सोमबार दिउँसो बुटवलमा पानी पर्यो।
करिब आधा घण्टामात्रै परेको वर्षाले बुटवल बजार जलमग्न भयो। बुटवलको मुख्य बजार क्षेत्र अमरपथका पसलभित्रै हिलोसहितको पानी पसेर बजार अस्तव्यस्त बन्यो।

पछिल्ला केही वर्षयता सामान्य वर्षा हुँदा पनि बुटवलको मुख्य बजार र सडक नै जलमग्न हुने गर्छ। घरका छतबाट बग्ने पानी समेत सडक किनारमा निर्माण गरिएका ढल र नालीभन्दा बीच सडकबाटै बग्न थालेपछि तिनाउ खोला किनारका बासिन्दा मात्र होइन मुख्य बजार क्षेत्रका बासिन्दा पनि त्रसित हुन थालेका छन्।
पाँच/सात वर्ष पहिले आकाशमा कालो बादल मडारियो कि तिनाउ किनारका बासिन्दामा बाढीको त्राससँगै लक्ष्मीनगर र ज्योतिनगरका बासिन्दालाई पहिरोको डर हुन्थ्यो। अहिले ज्योतिनगर र लक्ष्मीनगरको पहिरोको समस्या नदेखिए पनि बजार क्षेत्रमै बाढी पस्ने अर्को समस्या सुरू भएको छ।
पानी पर्दा बुटवलको वडा नं ४ को लक्ष्मीनगर र वडा नं ३ को गोलपार्क, बमघाटलगायतको क्षेत्रको भेल बगेर अमरपथ आइपुग्छ। अमरपथसम्म आइपुग्दा तीन/चार वटा बस्तीबाट थपिँदै आएको भेलले सहज निकास नपाएपछि अमरपथका घरभित्रै पस्छ।
गोलपार्क, बमघाटबाट अमरपथ आउने खोल्सीमा उपमहानगरपालिकाले कृयापुत्री भवन बनाउन छुट्टयाएको स्थान
आकाश, घरको छत र सडक हुँदै खोल्सीमा आएको पानी सहज ढंगले बग्न पाउँदासम्म अमरपथका लागि सहज थियो। अहिले खोल्सी नालीमा परिणत भएको छ।
पहिले आकाशको पानी जमिनले सोस्थ्यो, तर अहिले सडकमात्र होइन खाली जमिन ढलान भएको छ। त्यसकारण पनि पानीले आफ्नो ओरालो सतह खोज्दै जाँदा अमरपथ डुब्न थालेको छ।
गोलपार्कमाथि बमघाटबाट सुरू भएको उक्त खोल्सी ईलाका प्रहरी कार्यालय र ब्रम्हाकुमारी भवनको उत्तर र रुपन्देही उद्योग संघ तथा पश्चिम नेपाल बस व्यवसायी प्रालिको पश्चिम हुँदै अमरपथबाट बग्दै आएको छ।
पानीको खोल्सी छेकेर उपमहानगरपालिकाले निर्माण गरेको शिल्पकला भवन
अमरपथसम्म सहज आइपुगेको खोल्सीको पानी छेक्नेमा बुटवल उपमहानगरपालिकाको शिल्पकला भवन पहिलो नम्बरमा परेको छ भने अहिले बुटवल उपमहानगरपालिकाकै अनुमतिमा खोलो मिचेर कृयापुत्री र सृजनशील समाजले भवन बनाइरहेका छन्। यी दुवै संस्थालाई बुटवल उपमहानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग समेत गरेको छ।
पानीको खोल्सी छेकेर उपमहानगरपालिकाले निर्माण गरेको शिल्पकला भवन
स्थानीय सरकारबाटै सुरू भएको खोल्सी मिच्ने कार्य व्यक्तिहरूले पनि गर्दै आएका छन्। उक्त खोल्सी मिच्नेमा जनप्रतिनिधिसँगै व्यापारीहरू समेत छन्। वडा नं ५ का अध्यक्ष तेज बहादुर सुनार र वडा नं ६ का अध्यक्ष जगदिश आचार्यको घर समेत सोही खोल्सी किनारमा छन्।
खोल्सीका किनारका घरधनीले घर बनाउँदा खोल्सी मिचेका कारण अमरपथको उत्तरमा रहेको काठेपुलबाट निकास साँघुरिएको स्थानीय बताउँछन्। घरधनीले आफ्नो घरबाट निस्कने फोहोर पानीसँगै छतको पानी सडकमै मिसाइदिने गरेका कारण पनि बाक्लो भवन रहेको अमरपथ डुबानमा पर्ने गर्छ।
पानीको खोल्सी छेकेर उपमहानगरपालिकाले निर्माण गरेको शिल्पकला भवन
बुटवल वडा नं ४ र ५ को सीमानामा रहेको काठेपुलदेखि पश्चिम भएर दक्षिण बग्ने उक्त खोल्सी वडा नं ५ को क्षेत्रभरि ३ देखि ४ फुटमा साँघुरिएको छ। वडाध्यक्ष तेजप्रसाद सुनारले उक्त खोल्सीको चौडाइ १२ फुटदेखि १५ फुट कायम भएको बताउँछन्।
त्यसैमाथि उपमहानगरपालिकाले सडक बनाउने योजना बनाएपछि घरधनीले छोडेको खोल्सीको भाग समेत मिचेर भित्रभित्रै धमाधम संरचना बनाइरहेका छन्।
बुटवल डुबानमा पर्नुको अर्को कारण हो, बुटवलको अवैज्ञानिक सडक विस्तार।
बुटवल पछिल्ला केही वर्षयता विकासको तीव्र गतिमा अगाडि बढिरहेको छ। बुटवलको सबभन्दा महत्वको रूपमा रहेको बुटवल बेलहिया सडकको विस्तारमा गरिएको डिजाइन त्रुटिपूर्ण हुँदा बुटवलको अस्पताल लाइनदेखि दक्षिण योगिकुटीसम्म डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ।
सिद्धार्थ राजमार्ग मात्र होइन बुटवल उपमहानगरपालिकाले बनाउने कुनै पनि सडकमा नाममात्रका ढलको निकास छ। स्थानीय बासिन्दाले पनि घर निर्माण गर्दा सार्वजनिक जग्गा कुलो र पैनी मिचेर बनाएका छन्।
सिद्धार्थ राजमार्ग निर्माण हुँदा प्रत्येक २ सय ५० देखि ३ सय मिटर दूरीको अन्तरमा पानी वारपार हुने कल्भर्ट बनाइएको सडकमा अहिले कल्भर्टहरू हटाइएका छन्।
घरपछाडिको नालीमाथि पानी छेकिने गरी नै कोठा निर्माण गर्न सर्वसाधारणले गरेको ढलान
सडक विस्तार गर्दा कल्भर्ट बनाउन मिल्ने गरी आउटलेट नभएका कारण विस्तारको क्रममा कल्भर्ट नराखिएको व्यापारिक मार्ग विस्तार आयोजनाको दाबी छ। त्यसैका कारण अहिले सामान्य पानी पर्दा पनि राजमार्ग चौराह र त्यसदेखि दक्षिणतर्फको सर्विसलेन जलमग्न हुन्छ।
‘हामी अहिले पनि कल्भर्ट राख्न तयार छौं, तर त्यसको आउटलेट दिने व्यवस्था मिलाउनु पर्यो अहिले सडकभन्दा बस्ती अग्लो छ, बस्तीको पानी सोस्ने कुनै खाली जमिन छैन सिधै सडकमा आउँछ’, आयोजना प्रमुख जीवेन्द्र मिश्रले भने।
आयोजनाका अनुसार सडकमा जम्मा हुने पानीको व्यवस्थापन गर्नका लागि सडकका किनारमा दायाँबायाँ ४ वटा नाली बनाइएको छ।
‘तिनै नालीमा सडकको पानी व्यवस्थापन हुन्छ बस्तीको पानी, घरका छतबाट आउने पानी व्यवस्थापन गर्ने काम खानेपानी तथा ढल निकास विभागको हो’, प्रमुख मिश्रले भने।
सडक विस्तार र कल्भर्टमात्र समस्या होइन बुटवल उपमहानगरपालिकासँग व्यवस्थित बसोबास योजना देखिँदैन।
घर निर्माणमा लचक नीति अपनाउँदा खाली जमिन सकिएको छ। गोलपार्क नजिकको खोल्सीको पानी अमरपथ हुँदै पुरानो बसपार्कको उत्तरतर्फबाट तिनाउ नदीमा मिसिन्थ्यो, अहिले खोला नालीमा परिणत हुँदै गएकोले पानी मिसिने सम्भावना घट्दै गएको छ।
त्यसैगरी, अर्को कुलो थियो, लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वतर्फ भुड्की चोकबाट सुख्खानगर सिँचाइ हुने। अहिले त्यो कुलोको नाम निशाना भेटिँदैन। सुख्खानगर क्षेत्रमा खेती गर्न छोडेपछि सार्वजनिक जग्गा मिच्नेहरूलाई सहयोग मिल्यो।
चोकमै हेर्दा कल्भर्टको स्वरूप देखिन्छ तर पानीको निकास हुनेगरी नाली वा कुलो मेटिइसकेको छ। बुटवलका पुराना बासिन्दा एवं बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार त्यसदेखि दक्षिण मिलनचोकमा झोपे कुसुम (मेचिकाली दैनिक जाने बाटो नजिकै) भन्ने स्थानबाट पश्चिमतर्फ जाने कुलो थियो। जुन तिनाउ नदी भएर १६/३६ सिँचाइ प्रणालीमा मिसिन्थ्यो। तर अहिले उक्त नाली कहाँ छ भेट्न मुश्किल छ।
त्यसपछि राजमार्ग चौराहमा आइपुगेपछि पूर्व लाग्ने ठूलो निकाससहितको नाली थियो। जुन अझै पनि देखिन्छ, तर त्यो नाली प्रहरी तालिम केन्द्र अगाडि पुगेपछि हराउँछ। त्यही हराएको नाली नभेटिँदा राजमार्ग चौराहमात्र होइन रामनगरले समेत सामान्य वर्षायाममा पनि सास्ती व्यहोर्नु परेको छ।
राजमार्ग चौरहाबाट दक्षिण लागेपछि प्रत्येक २ सय ५० मिटरमा पानीको निकासका लागि कल्भर्ट बनाइएका थिए। सडक विस्तारसँगै अहिले ती सबै हराएका छन्। चौराहबाट बगेको पानी कालिकानगरको एसियन होटल अगाडि आइपुगेपछि सडकमा ताल बन्छ। सडक निर्माणकै क्रममा स्थानीयको अवरोधले सो स्थानमा सडक केही दबेको छ, त्यसैको असर अहिले देखिएको छ।
आकाशको पानी सोस्ने जमिन ढलान गर्ने र नाली र ढलको निकास थुन्दै जाँदा अहिले बुटवलवासीले डुबानको समस्या भोगिरहेका छन्।
