डोल्पामा टाइफाइडको बिरामी दिनप्रतिदिन बढ्दै गइरहेका छन्।
विगत एक सातादेखि फैलिएको टाइफाइडले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीसमेत बिरामी परेका छन्।
१५ शैय्या क्षमताको अस्पतालमा २५ जना बिरामीको उपचार भइराखेको छ। शैय्या नहुँदा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य प्रमुख रनलाल कुलालले जानकारी दिए।
‘बिरामीले अस्पताल भरिएको छ। भुइँमा राखेर उपचार गर्नुपरेको छ,’ कुलालले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्सकलाई पनि टाइफाइड देखा पर्यो।’
‘स्टाफ नर्स, प्यारामेडेसियन, ओजेटी गर्न आएका विद्यार्थीहरू र ल्याबका टेक्निसियन बिरामी छन्,’ कुलालले सेतोपाटीसँग भने।
जिल्ला अस्पतालका डाक्टर सिजन रावलका अनुसार २० जना स्वास्थ्यकर्मीमध्ये सात जनालाई टाइफाइड देखा परेको छ।
औषधि, स्वास्थ्यकर्मी पठाइदिन प्रदेश सरकार र केन्द्रस्थित स्वास्थ्य निर्देशनालयमा खबर गरिएको उनले बताए।
‘प्रदेशको सामाजिक विकास मन्त्रालय र केन्द्रको रोग नियन्त्रण महाशाखालाई औषधि पठाइदिन भनेका छौं,’ उनले भने।
चिकित्सकहरूका अनुसार खानेपानीका दुइटा स्रोतमध्ये एकमा कोलिफर्म देखिएको छ। त्यसले गर्दा टाइफाइडका बिरामी बढेका हुन्।
‘तिप्ला खोलाको पानीमा कोलिफर्म छ, त्यो पानी पिउँदा बिरामी बढेका हुन्। सचेतनाको खाँचो छ,’ उनले भने।