बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ।
निरन्तरको वर्षाले राजधानीको पाटन जलमग्न भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।
‘शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।’
वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।
‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने, ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।’
बर्षाले ललितपुरको पाटन क्षेत्र जलमग्न भएको छ। पानीको निकासको उचित प्रबन्ध अभावमा सडकमै पानी भरिएको हो। मोटसाइकल र चार पाङग्रे सवारी चालकले पानीमै अनुमानको भरमा सवारी चलाए। तर सडकमा हिँड्ने यात्रुलाई भने समस्या पर्यो। उनीहरु बाटोमा हिँड्न सकेनन्। पसलहरुमा पानी पस्यो। हेर्नुस् फोटो -