स्वर्गीय गायक अरुण थापा र झम्सिखेलबीच पचास वर्ष पुरानो सम्बन्ध छ। अरुणको स्मृति दिवस अर्थात् साउन ५ गतेले त्यो सम्बन्ध झन्झन् कसिलो बनाइरहेको छ।
झम्सिखेल त्यही ठाउँ हो जहाँ अरुणले आफ्नो जीवनका महत्वपूर्ण समय बिताएका थिए। त्यही बसाइँमा अरुणले झम्सिखेलका गल्ली र यहाँ मान्छेको मनमा तीतामीठा याद छोडेर गएका छन्।
झम्सिखेल आज पनि अरुणका तिनै तीतामीठा स्मृतिमा रमाउँछ र हाँस्छ। उनको अभावमा तड्पिन्छ र रुन्छ। सायद आफूलाई छोडी गएकोमा झम्सिखेल अरुणसँग मौन गुनासो पनि पोख्छ। तै पनि झम्सिखेलले अरुणलाई माया गर्न कहिल्यै छाडेको छैन।
कुनै बेला अरुण थापाको घर भएको झम्सिखेलस्थित चोकको माझमा ठडिएको उनको आकृति कुँदिएको सालिक त्यही मायाको प्रमाण हो।
झम्सिखेल क्लबका सन्दन थापा र पुरुषोत्तम थापा अरुणका छिमेकी भाइहरू हुन्। यिनै दुईको पहलमा स्थापना भएको 'अरुण थापा स्मृति प्रतिष्ठान'ले उनको सालिक बनाएको हो। २०६६ चैत २८ गते सालिक स्थापना भएपछि झम्सिखेल-२ को यो ठाउँले अरुण थापा चोकको परिचय बनाएको छ।
अरुणको सालिक बन्नुअघि यो फोहोर थुपार्ने ठाउँ थियो।
प्रतिष्ठानका अध्यक्ष सन्दन थापा भन्छन्, 'सालिक भएको ठाउँमा कन्टेनर थियो।'
'रिङरोडभित्र सरकारले गणेशमान सिंहको सालिक बनाउनसमेत नमानिरहेको अवस्था थियो,' प्रतिष्ठानका कोषाध्यक्ष पुरुषोत्तम थापा थप्छन्।
बडो दुःखले पचास, सय, हजार गर्दै चन्दा उठाएर सालिक बनाएको उनीहरू बताउँछन्।
सन्दन र पुरुषोत्तम नातेदार दाइ-भाइ हुन्। हाल सालिक भएको बगलमै थियो, अरुणको घर। एकातिर जुद्ध खलक, अर्कातिर चन्द्र खलक 'राणाजी'हरूको माझमा थियो अरुणको घर। र, त्यसको सामुन्नेमै पर्थ्यो यहीँ आठौं पुस्ता बिताएका सन्दन र पुरुषोत्तमको घर।
अरुणका परिवार २०२४ सालमा झम्सिखेल आएका थिए। आफ्नो पृथक आवाजका कारण सन्दन र पुरुषोत्तमसँगै झम्सिखेलका स्थानीयमाझ प्रिय बन्न अरुणलाई समय लागेन। गाउन रुचाउने सन्दन र गितार बजाउन रुचाउने पुरुषोत्तम संगीतप्रेमी अरुणको परिवारसँग चाँडै घुलमिल भए।
अरुणका बुबा गञ्जुप्रसाद र भाइहरू पुरन र किरण सबै संगीतका सोखिन थिए।
'अरुण दाइभन्दा पनि पुरन खतरा गाउने। तर गीत रेकर्ड गर्नतिर लागेनन् उनी,' पुरुषोत्तम सुनाउँछन्।
सन्दन पुराना दिन याद गर्दै भन्छन्, 'झम्सीखेलमा अरुण दाइ यति लोकप्रिय कि यहाँको गणेश मन्दिरमा हुने सांस्कृतिक कार्यक्रमदेखि देउसी-भैलोसम्म दाइकै गीत बज्थ्यो।'
अरुण थापाका सबै गुण दोष र उतारचढावलाई सन्दनले अझ नजिकबाट नियालेका छन्।
'अरुण दाइ न संगीत पढेको, न अनुशासनमा बसेर रियाज गर्ने मान्छे। तै पनि दाइले गाएपछि सुन्नेको कान हैन मनलाई नै छुन्थ्यो,' सन्दनले सुनाए। अरुणको यही विशेषतालाई पुरुषोत्तम 'गड गिफ्टेड गुण' मान्छन्।
अरुण थापाको स्मृतिमा प्रतिष्ठान खोलिनुमा यी दाजुभाइले अरुणको संगीतप्रति देखाएको श्रद्धा र सद्भावले काम गरेको छ। सन्दन र पुरुषोत्तम 'स्काइ टुर ब्यान्ड'का सदस्य थिए। ब्यान्डले टुबोर्ग बिट कन्टेस्टमा भाग लिएको थियो। त्यहाँ उनीहरू आफैंले तयार पारेको मौलिक गीत प्रस्तुत गर्नुपर्थ्यो। त्यसबेला अरुणकै रचनाको 'कति झुटो' गीत गाएका थियो उनीहरूको समूहले।
अरुणले उनीहरूलाई थप दुई गीत दिएका रहेछन्।
सन्दन सम्झन्छन्, 'यो ज्यानलाई कम्ती पीर परेछ बोलको गीत 'गोर्खा ब्वाइज ब्यान्ड'ले गायो। कतिले रक्सीका लागि अरुण दाइले बेचेको समेत भने। बेचे कि त्यसै दिए खै?'
'जुत्ता फाटे चमारलाई दिउँला, कपडा फाटे दर्जीलाई दिइदिउँला' बोलको अर्को गीत झम्सिखेलमा निकै चर्चित रहेछ त्यो बेला।
स्काइ टुरको संगीत यात्रा ०५४ सालमा एउटा गीत रेकर्ड गराएर टुङ्गियो। तर संगीतप्रतिको लगाव बाँकी थियो। त्यही लगावले उनीहरूलाई अरुणसँग जोडिरहेको छ, आजसम्म पनि।
सात जना सदस्य भएको प्रतिष्ठानले हालसम्म सालिक बनाउनेबाहेक अरुणका पुराना सरसामान खोज्ने, उनका गीत संकलन र संरक्षण गर्ने लगायत काम गरेको छ। तर विगत दुई दशकमा जे काम भएका छन् त्यसप्रति उनीहरू आफैं असन्तुष्ट छन्।
त्यही असन्तुष्टि मेट्न उनीहरू अरुणबारे किताब लेख्ने र वृत्तचित्र बनाउने निर्णयमा पुगेका छन्।
यही कामका लागि उनीहरू अरुण थापाले विभिन्न चरणमा समय बिताएका दार्जिलिङ, पोखरा, विराटनगरजस्ता सहर पुगिसकेका छन्।
पुरुषोत्तम भन्छन्, 'अरुण दाइको जीवनका केही नयाँ तथ्यसमेत उजागर गर्ने र समग्रमा उहाँलाई बुझ्न सघाउने हिसाबले तयारी भइरहेको छ।'
यसबाहेक अरुण थापाको काम र जीवनसँग जोडिएका हरेक कुरा एकै ठाउँमा पाइने संग्रहालय स्थापना गर्ने प्रतिष्ठानको लक्ष्य छ।
शब्द र दृश्यमा अरुणलाई बचाउन चाहने यी दुई दाजुभाइले अरुणका दुर्लभ तस्बिरदेखि पर्ससम्म सुरक्षित राखेका छन्। हालसम्मको अध्ययनमा अरुणका एउटा मगर गीतसहित जम्मा ३८ वटा गीत भएको निष्कर्षमा पुगेको छ प्रतिष्ठान। अरुणको घर भने २०४० सालतिरै बिक्री भइसकेको छ।
सन्दन र पुरुषोत्तमलाई अरुण बितेको सुरुका वर्ष यी सबै काम राज्यले गर्नुपर्ने जस्तो लाग्थ्यो। तर अचेल आफ्नै जिम्मेवारीका रुपमा यसमा रमाउन थालेका छन्।
बीसौं स्मृति दिवसको सन्दर्भ पारेर शनिबार प्रतिष्ठानले अरुणको ढुंगाको पुरानो सालिक फेरेर ढलौटको बनाएको छ।
'ढलौटको सालिकमा अरुण दाइको अनुहार अझ प्रष्ट र राम्रो देखिएको छ। खुसी लागेको छ,' सन्दनले नयाँ सालिक हेर्दै भने।
प्रेम र विवाह दुबैमा असफल मानिएका अरुणका वैराग्य, वियोग, बेवास्ताका अनेक किस्सा सार्वजनिक छन्। लागूपदार्थ, रक्सी र जेल परेका घटनासम्मका चर्चा छन्।
अरुणका यिनै कुराले उनको जीवनको उत्तरार्द्धमा आफन्तहरू पनि चिढिएका थिए। झम्सिखेलमा उनी 'बदनाम' हुने नै भए। त्यही भएर अरुण आफ्नी छोरी करुणालाई भेट्न साँझ पारेर मात्रै आउँथे।
'दाइ गणेश मन्दिरमा कुर्नुहुन्थ्यो। छोरी करुणालाई दाइसँग भेटाउने माध्यम मै थिएँ। हरेक पटक छोरीका लागि झोलामा केही न केही बोकेरै आउनुहुन्थ्यो,' पुरुषोत्तम सुनाउँछन्।
पुरुषोत्तमलाई अझै याद छ, 'अरुण दाइ बित्नुभन्दा दुई दिनअघि मात्रै झम्सिखेल आउनुभएको थियो।'
सन्दन र पुरुषोत्तमले अरुणसँग धेरै अनौपचारिक पलहरू बाँचे। खसी बजारछेउको कान्तिपुर गेस्ट हाउसको २०५ नम्बरको कोठामा अरुणले प्राण त्याग्दा पनि उनीहरू अरुणको नजिकै थिए।
हरेक प्रतिभावान कलाकार बितेपछि उसको चर्चा झनै चुलिन्छ। अरुणको हकमा पनि मरणपछि उनका गीत अझ लोकप्रिय बने। सन् २००२ मा बिबिसीले गरेको सर्वेक्षणमा विश्वकै लोकप्रिय गीतमध्ये उनको 'ऋतुहरूमा तिमी' सातौं नम्बरमा पर्नुले पनि उनको लोकप्रियता पुष्टि गर्यो।
२०३१ सालमा बुबा गञ्जुप्रसाद नेपाल बैंकका क्षेत्रीय महाप्रबन्धक भएर पोखरा जाँदा अरुण पनि साथै गएका थिए। सांगीतिक हिसाबले पोखरा अरुणका लागि उर्वरभूमि बन्यो। उनले गायनमा औपचारिक सक्रियता बढाएको पोखरामै हो। २०३४ सालमा स्थापना भएको 'युवा सांस्कृतिक परिवार'का सदस्य बने उनी। पोखराको सांस्कृतिक परिवेश र संगतले उनको गायनशैलीमा लोक मिठास थपेको सहजै अनुमान गर्न सकिन्छ।
पृथक स्वर र शैलीका धनी अरुण थापा आधुनिक र पप दुवैखाले संगीत मन पराउने स्रोतामाझ प्रिय छन्।
'१९७४ एडी' ब्यान्डले गाएको अरुणको 'जति माया लाए पनि', बुद्ध नारायण श्रेष्ठले गाएको 'ऋतुहरूमा तिमी' गीतको 'रिमेक'लाई पनि स्रोताले मन पराउनु उनलाई नयाँ पुस्ताले रुचाइरहेको प्रमाण हो।
अरुण थापा बिनाका यी दुई दशकमा एउटा कुरा भने उस्तै छ, हिजोजस्तै आज पनि उनका गीत निजी कोठादेखि सार्वजनिक कार्यक्रमहरूमा गुन्जिरहेकै छन्।
अरुणले थोरै गाएर पनि हरेक गीतमा 'फिल' दिए। संयोग वा वियोग जे मानौं, उनका अधिकांश वियोगात्मक गीत उनकै जीवनको कथा बोकेर गुञ्जिरहेका छन्।
'लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो'
फक्रँदो उमेरमै ओइली झरेका अरुण सम्झँदै भावुक हुन्छन् सन्दन।
'अरुण दाइ बाँचिरहेको भए आजकै दिन ६७ वर्ष पुग्नुहुन्थ्यो। तर दुर्भाग्य, उहाँ बितेको २० वर्ष पूरा भएछ। आजकै दिन। त्यो बुधबार थियो, आज आइतबार हो,' सन्दनले भावुक हुँदै भने।