उच्च अदालत पाटनले मानव बेचविखनको मुद्दामा नुवाकोट टीकाराम तामाङलाई ३० वर्ष कैद गरेको छ। सोही मुद्दाका अर्का अभियुक्त दुप्चेश्वरका गाउँपालिका -१ का वडाअध्यक्ष सुनबहादुर तामाङले भने सफाइ पाएका छन्।
उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रताप केसीको इजलासले गत सोमबार सुनबहादुरलाई सफाइ दिने निर्णय गरेको हो।
सुनबहादुरलाई जिल्ला अदालत नुवाकोटले ४ महिनाअघि ३७ वर्ष कैद र २ लाख ५० हजार जरिमाना गर्ने फैसला गरेको थियो।
उक्त फैसला उल्टाएर उच्च अदालतले उनलाई सफाइ दिएको हो।
उच्च अदालतले जिल्लाको फैसला नमिलेको बताएको छ तर जिल्ला अदालतको फैसला किन मिलेन भन्ने कारण पूर्ण पाठमा मात्र समावेश गरिनेछ।
नुवाकोट अदालतले यही मुद्दाका अर्का अभियुक्त टिकाराम तामाङलाई गरेको ३० वर्ष कैद र ५० हजार जरिमाना भने उच्च अदालतले सदर गरेको छ।
सुनबहादुरकी कान्छी श्रीमती राधा तामाङले सञ्चालन गरेको भारतको वेश्यालयबाट २०७० साल असार ३० गते उद्धार गरिएकी फूलकुमारी (नाम परिवर्तन) ले दुबै जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।
उनले आफूलाई मिलेमतो गरी बेचबिखन गर्ने सुकमान तामाङ, अबतार तामाङ, राधा तामाङलाई पनि कारबाही गर्न माग गरेकी थिइन्।
आफ्ना पति टीकारामले सुनबहादुरसँग मिलेर आफूलाई वेश्यालयमा बेचेको आरोप फूलकुमारीको थियो।
उनको जाहेरीका आधारमा प्रहरीले टीकारामलाई पक्राउ गरेको थियो।
टीकारामले प्रहरीसँगको बयानमा सुनबहादुरकै मिलेमतोमा फूलकुमारीलाई फकाइफुल्याइ राधा तामाङको कोठीमा बेचेको र आफूले त्यसबापत ५ हजार भारतीय रूपैयाँ पाएको बताएका थिए।
प्रहरीमा दिएको बयान उनले अदालतमा गएपछि फेरेका थिए। त्यतिमात्र होइन फूलकुमारीले समेत अदालतमा बयान फेरेर आफूले गलत जाहेरी दिएको बताएकी थिइन्।
गत चैत ७ गते नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग कुँवरको इजलासले उनीहरूले फेरेर दिएको बयानलाई अस्वीकार गरेको थियो। बयान फेरेको अभियोगमा अदालतले फूलकुमारीलाई नै २० दिन कैद सजाय गरेको थियो।
आफ्नै श्रीमती बेच्ने टीकारामलाई ३० वर्ष कैद सजाय गरेको हो। राधा, अवतार र सुकमानको मुद्दा जिल्ला अदालतले नै मुल्तवीमा राखेको थियो।
सुनबहादुरलाई पहिले पनि मानव बेचविखन मुद्दामा नुवाकोट अदालतबाट ६ वर्ष कैद सजाय भएको र प्रतिवादीहरूले नै उनकै मिलेमतोमा फूलकुमारीलाई बेचेको बयान दिएको भन्दै ३७ वर्ष कैद सजाय गरेको थियो।
उच्च अदालत पाटनले सुनबहादुरलाई सफाइ, टीकारामलाई ३० वर्ष जेल र फूलकुमारीको सजाय स्थगित गर्ने फैसला गरेको हो।
सुनबहादुरविरूद्ध मानवबेचविखनसम्बन्धी अरू २ मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन्।
बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो। तामाङविरूद्ध जिल्ला अदालत काठमाडौंमा २ वटा मुद्दा हाल्यो।
अदालतले २०७४ माघ ५ गते दुबै मुद्दामा उनलाई धरौटीमा रिहा गर्न आदेश दियो।
जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले एउटा मुद्दामा ५ लाख र अर्को मुद्दामा ३ लाख रुपैयाँ धरौटी मागेर उनलाई छोड्ने आदेश दिएको थियो।
सामान्यत: मानवबेचविखनको मुद्दामा धरौटीमा रिहा गरिदैँन। उनलाई धरौटीमा नछोडी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको भए नुवाकोटको फैसला उल्टिए पनि उनी जेलमुक्त हुन पाउने थिएनन्।