गत साता लगातार पानी पर्याे। खोला-नदी किनारका मान्छे आफ्नो ज्यान र सरसामान जोगाउन लागिपरे। टेकु बागमती डिलमाथिको एउटा सामुदायिक स्कुलमा भने झरीको कुनै पर्वाह थिएन।
श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्रांगणमा खटिएका मजदुरहरू छिटोछिटो काम सक्ने ध्याउन्नमा भवन ठड्याइरहेका थिए।
यो काम यति तीव्र छ, भवनको जग खन्ने, पिलर हाल्नेदेखि लिएर पर्खाल लगाउनेसम्मको काम चार–पाँच दिनको अन्तरालमै भइसकेकाे छ।
भवन स्कुलले नै बनाएको हो, तर जग्गा उसको होइन। नजिकैको पचली भैरव मन्दिरको हो। प्राथमिक स्कुलका साना केटाकेटीलाई खेल्न होस् भनेर मन्दिर गुठीले दिएको।
कुनै समय यो जग्गामा पोखरी थियो। त्यो सुकेपछि खाली चउर गुठीले स्कुललाई भोगचलन गर्न दिएको गुठीयारहरू बताउँछन्। यसरी दिइएको जग्गामा आफूहरूलाई खबरै नगरी स्कुलले धमाधम भवन बनाएको गुठीयारहरूको भनाइ छ।
'स्कुलमा जम्मा सय जना विद्यार्थी पनि छैनन्। भइरहेको भवन नै स्कुललाई आवश्यकताभन्दा धेरै छ,' स्थानीय भूषण बज्राचार्यले भने, 'गुठीयारलाई कुनै जानकारी र सूचना नदिई यहाँ थप भवन बन्नुले ठूलो चलखेल भइरहेको छ भन्ने शंका लागेको छ।'
बज्राचार्यका अनुसार पहिले महेन्द्र सरस्वती विद्यालय सँगैको जगन्नाथ मन्दिर परिसरको पाटीमा थियो। पछि हाल भइरहेको जग्गामा बनेको हो जुन सडकसँगै जोडिएको छ। यो बाटो पनि टेकु दोभानका घाटसम्म शव लैजाने बाटो भएको उनले जानकारी दिए।
'शव हिँडाउने सडकमै जोडेर स्कुल बन्यो। सँगैको पोखरी सुकेको थियो, लौ न त केटाकेटी खेलून् भनेर गुठीले त्यसै छाडिदियो,' उनले भने।
खेल्न दिएको जग्गामा पक्की भवन बनाएपछि स्थानीय एवं गुठीयारहरू आन्दोलित भएका छन्।
पचली भैरवलाई स्थानीयहरू श्रद्धापूर्वक 'आजु' भनेर पुर्काछन्। स्कुल प्रांगणको पोखरी तिनै आजुको थियो। दसैंमा हुने पचली जात्रामा जाँडलाई प्रसादका रूपमा पचलीमा खनाइन्थ्यो। चढाइएको जाँड पञ्चनाली हुँदै पोखरीमा जम्मा हुन्थ्यो। पञ्चमीका दिन भक्तजनहरूले त्यही पोखरीको पानीले नुहाएर पचली भैरव आजुको दर्शन गर्छन्। यसरी नुहाउँदा रोग-व्यध नलाग्ने र सुख-शान्ति हुने जनविश्वास छ।
अहिले न यहाँ पोखरी छ, न त्यो परम्परा।
मन्दिरका गुठीयार सानु महर्जनका अनुसार पचली भैरवलाई फर्पिङका राजा पनि मानिन्छ। जनविश्वासअनुसार फर्पिङका राजा एक पटक टेकु आएका थिए। साँझ अबेर भएकाले फर्किन सकेनन् र यही घाट आसपास बसे। त्यो बेला उनी स्थानीय भाषामा 'कना स्वाः' भनिने फूलको बोटका मुनि बसेका थिए।
पचली जात्रामा कना स्वाः नभइ हुँदैन। बुधबार (आज) गुठीयारहरू यसको बीउ लिन चपली भद्रकाली जाँदैछन्। त्यहाँबाट ल्याइएको बीउ साइतअनुसार भोलि (बिहीबार) रोपिन्छ। महर्जनका अनुसार कतिपयका घरमा दसैंमा जमरा राखिँदैन। उनीहरूले अहिले रोपिएको बीउबाटै उम्रेको फूल लगाउँछन्।
स्थानीयको संस्कृतिसँग प्रत्यक्ष जोडिएका यिनै भैरवका नाममा करिब १२ आनाको पोखरी थियो। पोखरी सुकेपछि त्यसलाई ब्युँताउन कोही अघि सरेनन्। त्यसैले ०४१ सालतिर त्यही स्कुललाई दिइयो। यद्यपी, जग्गा दिने बेलामा कुनै पनि निर्माण कार्य गर्नुपरे गुठी संस्थान र नेपाल सरकारको पूर्व स्वीकृति चाहिन्छ। तर अहिलेको निर्माणबारे गुठीलाई नै थाहा नदिनु धोका भएको महर्जन बताउँछन्।
'पोखरी त सुक्यो, स्कुलका केटाकेटी खेल्नु पनि पुण्यकै हो भनेर पो जग्गा दिएका थियौं। आवश्यकता नभएको संरचना बनाउँदै मनलाग्दी गर्न त दिएको होइन नि,' महर्जनले भने, 'यस्ता अनौतिक कार्य तुरुन्त रोक्नुपर्छ।'
स्थानीय र गुठीयारहरूको आपत्ति जग्गा भोगचलनमा छैन, नयाँ संरचना बनाएकोमा आक्रोशित भएको उनीहरू बताउँछन्। उनीहरूले न स्कुलको विरोध गरेका छन्, न त्यो जग्गा आफूले लिने भनेका छन्। उनीहरूको माग यत्ति हो- साना केटाकेटी खेल्न पाउनुका साथै खुला ठाउँ बाँकी रहोस्।
विद्यार्थी र शैक्षिक गुणस्तर बढाउन जोडबल गर्नुको साटो स्कुल पैसा कमाउनेतिर लागेकोमा आफूहरूले आपत्ति जनाएको स्थानीय बताउँछन्।
गुठीयार सानु महर्जनका अनुसार पचलीमा हाल नौ जना गुठीयार छन्। पहिले एघार जना भए पनि मन्दिरका काम सम्हाल्न र सम्पन्न गर्न धेरै कठिनाइ भएपछि संख्या घट्यो। उनका अनुसार त्यहाँको वार्षिक कामका लागि गुठी संस्थानले करिब १८ हजार रूपैयाँ दिँदै आएको थियो। तीन वर्षयता भने ५८ हजार दिँदै आएको छ। यो रकम पनि सबै कामका लागि अपुग नै भएको महर्जन बताउँछन्।
सरकारले यस्तै विविध समस्या सुनुवाइ गरिदिनुको साटो उल्टो गुठी र त्यसका जग्गा मास्ने काम प्रोत्साहन गरेको उनको आरोप छ।
'हामी भद्र सहमतिमै समस्या समाधान गरौं भनेर सरकारी निकायसँग छलफल गरिरहेका छौं। निर्माण कार्य रोक लगाइएन भने हामी भगवानको जग्गाका लागि आन्दोलनमा उत्रनेछौं,' महर्जनले भने।
सबै तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी