असार साउनमा मात्र होइन वर्षभरी नै उर्लेर बग्ने तिनाउ नदी मानव दोहनका कारण पछिल्ला केही वर्षयता वर्षायाममा समेत उर्लन छोडेको छ।
रुपन्देहीकै पहिचान बनेको तिनाउ नदीको अस्तित्व विकासकै कारण जोखिममा परेको छ। रुपन्देहीको पुर्वाधार विकासका लागि आवश्यक नदीजन्य पदार्थको प्रमुख श्रोत तिनाउ नदी हो।
पछिल्ला दुई दशकयता बढेको अनियन्त्रित उत्खनन् र मानवीय अतिक्रमणका कारण जिल्लाकै समृद्धिको आधार मानिएको तिनाउ अभिशापमा बदलिएको छ। तिनाउको यथोचित व्यवस्थापन हुन नसक्दा यसले दिने आम्दानी भन्दा बढी क्षति हुन थालेको छ।
पाल्पाको माडीबाट शुरु भएको तिनाउमा बुटवलसम्म आइपुग्दा साना ठूला ३० वटा बढी खोला मिसिएका छन्। हिउँद होस् या वर्षा जुनसुकै याममा पनि खोलाको बगर नै ढाकिएर विशाल आकारमा सुसाउने तिनाउ नदी अहिले वर्षाको खहरेमा परिवर्तन भएको छ।
असार सकिन लाग्दा पनि तिनाउ सर्सेको छैन, अहिलेको वर्षामा बगिरहेको तिनाउको पानी ३० वर्ष अघि हिउँदमा बग्ने पानीसरह हो भन्ने यसलाई नियाल्नेहरुको दावी छ। मात्रै अहिले धमिलो छ, उ बेलाको हिउँदमा सफा र सङलो हुन्थ्यो।
सात दशकदेखि बुटवल र तिनाउलाई नजिकबाट नियाल्दै आएका रविन्द्र गोपाल लाकौल तिनाउको अस्तित्वलाई जोगाउन खोला किनारका सबै बस्ती हटाउनुपर्ने बताउँछन्।
‘जब मानिसले प्रकृतिलाई चलाउन खोज्छ तब प्रकृति पनि आफ्नो अस्तित्व खोज्न थाल्छ, २ सय ५० मिटरको वहावमा बग्ने तिनाउ अहिले ५० मिटरमा साँघुरिएको छ’ उनले भने ‘एक दिन तिनाउले आफ्नो वहाव क्षेत्र खोज्ने छ र त्यो बेला धेरै ढिलो भएको हुने छ।’
वि.सं. १६ सयतिर अहिलेको बुटवल बहुमुखी क्याम्पसतर्फको पहाडबाट तिनाउ खोलाले बस्ती विनाश गरेको दस्तावेज समेत रहेको लाकौलको दावी छ।
‘१८७१/७२ सालमा जितगढीको युद्धको समयलाई हेर्ने हो भने पनि तिनाउको बहाव पुर्वतर्फ नै थियो भन्ने देखिन्छ’ उनी भन्छन्। २०२० सालसम्म निर्मल, शान्त र सफा भएर बग्ने तिनाउ नदीमा सिद्धार्थ राजमार्गको निर्माण कार्यसँगै पानीको सतह घट्न थालेको लाकौल बताउँछन्।
‘राजमार्ग निर्माणमा प्रयोग गरिएका बम बिस्फोटका कारण तिनाउको शिर रहेको चुरेफेंदको पानी भासिएको हो’ उनले भने। पछि मेसिनरी औजारको प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् गर्न थालेपछि तिनाउमा पानीको सतह झनै घट्न थालेको उनको दावी छ। पानीको सतह घट्दै जाँदा बनेको उकास क्षेत्रमा बस्ती बस्न थालेपछि तिनाउको बहाव क्षेत्रपनि पश्चिम तर्फ धकेलिएको उनी बताउँछन्।
चुरे पहाडमा पानी पर्दा हेलिएर आउने तिनाउ पानी रोकिएपछि नहर जस्तै बन्छ। हिउँदयाममा तिनाउको पानी देख्न सिद्धबाबा क्षेत्र भन्दा माथि पुग्नुपर्छ। ‘पहिले पानीका सानातिना खोल्साहरु धेरै बग्ने गर्थे अहिले दोभानदेखि तल थोरै मात्रामा त्यस्ता खोल्साहरु छन्। ती खोल्सा पनि वर्षा सुरु भएपछि बल्ल बग्न थाल्छन्।
‘माथि तिनाउ नदी सुकेपनि बेथरी पुलदेखि तल गएपछि भने फेरी सतहमा देखिने गरेको छ। त्यसकारण माथिको स्रोत धसिएको हुनुपर्छ’ बटौली संरक्षण समितिका अध्यक्ष समेत रहेका लाकौलले भने।
तिनाउमा ठूला बाढी समेत देखेका लाकौल नदी किनारको अतिक्रमण खुला नछोडेमा तिनाउले भविष्यमा ठूलो अनिष्ट ल्याउनसक्ने बताउँछन्। उनले भने ‘प्रकृतिलाई आफ्नै बाटो दिनुपर्छ, जब प्रकृतिमाथि मानवीय हस्तक्षेप हुन्छ, उसले बाटो बदल्छ त्यो बेला जे पनि हुनसक्छ।’
तिनाउको विषयमा लामो समय खोज अनुसन्धान गरेका वातावरण इन्जिनियर डा. खेटराज दाहाल चुरेको विनाससँगै तिनाउको पनि विनास सुरु भएको बताउँछन्।
पछिल्ला केही वर्षमा तिनाउमा भइरहेको मानवीय अतिक्रमणले नदी गहिरिन सघाऊ पुर्याएको उनको तर्क छ। ‘तिनाउको अनियन्त्रित दोहन र उत्खनन् सुरु भएको एक डेढ दशक भयो तर अहिले देखिएको असर ३०/४० वर्ष पहिलेदेखि नै भइरहेको वनजंगलको बिनास प्रमुख कारण हो’ उनले भने।
नदीको आम्दानी अशुल्न स्थानीय निकायदेखि प्रदेश सरकारको आँखा तिनाउ नदिमै परिरहन्छ। तर तिनाउबाट हुने आम्दानीको कैयौं गुना बढी लगानी यसको दोहनबाट उत्पन्न हुने क्षति नियन्त्रणमा हुँदै आएको छ।
जनताको तटबन्ध फिल्ड कार्यालय बुटवलका अनुसार उक्त कार्यालयले मात्र पछिल्लो तीन वर्षमा तिनाउ नदी ब्यवस्थापनका लागि १९ करोड ५७ लाख लगानी गरेको छ। त्यसबाहेक स्थानीय तहहरुले गर्ने लगानी त्यो भन्दा कैयौं गुणा बढी छ। २०६७ सालमा स्थापना भएको उक्त कार्यालयले रुपन्देहीका विभिन्न नदी नियन्त्रणका लागि मात्र पछिल्लो १० वर्ष यता ७९ करोड ४६ लाख ६४ हजार खर्च गरेको छ।
वनजंगलको फडानी गरी बस्ती बस्न थालेपछि तिनाउमा सतही पानीको श्रोत मात्र होइन भूमिगत पानीको श्रोत समेत सुक्दै गएको ईञ्जिनियर दाहाल बताउँछन्। ‘खानेपानी, सिचाइसँगै रुपन्देहीमा रहेका सिमसार क्षेत्रहरुको श्रोत समेत तिनाउ हो तर नदी सुक्दै जान थालेपछि सिमसार क्षेत्र पनि साँघुरिएका छन्।’
हरेक वर्ष तिनाउ नदीमा एकलाख घनमिटर नदीजन्य पदार्थ संकलन हुने विज्ञहरुको भनाइ छ। विज्ञहरुको भनाईलाई मान्दा पछिल्ला केही वर्ष बैधाानिक उत्खनन् बन्द भएको तिनाउको सतह माथि आउनुपर्ने हो। तर तिनाउ भासिएको भासियै छ।
नदी छेउमा सुकुम्बासीको नाममा अव्यवस्थित बसोबास गरेकाहरुलाई हटाउनुको साटो सरकारले जनताको तटबन्धका नाममा बस्ती बसाल्न प्रोत्साहित गरिरहेको छ। यो विषयलाई राजनीतिक दलका नेताहरु भोट बैंकको रुपमा प्रयोग गरिरहेका छन्।
तिनाउको सबैभन्दा धेरै क्षेत्र ओगटेको बुटवलको वडा नंं ११ मा मात्रै नदी किनारमा ६ हजार बढी घर टहरा बनाइएको वडा अध्यक्ष रामचन्द्र क्षेत्री बताउँछन्। यो वर्ष खोलाको किनारमै पुगेर झण्डै दुईसय घरटहराहरु थपिएका छन्। तर उपमहानगरपालिकाले भने घरटहरा निर्माण कार्य रोक्ने नभई सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधार निर्माण गरिदिएर बस्तीलाई वैधानिकता दिँदै आएको छ।
तिनाउसँग जोडिएका बुटवलका वडा नं. १, २, ३, ५, ६, ९, १८ र तिलोत्तमा नगरपालिकाको वडा नं. ३ सम्मै नदी बग्ने स्थानसम्मै पुगेर घरटहरा निर्माण गरिएका छन्। यसरी हेर्दा तिनाउका झण्डै १२ हजार परिवार जोखिमपूर्ण बसोबास गर्दै आएका छन्। यही बस्तीलाई निर्वाचनताका भोटको निर्णायक बनाउने गरेका राजनीतिक दलहरुको स्वार्थ पनि बगरमा बस्ती बसाल्ने कार्यमा मिल्ने गरेको छ।
नदीको अव्यवस्थित दोहनले समय समयमा आसपासका बासिन्दा पीडित हुने गरेका छन्। हरेक वर्ष करोडौ धनजनको क्षति पुर्याएको छ। वर्षा सुरु भएपछि कुन कुन क्षेत्रमा क्षति पुर्याउने हो एकीन हुँदैन, तर जोखिम यथावत छ। नदी गहिरिँदै जाँदा निस्केको उकास क्षेत्रमा हरेक वर्ष ‘सुकुम्बासी’ भनिएकाहरु अलपत्र पर्ने क्रम चलिरहेको छ।
जनप्रतिनिधि नहुँदा २० वर्ष अलपत्र पर्यो भनिएको तिनाउ नदी झनै संकटमा परेको छ। जिल्ला समन्वय समितिले परियोजनाका नाममा र स्थानीय पालिकाहरुले विकास निर्माणका नाममा तिनाउमा दोहन गरी रहेका छन्।
यस वर्ष मात्र तिलोत्तमा नगरपालिकाले २ लाख ५० हजार र बुटवल उपमहानगरपालिकाले ८३ हजार ३ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेका छन्। त्यस्तै तिनाउसँग जोडिएका सियारी र सुद्धोधन गाउँपालिकाले पनि यत्तिकै परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेका छन्। स्थानीय क्लब, स्थानीय तहका विकास निर्माण तथा रातको समयमा हुने चोरी निकासीको त कुनै लेखाजोखा छैन।
नदी विभिन्न क्षेत्रमा ५ मिटरदेखि २५ मिटरसम्म गहिरिएको इन्जिनियर दाहाल बताउँछन्। नदी गहिरिँदै गएपछि हरेक वर्ष दायाँबायाँ उकास क्षेत्र बन्दै गएको छ। जहाँ वर्षेनी सुकुम्बासीको नाममा बस्ती बढिरहेको छ। यस्ता जोखिमयुक्त क्षेत्रमा आवासीय पक्की घर मात्रै होइन, विद्यालय समेत निर्माण भएका छन्।
सबैभन्दा बढी अतिक्रमणमा परेको वडा नं. ११ को प्रगतीनगरमा जनताको तटबन्ध कार्यालयले तोकेभन्दा बढी घरटहरा निर्माण गरिएका छन्। प्रगतीनगरमा असार महिनामा मात्रै झण्डै १ सय घरटहरा निर्माण भएको हुनसक्ने वडा अध्यक्ष क्षेत्री नै स्वीकार्छन् । तिनाउको पानीको सतहमै पुगेर घरटहरा निर्माण गर्दापनि उपमहानगरपालिकाले यसको नियन्त्रण गर्न सकेको छैन।
दुई वर्ष अघिसम्म पानी बग्दै आएको बगरमा समेत अहिले घर बनेका छन्। नदी उकास क्षेत्रमा बसेको बस्तीलाई हटाउनुको सट्टा त्यसैलाई बाढीबाट जोगाउने नाममा सरकारले गरेको तटबन्धले तिनाउको बहाब क्षेत्रलाई झनै साँघुरो बनाएको ईञ्जिनियर दाहाल बताउँछन्।
बुटवलका बिनापाते, हात्तीसुँड, तिनाउनगर, मजुवा, बुद्धनगर, प्रगतिनगर तथा तिलोत्तमाको सिमा नगर तिनाउको नदी उकास क्षेत्र हुन्। यी बस्ती बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन्, जहाँ करिव ३० हजार भन्दा बढी जनसंख्या छ।
दाहालका अनुसार करिब साढे तीन सय मिटर रहेको तिनाउ नदीको बहाव क्षेत्र अहिले बुटवलको अधिकांश ठाउँमा १ सय ५० देखि ५० मिटर सम्ममा खुम्चिएको छ।
तिनाउ नदी वरपर ६ दशक बिताएका बुटवलका देवेन्द्र शाक्यलाई तिनाउमा आएको पछिल्लो परिवर्तन देख्दा पहिलेको र अहिलेको तिनाउ एउटै हो भन्ने विश्वास लाग्दैन।
नेपाल बैंकका तत्कालीन जागिरे शाक्य चैत महिनामा समेत हरेक दिन तिनाउ तरेपछि अर्को कपडा बदलेर बैंक जाने गर्थे। तर अहिले पानी नपरेको समयमा असार साउनमा समेत मुस्किलले घुँडा डुब्छन्।
चैत वैशाखमा समेत बगरै ढाक्नेगरी सुसाएर बग्ने तिनाउ नदी हेर्दाहेर्दै बगरमा परिणत हुनुमा अत्यधिक दोहन र अतिक्रमण नै प्रमुख कारण भएको उनी बताउँछन्। ‘तिनाउलाई अझै पनि पहिलाको अवस्थामा फर्काउन सकिन्छ तर त्यसको लागि सबैभन्दा पहिला किनारका सबै बस्ती उठाउनुपर्छ’ उनले भने।
यही अवस्था रहिरहने हो भने अबको १०/१५ वर्षपछि बुटवलमा खानेपानीको ठूलो हाकाहार हुने विज्ञहरूको दावी छ। सडक निर्माणका बेलाको असर अहिले देखिए जस्तै अहिलेको असर दश पन्ध्र वर्षपछि मात्र देखिने तर्क उनीहरुको छ।
पछिल्ला निर्वाचनमा अत्यधिक चर्चा पाउने गरेको कालिगण्डकी तिनाउ डाइभर्सन कहिलेसम्म दलहरुको चुनावी एजेण्डा बन्ने हो थाहा छैन। तर तिनाउ गहिरिएसँगै खाने पानी मात्र होइन यहाँका दुई नमुना सिँचाइ प्रणाली समेत प्रत्यक्ष मारमा छन्।
समुदायले व्यवस्थापन गरेको दक्षिण एसियाकै नमुना सोह्र–छत्तीस सिँचाइ र चारतपाहा सिँचाइ प्रणालीको बाँधभन्दा नदीको सतह तल पुगेको छ। यी दुई प्रणालीबाट १० हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत तिनाउ नदीमा २०३८ सालमा निर्माण गरिएको पुलको फाउन्डेसन जमिनभन्दा चार मिटर बाहिर देखिएको छ। यसका साथै तिनाउ नदी वारपार विद्युत प्रवाहका लागि नदीको बीचमा गाडिएका बिजुलीका पोलहरु जमिनको सतह गहिरिँदै गएका कारण ढल्ने अवस्थामा छन्।
तिनाउ पुलका पिल्लरहरुमा वर्षामा आउने बाढीले बगाएर ल्याउने ढुंगा मुढाले सिधै ठक्कर दिए पनि क्षति नपुर्याओस् भनेर लगाइएका स्टीलका प्लेटहरुको सतहसम्म पानी पुग्न छोडेको वर्षौं भइसकेको छ। त्यसले पनि तिनाउको अवस्थालाई प्रष्ट पारेको छ।