रुपन्देहीको तिलोत्तमा नगरक्षेत्रभित्र पर्ने बेलहिया बुटवल ६ लेन सडकखण्डमा निर्माण गरिएका बुद्धमूर्ति तोडफोडको घटनाको सर्वत्र निन्दा गरिएको छ।
बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेका थिए।
तिलोत्तमा नगरपालिकाको लगानीमा ६ लेन सडकखण्ड अन्तरगत योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखिएका थिए। गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बुद्ध मूर्ति अनावरण गरेका थिए।
६ लेन सडकलाई आकर्षक बनाउन र यहाँ आउने पर्यटकहरूलाई बुद्धभूमिमा आएको आभास दिलाउने उद्देश्यले नगरपालिकाले आफ्नो क्षेत्रभित्रको ६ लेन सडकमा ४० वटा बुद्ध मूर्ति राख्न सुरू गरेको थियो।
ती मूर्तिमध्ये शंकरनगरदेखि ड्राइभर टोलसम्मका ५ वटा बुद्ध मूर्ति तोडफोड गरिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्। राति गरिएको तोडफोडबाट चार वटा बुद्ध मूर्ति ३/४ टुक्रा बनाइएको र एउटा मूर्तिलाई पटक/पटक प्रहार गरिएको अवस्थामा बिहिबार बिहान सडकमा भेटिएको थियो।
सडकको मेडियनमा निर्माण गरिएका मूर्तिहरू कसले र किन फुटाल्यो भन्ने अहिलेसम्म खुलेको छैन। तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बुद्ध मूर्ति तोडफोडले नगरपालिकालाई स्तब्ध बनाएको बताएका छन्।
उनले नगरपालिकाको विकास निर्माणको कामबाट डराएका र विकास विरोधी समूहले नगरपालिकालाई विचलित बनाउने उद्धेश्यले योजनाबद्ध ढंगले मूर्ति तोडफोड गरिएको हुनसक्ने बताए।
उनले बुद्ध मूर्ति तोडफोडको घटनाले शान्ति विरोधी गलत सन्देश लैजानुको साथै नगरको शान्ति सुरक्षाप्रति पनि गम्भीर प्रश्न उब्जाएकोले यो विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरे।
बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो। जसमध्ये गत आर्थिक वर्षमा २३ लाख रुपैयाँ खर्च भएको छ भने बाँकी रकम चालू आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ।
तिलोत्तमा नगरपालिकाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतम बुद्धका मूर्तिमाथि लगाइएको ‘कुदृष्टि’ ले कानुनी राज्यको उपहास गरेको बताएको छ।
नगरप्रमुख घिमिरेद्वारा जारी विज्ञप्तिमा नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठितरूपमा घटना गराइएको ठहर गर्दै यस प्रकारको जघन्य अपराधले सबैको आस्था र विश्वासमा ठेस पुर्याएको उल्लेख गरिएको छ।
यस्तै, मूर्ति तोडफोडको घटनाको बुद्ध मूर्ति व्यवस्थापन समिति सिद्धार्थनगर नगरपालिकाले पनि भत्सर्ना गरेको छ।
उपभोक्ता समिति अध्यक्ष भरतकुमार पाखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा मूर्तिमाथि भएको आक्रमण शान्तिका अग्रदूत गौतमबुद्धमाथि आक्रमण भएको महशुस गरेको जनाइएको छ।
प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेका बेला यसलाई थप टेवा पुर्याउने र जिल्लालाई बुद्धमय बनाउने भन्दै तिलोत्तमा र सिद्धार्थनगरले ६ लेन सडकको बीच भागमा बुद्ध मूर्ति राखिरहेका छन्। सिद्धार्थनगर क्षेत्रभित्रको ६ लेन सडकखण्डमा पनि अहिले मूर्ति राख्ने काम जारी छ।
यस्तै, नेकपा तिलोत्तमा नगर कमिटीले पनि मूर्ति तोडफोडको कार्यप्रति निन्दा गरेको छ। नगर कमिटी अध्यक्ष मोहन चापागाईंले विज्ञप्ति जारी गर्दै घटनाप्रति आफू स्तब्ध भएको जनाएका छन्।
विज्ञप्तिमा बुद्ध मूर्ति तोडफोडजस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ।