपबाट सुरू हुन्छ।
नेवार बोलिचालीमा घाटलाई 'दीप' भनिन्छ, जसको निर्माण हजारौं वर्षदेखि हुँदै आएको छ।
जम्बुदीपमा मानन्धरहरूको दाहसंस्कार हुने रहेछ। अगाडि बढ्दै जाँदा बाटो बीचमै पानी खुवाएर श्राद्ध गर्ने ठाउँ थियो। बज्राचार्यका अनुसार यहाँ पानी खुवाएर श्राद्ध गरेपछि मात्र जम्बुदीपमा दाहसंस्कार हुन्छ।
जम्बुदीपबाट अलि अघि बढेपछि बज्राचार्यले नदीतर्फ केन्द्रित गरे, ‘यो तिख्खर दोभान हो।’
तिख्खर दोभान, अर्थात् बागमती र विष्णुमती भेट हुने ठाउँ। यो दोभानमा पहिले बुबा–बाजेहरू नुहाउने गरेको उनले स्मरण गरे।
‘जतिसुकै जाडो भए पनि बाजेहरू बिहानै आएर नुहाउनुहुन्थ्यो। छ्वाली (पराल) बालेर आगो तापेर घर फर्कनुहुन्थ्यो,’ उनले भने, ‘अहिले ती सबै सम्झना कथाजस्तै भए।’
त्यहाँबाट अझै बढेपछि हामी पचली भैरव पुग्यौं। त्यहाँ कर्मा पार्क थियो, जसमा बाहिरबाट ताला लगाएर आवतजावत बन्द गरिएको छ। पहिले फुटबल खेल्ने ठाउँ रहेछ, पछि बौद्धमार्गीहरूले पार्क बनाए।
त्यति बेला पार्क बनाउन स्थानीयले पनि सहयोग गरेछन्। अहिले भने स्थानीयलाई त्यहाँ पस्न निषेध छ।
‘हामी पनि पार्क बन्नु राम्रो हो भन्दै चुप बस्यौं। अहिले हामी नै यहाँ जान पाउँदैनौं,’ बज्राचार्यले भने।
पार्कनजिकै तण्डुकार, कारञ्जित, रञ्जितकार लगायतका घाट छन्। बज्राचार्यका अनुसार पहिले यहाँ दैनिकजसो मान्छे जलाइन्थ्यो। अहिले सबैजसो पशुपतिमै लगिन्छन्।
कर्मा पार्कबाहिर केही खुला ठाउँ छ। बज्राचार्यले त्यहाँ इसारा गर्दै पहिले पञ्चनाली भनिने खाल्डो रहेको बताए। यो खाल्डो अहिले छैन। यहाँ पहिले पचली जात्रा हुँदा महर्जन ज्यापूहरूले जाँडको घ्याम्पो (वला) बोकेर खाल्डोमा खन्याउने चलन रहेछ। त्यो चलन जारी छ वा छैन भन्ने आफूलाई थाहा नभएको उनले बताए।
‘पञ्चनाली नजिकै एउटा पोखरी थियो। त्यही पानीले मान्छेहरू नुहाउँथे। अहिले भने ट्यांकीको पानी हालेर नुहाउँछन्,’ उनले भने।
दसैंको नवरात्रि क्रममा उनीहरू कालमोचन, शोभाभगवती, गोकर्ण लगायत ठाउँमा जादाँ यहाँ पनि पुग्छन्।
मान्छेको अतिक्रमणले हाम्रा संस्कृतिमा कसरी असर पुगिरहेको छ भन्ने यी सम्पदाहरूले संकेत गर्छन्।
खोला नजिकै हुनुपर्ने घाटहरू दिनदिनै घर नजिक सर्दैछन्। कसैका आँगनमै पुगिसके। संरचना बन्ने क्रम जारी छ। उचित संरक्षण नहुँदा घाटका ब्रह्मनालहरू कति हराइसके, कति भासिएर पुरिए। कति सडकमै मिसिए। अब कता ब्रह्मनाल, कता मान्छे पोल्ने ठाउँ, कता खोला?
हामी पुग्दा पचली घाट नजिकै खड्गीहरूको नयाँ ब्रह्मनाल बन्दै थियो।
‘पुरानाको संरक्षण छैन, नयाँ धमाधम बन्दै छन्,’ यति भन्दै बज्राचार्यले हाम्रो यात्रा अगाडि बढाए।
पचलीपारि ललितपुर किनारतर्फ राजतीर्थ पर्ने बज्राचार्य बताउँछन्। त्यहाँ पहिले कुण्ड रहेछ। त्यो कुण्डको पानीमा बिरेनुनको स्वाद आउने भएकाले दसैंको टीकाका दिन त्यहाँ मेला लाग्दो रहेछ। यो कुण्डको पानीले नुहाउँदा शरीरमा आएको दाद–दुबी लगायत छालाका रोग निको हुने विश्वास छ।
राजतीर्थझैं बागमतीमा धेरै तीर्थ छन्।
अध्येता मदनमोहन मिश्रलिखित ‘नेपाल संस्कृतिमा बागमती’ का अनुसार शंखमुल क्षेत्रमै करिब १२ तीर्थ छन्- मृत्युञ्जय, उमापति, उत्तर प्रयाग, रुद्रधारा लगायत।
राजतीर्थझैं सुन्दरी घाट, मृत्युञ्जय लगायत कुण्डका पानीले पनि रोग निको पार्ने विश्वास रहेको बज्राचार्यले बताए।
त्यहाँबाट अघि बढ्दै हामी राम मन्दिर पुग्यौं जहाँ न पूजारी छन्, न कोही संरक्षक। त्यहाँ ठूलो घन्टा छ, जसमा बेलायतबाट ल्याइएको भनेर लेखिएको छ। बज्राचार्यका अनुसार त्यो घन्टा बजाउँदा पहिले हनुमानढोकासम्म सुनिन्थ्यो।
त्यहाँबाट अगाडि बढ्दै हामी पुरेत घाट पुग्यौं। त्यहाँ लस्करै राखिएका ‘भकारी’ छन्। यी भकारी अन्न भण्डार गर्ने भने होइन। किरिया बस्ने वा श्राद्ध गर्ने ठाउँ हो। यी भकारी पनि खोला नजिकै हुनुपर्ने हो। अहिले बस्तीभित्रै छ। यी भकारीको कुनै उपयोग भएको छैन। त्यहाँका स्थानीयले पानी ट्यांकी राख्ने ठाउँ बनाएका छन्। त्यहीँमुनि उनीहरूले घर बनाएका छन्।
‘घरबाट आँगनमै घाट,’ बज्राचार्यले व्यंग्यात्मक हाँस्दै भने।
तथाकथित सुकुम्बासीले समयक्रममा यो ठाउँ अतिक्रमण गर्दै बस्ती विस्तार गरेको बज्राचार्यको भनाइ छ। सुरू-सुरूमा टहरा भए पनि अहिले होटल, क्लिनिक, पसल, ग्यारेज लगायत व्यवसाय सुरू गरेर अड्डै जमाएका छन्। खोला किनारको जग्गा सार्वजनिक हो। त्यसैले उनीहरूसँग लालपूर्जा वा कुनै कागजपत्र छैन। तै यहाँका घरजग्गा किनबेच हुने बज्राचार्य बताउँछन्।
‘यहाँका सरोकारवालाले बेवास्ता गर्दाको नतिजा हो यो। हामी गएर रिपोर्ट गर्दा पनि केही गर्दैनन्,’ बज्रचार्यले भने, ‘तिमीहरू बनाऊ, हामी नदेखेजस्तो गर्छौं भन्ने पाराले यहाँ बस्ती थपिँदै गए।’
पुरेत घाटबाट अलि अगाडि विश्व निकेतन स्कुल छ। त्यहाँ पनि केही भकारी र ब्रह्मनाल छन्। त्यसको तलपट्टि ठूलो चउर। चउरसँगै प्रहरीले आफ्नो क्याम्प बनाएर बसेको छ।
‘पहिले हामी खोलै-खोला स्कुल जान्थ्यौं। अहिले बस्ती नै बस्ती भयो,’ विश्व निकेतन पढ्दाताका दिन बज्राचार्यले स्मरण गरे।
योभन्दा अगाडि जंगबहादुर राणाले बनाएको कालमोचन मन्दिर छ। भुइँचालोमा भत्किएको यो मन्दिर भर्खरै पुनर्निर्माण भएको छ। यहाँको कालमोचन घाट प्रयोग नभएपछि स्थानीयले भकारीमाथि स–साना पूजा गर्ने मठ बनाएका छन्। केहीमा बिजुलीको खम्बा गाडिएको थियो।
टेकु देभानदेखि कालमोचनसम्मको यात्रामा हामीले सयौं घाट अवलोकन गयौं। कयौं त पुरिइसकेका थिए। धेरैका कलात्मक ब्रह्मनाल हराइसकेका थिए। मान्छेको दाहसंस्कार गर्ने घाट सबै बस्तीभित्र पसिसकेको छ।
सांस्कृतिक अध्येता मदनमोहन मिश्रको किताब ‘नेपाली संस्कृतिमा बागमती’ अनुसार मलामी आउने र मुर्दा जलाउनेका लागि मसानघाट छेउमा पाटी र खोलाको पानी भेटिने गरी भर्याङ बन्नु आवश्यक छ। मान्छे पोल्ने ठाउँमा पानीको महत्व धेरै हुन्छ।
मिश्रको किताबअनुसार घाट केवल जलाउन मात्र नभई अन्तिम समयमा मान्छेलाई सुताउने ठाउँ पनि हो। मृत्यु हुनुअघि मान्छेको सास बाँकी छ भने पनि उसलाई ब्रह्मनालमा राखिन्छ। त्यसरी राखिएको मान्छेको खुट्टाले खोलाको पानी छोएको हुनुपर्छ। नागको आसन भएको ब्रह्मनालले स्वर्ग पुर्याउने विश्वास गरिन्छ।
संस्कृतविद् ओम धौभडेलका अनुसार मान्छे जलाउँदा शरीर पञ्चतत्वमा मिसिन्छ भन्ने मान्यता छ। विशेषगरी नेपाल मण्डलका राज्यलाई तान्त्रिक रुपले बसाउँदा सुरक्षाका हिसाबले पनि खोला किनारमा मसान बनेको हो। यमराजको दिशा भएकाले धेरै मसान दक्षिण दिशामा रहेको उनले बताए।
खोला किनारको माटो बगेर नजाओस् भनेर जोगाउन पनि घाटहरू बन्ने गरेको उनी बताउँछन्। किनारको माटो जोगाउन विभिन्न ठाउँमा रुख रोप्ने चलन हामीले देख्दै आएका छौं।
'घाटमा व्यवस्थित किसिमले ढुंगा छापिएको हुन्छ, जसले त्यहाँका माटो बगेर जाँदैन,' उनले भने।
सामाजिक-सांस्कृतिक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण यी घाटको 'मोल' आधुनिक समाजले बिर्सिएको बज्राचार्य बताउँछन्। अतिक्रमण र अव्यवस्थित बस्ती विस्तारका कारण घाट र खोलाको दूरी बढेको छ। जुन बेलादेखि पक्की घरहरू बन्न थाले, त्यही बेलादेखि खोलाको बालुवा निकाल्न थालियो।
‘धमाधम बालुवा निकालेपछि खोला गहिरो हुँदै गयो, अतिक्रमण बढ्दै गयो र साँघुरिँदै पनि,’ उनले भने, 'हामीले गरेको विकासले हाम्रो पहिचान विनाश गर्यो।'
इतिहासले भनेकै छ, कुनै पनि नगरको विकास र सभ्यताको परिचय नदीले गराउँछ। टोनी हेगनले खिचेको तस्बिरमा देखिएको हाम्रो सभ्यता र पहिचान बागमतीका घाट र ब्रह्मनालझैं मासिएको छ।
सबै तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी