नेपाली सेनाले रौतहटमा सयौं बाढी तथा डुबान पीडितलाई उद्धार गरेको छ।
रौतहटमा रहेको इन्द्र बक्स गणले अति बाढी प्रभावित क्षेत्र वडहर्वा, इशनाथको विभिन्न गाउँहरू, गौर,टिकुलियालगायतका क्षेत्रमा पुगेर बाढी तथा डुबान पीडितलाई उद्धार गरेको हो।
गौरस्थित गौरीशंकर क्याम्पस पछाडिबाट मात्रै ११ जना बालबालिकासहित दर्जनौंलाई उद्धार गरिएको इन्द्र बक्स गण गौरका प्रमुख कर्णेल सुजन शाक्यले बताए।
लालबकैयाको बाढीले जान नसक्ने इसनाथ नगरपालिकाको औरया, बन्जाहरा टोलमा पनि सशस्त्र, नेपाल प्रहरीसहित संयुक्त रूपमा नेपाली सेनाले डुंगामा राखेर खाद्यान्नलगायतका राहतका सामग्री वितरण गरेको छ।
नेपाली सेनाले बागमती नदीले कटान गरेको बाँधको समेत मर्मत गरेको छ। सेनाको पुरनेवास्थित आफ्नै कार्यालय डुबानमा परेको थियो । तर पनि बिपतको बेला नागरिकको जिउधनको रक्षा गर्न नेपाली सेना सक्रिय रहेको बाढी प्रभावित क्षेत्रका स्थानीयले बताए।