नेपाली सिने उद्योगका चर्चित तथा पुराना अभिनेता सरोज खनाल शुक्रबार पच्चीस वर्षपछि सितल निवास छिरेका थिए- कलाकारकै रुपमा।
‘प्रेम पिण्ड’ चलचित्र सुटिङका क्रममा उनी पहिलोपटक सितल निवास पुगेका थिए। उनको साथमा त्यसबेला ‘प्रेम पिण्ड’ कि अभिनेत्री सन्नी रौनियार थिइन्। शुक्रबार पनि उनै रौनियारसँग सितल निवास छिरेका थिए, खनाल।
दुवै जनाले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो। तीन वर्षपछि भएको राष्ट्रिय अवार्डको कार्यक्रम, राष्ट्रपति कार्यालयमै। प्रस्तुति दिन चलचित्र विकास बोर्डले अनुरोध गरेको थियो।
गीत छनोट भएको थियो- सारंगीको धुनले, भन्छ मेरो मनले ...। यो चलचित्र ‘सारंगी’को गीत थियो।
विकास बोर्डका अध्यक्ष केशव भट्टराई र खनाल साथी हुन्। उनै भट्टराईले एक साता समय बाँकी रहँदा नृत्यका लागि अनुरोध गरेका थिए।
उनैले अनुरोध गरेपछि खनाल र अभिनेत्री रौनियारले तयारी थाले।
गीतको ‘रिहर्सल’का लागि एक साताको मात्रै समय निकाल्न पाएका थिए। राष्ट्रिय नाचघरको पछाडिपट्टि एक साता ‘रिहर्सल’ गरेर उनीहरू प्रस्तुति दिन पुगेका थिए।
शुक्रबार चलचित्र विकास बोर्डले साढे चार बजे कार्यक्रम राखेको थियो।
प्रस्तुति दिनेहरूलाई दिउँसो १ बजे नै उपस्थित हुन भनियो। उनी निर्धारण गरेको समयमै पुगे।
सितल निवास छिरेपछि एक चरण मञ्च परीक्षण गरे। त्यहाँ पनि एकपटक ‘रिहर्सल’ गरे।
नृत्य निर्देशक राजु शाह पनि उनीसँगै थिए। मञ्चको ‘डेकोरेसन’ हुँदै थियो। उनी पछाडिपट्टिको ‘डेकोरेसन’ के कस्तो भएछ भनेर हेर्न गए। एउटा कुर्सीमा बसेको मिनेट बित्न नपाउँदै विकास बोर्डका एक जना आएर हपारे - यहाँ बस्ने हैन, उता जानुस्।
‘उहाँलाई जे अह्राइएको थियो पूरा गर्नुभएको होला भन्ने ठानेँ, त्यो स्वाभाविक पनि थियो,’ खनालले सोमबार सेतोपाटीसँग भने, ‘म हिँडेँ, राजु सर पनि हिँड्नुभयो।’
मञ्चको दाहिनेतिर जुनियर डान्सरहरू ‘मेकअप’ गरिरहेका थिए। ‘मेकअप’ भइरहेको ठाउँमा बस्ने कुरा भएन। उनीहरू मञ्चको देब्रेपट्टि गएर बसे।
त्यहाँ पसेपछि भने उनले ठाउँ साँघुरो महसुस गरे। ट्वाइलेट जाँदै कपडा लगाउँदै, फर्किंदै गरिरहेका थिए, कलाकारहरू।
ग्रुप डान्सरहरू तीस जनाजति थिए। भीडभाड र उकुसमुकुस थियो। बस्ने ठाउँ थिएन।
उनी त्यहाँ पनि चुपचाप नै एकछेउमा बसिरहेका थिए। तर, केहीबेरमै सुरक्षाकर्मी आएर भने- सवारी हुने बेला भयो, उठ्नुस्।
खनालले त्यसलाई पनि आश्चर्य मानेनन् छन्। किनकि, कार्यक्रमको प्रमुख आकर्षण आउने बेला हुँदा सुरक्षाकर्मीले चाँजो मिलाउनु नौलो घटना थिएन।
त्यसभन्दा केही पर पुुगेपछि भने बस्ने ठाउँ कतै भेटिएन। न कुर्सी थिए। न अढेस लाग्ने कुनै ठाउँ। भुुइँमा बस्न शोभा दिँदैनथ्यो।
तैपनि चुपचापै थिए। यताउता डुल्दै बसिरहेका थिए।
तर, तीन बजेपछि भने उनले आफूलाई लज्जित महसुस गरे। जब, लुगा फेर्नका लागि ट्वाइलेट जानुपर्यो।
‘यताउता रुम थिएन, कता जाउँ भयो,’ खनालले भने, ‘ट्वाइलेट देखेपछि त्यतै छिरेँ।’
ट्वाइलेटभित्र ड्रेस चेञ्ज गरे। प्रयोग भइरहेको तर सफा पारिएको ट्वाइलेट थियो।
बाहिर बस्ने ठाउँ नभएकाले ट्वाइलेटको कमोडमा बसे। सहकर्मीहरूले फोटो खिचिदिएछन्।
त्यसपछि भने उनलाई नमीठो लाग्न थालेछ। राष्ट्रिय अवार्ड, राष्ट्रपति निवास अनि बेजोड प्रस्तुति दिन आएका सिनियर/जुनियर कलाकार। सबैतिर नजर लगाए। उत्साह कम, भीडभाडको तनाव बढी देखिन्थ्यो।
उनी फ्ल्यासब्याकमा गए- कस्तो सितल निवासको त्यो सुटिङ, आजको कस्तो राष्ट्रपति निवासमा नाच्न आइएछ!
यसपछि उनी दोधारमा परे। प्रस्तुति नै बहिस्कार गरौं कि भन्ने पनि लाग्यो रे।
‘तर, राष्ट्रपति निवासको कार्यक्रम, मर्यादा, चलचित्र विकास बोर्डको अवार्ड कार्यक्रम,’ खनालले भने, ‘म चलचित्र क्षेत्रको मान्छे, त्यो संस्थाको गरिमाका लागि पनि नाच्न तयार भएँ।’
ट्वाइलेटमा गएर कपडा फेर्नु परेपछि भने अघिदेखि भएका व्यवहार पनि नराम्रा लाग्न थालेछन्।
‘म किन कलाकार भएँछुु भनी खुुबै पिरोलिएँ, हिनताबोध भयो,’ उनले भने, ‘हामी कलाकार टुसुक्क बस्ने एउटा सिटका लागि लायक रहेनछौं भन्ने लाग्यो।’
यी सबै घटनाक्रमले मन बिथोलिँदै गयो, उनले मञ्चमा गएर नृत्य पनि गरे।
९ वटा सांस्कृतिक नृत्यका कार्यक्रम थिए। सबै समूहले पालैपालो नाचे, अबिराम।
‘एउटा नाच्यो, अर्को आइहाल्यो, ब्रेक थिएन,’ उनले भने, ‘जे होस् नृत्यको प्रस्तुति राम्रै भएको थियो, राष्ट्रपतिलाई भरपुर मनोरञ्जन प्रदान गरियो भन्ने लाग्यो।’
अन्तिममा अवार्ड भटाभट बाँडेपछि कार्यक्रम सकियो। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सामूूहिक रुपमा सबैलाई सम्बोधन गरेर धन्यवाद दिए।
खनालले भट्टराईलाई धन्यवाद दिए, सँगै गुनासो पनि राखिहाले।
‘यस्तो कार्यक्रममा किन भद्रगोल व्यवस्थापन, अपमान हुने खालको व्यवस्थापन?,’ खनालले सोधे।
‘उहाँले मलाई थाहा भएन, यस्तो सोच्ने बेला पनि भएन भन्नुुभयो,’ खनालले भने, ‘म फर्किएँ।’
घर फर्केपछि त्यो घटना झन्-झन् दोहोरिन थालेछ। कसैले यो कुरा बोल्नुपर्छ भन्ने लागेछ।
उनले अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेर घटना सुनाए।
करिश्माको पनि गुनासो रहेछ। त्यसैले पनि वरिष्ठ कलाकर्मीहरू सितल निवास जान मन पराएका रहेनछन् भन्ने करिश्माको बुुझाइ रहेको खनालले पाए।
मानन्धरसँगको कुराकानीपछि उनी झनै बेचैन भएछन्। कोही कलाकारले खिचेको त्यो फोटो मागेर करिश्मा मानन्धरको स्टाटसको कमेन्ट बक्समा पोस्ट गरे।
‘वास्तवमा मैले चर्चित हुन वा कसैलाई व्यंग्य गर्न, कुनै व्यक्ति र संस्थामाथि हिलो छ्याप्न कमोडमा बसेको थिइनँ,’ खनाल भन्छन्, ‘बस्ने ठाउँ नै नभेटेर मात्र त्यहाँ बसेको थिएँ।’
मानन्धरको स्टाटसमा पोस्ट गरेसँगै खनालको फोटो चर्चित बन्यो। कतिले नकारात्मक टिप्पणी गरे, कतिले सकारात्मक।
तर, यो कदममा उनी आफैंलाई चित्त बुुझेको छ। ‘यतिको लामो कलाकारितामा कसैले राम्रो भन्लान् कसैले नराम्रो भन्लान्, तर यस्तो अपमानजनक व्यवहारको लायक चाहिँ हैन भन्ने लाग्यो,’ खनालले भने, ‘एउटा सिट रिजर्ब गर्ने हैसियत मैले पनि बनाएको छु।’
खनालका अनुसार यो बोल्नैपर्ने अवस्थाको परिस्थिति निर्माण भएको घटना थियो। ‘जुनियर कलाकारले बोलेनन्, उनीहरूले सहेर बसे,’ खनालले भने, ‘तर, मैले सहन आवश्यक ठानिनँ।’
खनालको विचारमा यसपालि सहेको भए अर्को वर्षको कार्यक्रममा यस्ता थुप्रै कमीकमजोरी दोहोरिन्थे। ‘अर्को वर्षको कार्यक्रम राम्रो होस् भनी सुधार्ने मौका आयोजकले पाउन् भनेर पनि मैले यो कदम चालेँ,’ उनले भने।
उक्त तस्बिर सामाजिक सञ्जाल तथा मिडियामा चर्चित भएसँगै उनलाई विभिन्न प्रश्न राखेर सोधिन थालिएको छ- ‘हिट हुन हो?’ कसैले- ‘तपाईंले ठट्टा गर्नुभएको हो?’
उनी आफूू यस्ता प्रश्नलाई स्वाभाविक लिँदै उत्तर दिइरहेका छन्, ‘मैले देखेको, भोगेको र बोल्नुपर्ने कुरा बोलेको हुँ।’
उनलाई राष्ट्रपतिका स्वकीय सचिव, पूर्वमन्त्री, सांसदहरूले पनि यसरी नै सोधेका थिए। ‘यस्तो संवेदनशील बिषयमा मजाग गर्ने मेरो बानी छैन भनिदिएँ,’ उनले भने।
खनालले यो सबै भोग्नुुमा राष्ट्रपति कार्यालयको साँघुरो ठाउँलाई नै प्रमुख कारक ठानेका छन्। पहिले यस्ता सांस्कृतिक कार्यक्रमबिनै अवार्ड बाँडिन्थ्यो। भीडभाड खासै हुँदैनथ्यो। यसपालि सांस्कृतिक कार्यक्रमका लागि कलाकार बोलाइएका कारण व्यवस्थापन गर्न कठिन भएको थियो।
‘कहाँ कस्तो कार्यक्रम गर्ने भन्ने मुख्य निर्णय आयोजकको हुन्छ, त्यस्तो साँघुरो ठाउँमा कलाकारलाई राखेर अवार्ड बाँड्दा के कति ख्याति कमाइयो भन्ने लाग्यो होला र?,’ खनालले भने, ‘वास्तवमा सितल निवासको त्यो ठाउँ आउने मान्छेलाई भेटघाट गर्ने ठाउँ रहेछ।’
२५ वर्षअघि र पछिको दुवै याद भने संगाल्ने अवसर पाएकोमा उनले आयोजकलाई धन्यवाद भनेका छन्। उनी बीचमा एक दुई पटक चाहिँ सितल निवास छिरेका थिए रे।
तर, कलाकारकै भूमिकामा छिर्दा चाहिँ ‘आकाश-जमिनको फरक’ पाएको उनले बताए।
चलचित्र विकास बोर्डले भने अभिनेता खनालले गरेको दु:खेसोजस्तो कार्यक्रममा कुनै पनि घटना नभएको बताएको छ। खनालले कुनै गुनासो नराखीकन कमोडमा नियोजित रुपमै फोटो खिचेर सार्वजिनक गरेको बोर्डको दाबी छ।
‘सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ,’ सोमबार विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ।
कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य गर्ने सबै कलाकारलाई कुनै असुविधा नहोस् भनेर बोर्डका अधिकृतसहित १० जना कर्मचारी सेवामा रहेको बोर्डले दाबी गरेको छ। खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर गुनासो पनि नगरेको बोर्डले बताएको छ।
‘राष्ट्रिय अवार्ड वितरणको कार्यक्रमका क्रममा मुसलधारे पानी परिरहेको थियो, बाहिर वैकल्पिक उपाय पनि थिएन, हामीले भएको जे छ त्यसलाई भरपुर उपयोग गरेर कलाकारहरूलाई सम्मानपूर्वकै राखेका थियौं,’ बोर्डका अध्यक्ष केशव भट्टराईले भने, ‘उहाँले त्यसबेला केही पनि भन्नुभएन। एकैचोटी सामाजिक सञ्जाल र मिडियामा ल्याएर राष्ट्रिय अवार्डको कार्यक्रमलाई विवादमा ल्याउने काम गर्नुभयो।’
तस्बिर/भिडियो: विवेक राई/सेतोपाटी