शैक्षिक सुधारका विभिन्न कार्यहरू सञ्चालन गर्दै आएको रुपन्देहीको सैनामैना नगरपालिकाले विद्यालयहरूलाई सूचना प्रविधिका उपकरण प्रदान गरेको छ।
नगरपालिकाकामा जनप्रतिनिधि निर्वाचित भएसँगै नगरपालिकाले शैक्षिकस्तरका सुधारको पहल थालेको हो।
सोही अनुरूप नगरपालिका क्षेत्रमा रहेका १८ वटा सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको हो।
नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा १ करोड ७४ लाख ८९ हजार रुपैयाँ बराबरका ल्यापटप, कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर वितरण गरेको हो।
नगरपालिकाले सामुदायिक विद्यालयका लागि दुई सय ९ थान आइसिटी सामग्री प्रदान गरेको हो।
नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिकस्तर सुधारमा प्रोत्साहन होस् भनी आइसिटी सामग्री प्रदान गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए।
नगरपालिकाले यसअघि पनि आइसिटी सामग्री वितरण गर्नुका साथै विद्यालयका शिक्षकहरूलाई उपकरणको प्रयोग गर्ने विधिका बारेमा तालिम समेत सञ्चालन गरेको प्रमुख कार्कीले बताए।
सामग्री प्रदान गर्दै नगरप्रमुख कार्कीले प्रविधिको अधिकतम प्रयोग गर्दै शैक्षिकस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे। ‘प्रविधिको युगमा उपकरणहरूको सही ढंगले प्रयोग गर्नुस्, यसको प्रयोगबाट शैक्षिकस्तर कायम राख्न मद्धत मिल्नेछ,’ उनले भने।
नगरप्रमुख कार्कीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउनुका साथै मौसम अनुसार तातोचिसो पानीका लागि फिल्टर जडान गर्ने र विद्यालयमा जंक फुड निषेधका लागि अभियान सञ्चालन गर्न बजेट विनियोजन गरिएको बताए।
कार्यक्रममा उपप्रमुख बिना राना, कांग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेत नारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याल, विद्यालयका शिक्षकहरू लगायतले बोल्दै नगरपालिकाले राम्रो कामको थालनी गरेको बताए।
नगरपालिकाले अघिल्लो वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा एक सय ३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो।
शैक्षिक सुधारका लागि सैनामैनाले सुरू गरेको अभियान नमूना मानिएको छ।
यहाँका विद्यालयमा स्मार्ट बोर्ड र प्रोजेक्टरको माध्यमबाट पढाइ हुन थालेको छ भने गुणस्तरको न्यूनतम मापदण्ड समेत तोकिएको छ।
प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्रधानाध्यापक नेत्रलाल पुरीले बताए।
नेपाली टाइप, पावर पोइन्ट स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालिम लिइसकेका छन् भने विद्यार्थीहरूलाई उपकरणबाटै पढाउन सुरू गरिसकेका छन्।
नगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा अध्यापनरत दुई सय ४१ शिक्षकमध्ये अधिकांशले तालिम लिइसकेको नगर शिक्षा अधिकृत हेमराज अर्यालले बताए।
यस्तै, सैनामैना नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई नि:शुल्क विद्युत मिटर उपलब्ध गराएको छ।
११ वटा वडाबाट छनोट गरिएका विपन्न परिवारका सदस्यलाई नि:शुल्क विद्युत मिटर वितरण गरिएको हो।