सुर्खेतमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका मेडिकल र ल्याबमा सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा मापदण्डविपरित सञ्चालनमा रहेका मेडिकल र ल्याव गरी ५ वटामा सिल गरिएको हो।
वीरेन्द्रनगरमा रहेका राना पोलिक्लिनिक एण्ड डायगोनोष्टिक सेन्टर, कर्णाली मेडिकल हल र बोहोरा पोलिक्लिनिकको ल्याबमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए। यस्तै रम्भादेवी फार्मेसी र शिवविहार मेडिकल हल दर्ताविना नै सञ्चालन गरिएकाले सिल गरिएको उनले बताए।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाको नेतृत्वमा सुर्खेत आएको टोलीले जेठ १९ र २० गते सुर्खेतको मेडिकल, ल्याव तथा प्रयोगशालाहरुमा अनुगमन गरेको थियो। उक्त अनुगमनको प्रतिवेदनका आधारमा मापदण्ड नपु¥याइएका पसलहरुमा सिल गरिएको शर्माले जानकारी दिए।
‘डा. रुणा झाको नेतृत्वमा आएको टोलीले अघिल्लो महिना सुर्खेतमा अनुगमन गरेको थियो’ प्रशासकीय अधिकृत शर्माले भने, ‘उहाँले असार २५ गतेको मितिमा हामीलाई प्रतिवेदन पठाउनुभयो, सोही प्रतिवेदनका आधारमा सिल गरेको हो।’
दर्ताविना सञ्चालन भइरहेका मेडिकल दर्ता नहुन्जेल बन्द गरिने प्रशासकीय अधिकृत शर्माले बताए। औषधि व्यवस्था विभागमा मात्रै दर्ता गरिएका मेडिकलहरुले मापदण्डविपरीत ल्याब सञ्चालन गरेको पाइएको उनले बताए। पहिलो चरणमा मापदण्डविपरीत सञ्चालनमा रहेका मेडिकल सञ्चालकबाट बयान लिइने र आवश्यक मुद्दा चलाउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा कर्णाली भेरी फार्मेसी, किरण मेडिकल हल र आरुसी फार्मेसीमा समेत मापदण्डविपरीत प्रयोगशाला सञ्चालन गरिएको पाइएको छ।
सिल गरिएका पोलिक्लिनिकमध्ये राना पोलिक्लिनिक, रम्भादेवी फार्मेसी र कर्णाली मेडिकल हलले ‘ई’ वर्गको प्रयोगशाला सञ्चालनका लागि न्यूनतम मापदण्ड र पूर्वाधार पूरा नगरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ। वीरेन्द्रनगरको शिवविहार मेडिकल हलले प्रयोग गरिरहेको भवन जस्ता पाताले छाएकोले औषधि अनुकूल नभएको प्रतिवेदनमा उल्लेख छ।
तस्विरः सुर्खेतका मेडिकल र ल्याबमा अनुगमन गर्दै डा. रुणा झाको टोली ।