चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त माग्दै दोस्रो पटक सूचना निकालिएको छ। पहिलोपटक असार ९ मा सूचना निकाल्दा छ जनाले दरखास्त दिएका थिए।
दरखास्त दिएका सबै उम्मेदवार योग्य हुने नदेखिएपछि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको उम्मेदवार सिफारिस समितिले मंगलबार फेरि सूचना निकालेर दरखास्त मागेको छ।
सिफारिस समितिले तीन जना योग्य उम्मेदवारको नाम सरकारलाई उपलब्ध गराएपछि उनीहरुमध्येबाट एक जनालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने कार्यविधि बनेको छ। आयोगका उपाध्यक्षका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त मागिएको हो।
‘उपाध्यक्षका लागि पर्याप्त दरखास्त परेन। दरखास्त आएकामध्ये पनि योग्यता पूरा भएको पुष्टि गर्ने प्रमाण नदेखिएकोले छ जना उम्मेदवारको दरखास्त रद्द गरी पुनः दरखास्त आह्वान गरिएको छ’ समितिले निकालेको सूचनामा भनिएको छ।
साउन १५ सम्म पुनः दरखास्त दिन सकिने उल्लेख गर्दै समितिले आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशित गरेको हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकमध्येबाट सरकारले एक जना उपाध्यक्ष नियुक्ति गर्ने उल्लेख छ। उपाध्यक्षले प्रमुख कार्यकारी भएर चार वर्षसम्म काम गर्न पाउँछन्।
उपाध्यक्षका लागि दरखास्त दिन कडा सर्त छन्। आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सोचपत्र (भिजन पेपर) दरखास्त भर्दा नै बुझाउनुपर्छ।
यतिले मात्रै पुग्दैन, चार वर्षे व्यवसायिक कार्ययोजना सिंहदरबारस्थित शिक्षा मन्त्रालयको प्रविधि शाखा, समितिको सचिवालयमा सिलबन्दी गरी दरखास्तसँगै बुझाउनुपर्छ। दुवै पत्र तीन/तीन हजार शब्दको हुनुपर्छ।
उपाध्यक्षका लागि कम्तिमा स्नातकोत्तर तह पास गरेको र २० वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गरेको खुल्ने प्रमाण पेश गर्नुपर्छ। ‘शिक्षण संस्थाको वहालवाला वा अवकास प्राप्त उपकुलपति प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक, चिकित्सा शिक्षा विज्ञको रुपमा ख्याती प्राप्त गरेको पुष्टाईँ हुने काजगात पनि पेश गर्नुपर्छ,’ सूचनामा भनिएको छ।
आयोगसँग कुनै पनि तवरले स्वार्थको टकराव नहुने व्यक्ति मात्रै उपाध्यक्षका लागि योग्य हुन्छ। चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक संस्थाको सञ्चालक समितिमा रहेको, लगानीकर्ता, सेयरहोल्डर, संस्थापक व्यक्ति नभएको प्रमाणसमेत पेश गर्नुपर्छ।
यस्तै आयोगका उपाध्यक्ष नियुक्ति हुने बेला कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्छ। उमेद्वार कालो सूचीमा नपरेको, परेको भए फुकुवा भएको तीन वर्ष पूरा भएको, भ्रष्टाचार नगरेको र फौजदारी कसुरमा अदालतबाट कसुरदार नठहरिएको व्यक्ति दरखास्त दिने योग्य हुनेछ।
उमेरको हद पनि तोकिएको छ।
दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। ‘तीनतीन हजार शब्दको सोचपत्र र चार वर्षे व्यवसायिक कार्ययोजना पेश गर्नुपर्छ। यी दुवै योजना एउटै खण्डमा क र ख गरी पेश गर्नुपर्छ,’ सूचनामा उल्लेख छ।