साउन, धर्म 'कमाउन' यात्रा गर्ने तीर्थारुको महिना।
भारतका चारधाम- बद्रीनाथ, द्वारिका, जगन्नाथ पुरी र रामेश्वरम् जाने बेला यही हो। केदारनाथ, गंगोत्री, यमुनोत्रीदेखि पुनपुन, गया, काशी, गंगासागर लगायत ठाउँ पनि नेपालीहरूको धार्मिक केन्द्र हो।
गोर्खा सैनिकमा भर्ती हुन वा श्रमका निम्तिबाहेक सबभन्दा बढी भारत जाने नेपालीमा सम्भवतः तीर्थयात्री नै पर्छन्।
यस्तै तीर्थारुका पथप्रदर्शक हुन् मुना खनाल। चालिस वर्षदेखि उनी निरन्तर धर्म 'कमाउन' चाहनेका 'सारथी' बनेका छन्।
काठमाडौंको बानेश्वरमा जन्मिएका मुनाले यो काम यसै रोजेका होइनन्। लामो यात्राको सास्ती भोग्दै पूण्य गर्न जाने नेपालीहरूले भारतीय सवारीसाधनमा भाेगेको अपमानले उनको मन बिझेको थियो।
यो यात्राको सुरूआत २०३८ सालमा भएको हो।
कक्षा आठमा पढ्दै गरेका मुना '६५ दिने चारधाम यात्रा' मा निस्केका थिए।
जीवनकै पहिलो तीर्थयात्रा सम्झिँदै मुना भन्छन्, 'त्यो बेला साउन १२ गतेबाट सुरू हुने ६५ दिनको यात्रालाई चारधाम यात्रा भनिन्थ्यो।'
मुना त्यो बेला 'पूण्य कमाउन' गएका थिएनन्। किशोर उमेरमा 'इन्डिया' घुम्ने रहरले हुँइकिएका थिए।
उनका भिनाजु प्रकाश गौतमको सुन्धारामा कार्यालय थियो। २०१२ सालमै खुलेको 'गौतम तीर्थयात्रा'मा गोरखपुरबाट भारत जाने रेलको टिकट पाइन्थ्यो। काठमाडौंकै पुरानोमध्येको यो काउन्टरबाटै बसमा यात्रु लिएर उनका भिनाजु बरोबर भारत गइराख्थे।
'नयाँ ठाउँ घुम्न र मीठोमीठो खान पनि पाइने भन्दै भिनाजुकै सहयोगमा इन्डिया गएको थिएँ,' मुनाले सुनाए, 'मलाई भिनाजुको काम हेरेर सिक्नु पनि थियो।'
उत्साहित हुँदै फुरूङ्ग परेर हिँडेका मुनाको मन गोरखपुर पुग्नासाथ खित्रिक्क भयो।
काठमाडौंबाट बसमा गएका उनी गोरखपुरबाट रेल चढेका थिए। रेल चढ्न पाएर हौसिएका मुना त्यहाँको दृश्य देखेरै ओइलाए।
रेलमा नेपाली र भारतीय यात्रुबीच फरक व्यवहार भइरहेको थियो। भारतीय यात्रु टिकट देखाउँदै सरासर रेलको डिब्बामा पसिरहेका थिए। नेपाली भने टिकट नबोकी गएकाले यताउता अलपत्र देखिन्थे।
'एक जना नेपालीले रेलका टिटी (टिकट जाँच्ने मान्छे) को खुट्टै ढोगेर याचना गरे। यो देख्दा एकदमै नरमाइलो लाग्यो। मनै कुँडियो,' मुनाले सम्झिए।
भिनाजुबाट रेल यात्राका रमाइला किस्साहरू उनले सुनेका थिए। त्यसकै आधारमा दिमागमा रेलको सुन्दर चित्र कुँदिएको थियो। वरपरको परिवेश छाएको थियो। तर गोरखपुरमा नेपाली यात्रुका दुःख देखेपछि उनलाई 'रेल र रमाइलो' सधैं एउटै लिगमा गुड्ने रहेनछ भन्ने भयो।
यो स्थितिले उनको मनमा गहिरो छाप छोडिरह्यो। उनी आफैंले भने धेरै सास्ती भोगेनन्। भारतका ट्राभल एजेन्सी र गाइडसँग उनका भिनाजुको सम्बन्ध राम्रो थियो। यही सम्बन्धका कारण मुनालाई कसैले छोरा, कसैले भतिज त कसैले भैया भन्थे रे! नाता लागेपछि सहज हुने नै भयो!
फर्केपछि उनी भिनाजुसँगै काम सिक्न थाले। सानैमा बुबा बितेकाले उनीमाथि पैसा कमाउने जिम्मेवारी थियो।
कलिलैमा तीर्थारुका सहयात्री बन्न थालेका मुनाको दिमागमा प्रश्न खड्किन थाल्यो, 'नेपालीले इज्जत र सुविधा साथ भारतमा यात्रा गर्न कसरी पाउलान्?'
उनले यही प्रश्न भारतका मान्छेलाई पनि सोधे। उनीहरूले मुनालाई 'ट्रेन्स एट अ ग्लान्स' किताबबारे जानकारी दिए। भारतीय रेलवे सेवाले प्रकाशन गर्ने यो किताबमा रेलको रुट, समयतालिका लगायत आधारभूत जानकारी उल्लेख हुन्छ। किताब पढ्न पनि उनले त्यहीँका मान्छेलाई गुहारे।
यही किताबले मुनाको प्रश्नको जवाफ दियो।
'किताबमा रेलको सबै विवरण हेरेर टिकट रिजर्भ गर्न थाल्यौं,' उनले भने, 'अनि त यात्रुलाई धेरै सहज भइहाल्यो नि।'
२०३९ सालमा ६० जना यात्रु बोकेको गाडी लिएर पहिलो पटक आफ्नै नेतृत्वमा बद्री-केदारनाथ पुगेका थिए उनी।
सम्झेझैं गरेर भन्छन्, 'धर्मशाला र बस्ने ठाउँबारे जानकारी नभएर बाहिर चउरमै रात बिताइन्थ्यो त्यो बेला। नियमित यात्रा गरेपछि साइनबोर्ड कहाँ छ पनि थाहा भयो।'
सुरूसुरूमा टिकट व्यवस्थापनमा चुनौती पनि आए। एउटै टिकट नम्बर अर्को मान्छेसँग जुधेका कारण नेपाली यात्रु अलपत्र पर्थे। रेलको टिकट जाँच्ने मान्छेको बदमासीका कारण पनि ठगिने र हेपिने गरेको मुना सुनाउँछन्।
'जबदेखि कम्प्युटरमा टिकट बुक गर्ने सुविधा मिल्यो, यस्ता समस्या हुन छोडे,' उनले भने।
मुनाले काम सुरू गर्दाताका पूर्व-पश्चिम राजमार्ग बनेकै थिएन। काठमाडौंबाट भैरहवा पुग्न पोखरा तानसेन हुँदै जानुपर्थ्यो। दुई दिनको यात्रा।
'यहाँबाट ग्राहकको नाम बुक गरेर सुनौली पठाउनुपर्थ्यो। सुनौलीबाट अर्को मान्छे गएर गोरखपुरमा टिकट काट्थे,' उनले सुनाए, 'त्यो टिकट बोकेर सुनौलीमा यताबाट जाने यात्रु कुरिन्थ्यो। कहिलेकाँही त आज यात्रुहरूको नाम लिएर गएको बस दुई दिनमा पनि सुनौली पुग्थेन। खुब समस्या हुन्थ्यो त्यस्तो बेला।'
काठमाडौंबाटै सबै व्यवस्थापन गर्न गाह्रो भएकाले उनले भिनाजुको 'गौतम तीर्थयात्रा'लाई 'सम्झना यात्रु सेवा' बनाए र शाखा विस्तार गरे। भैरहवा, वीरगन्ज, काकडभिट्टामा यसका शाखाहरू विस्तार गरे। काठमाडौंबाट ग्राहक बस रिजर्भ गरेर जाँदा यात्रुहरू यिनै ठाउँमा थकान मेट्न थाले।
विगत चार दशकमा उनी धेरै पटक पूरै भारत भ्रमण गरिसकेको दाबी गर्छन्। बस र रेल दुवैमा बद्री-केदारनाथ सयौं पटक यात्रा गरिसकेको बताउँछन्।
'एउटा वर्ष त सात महिना लगातार भारतमा बिताएँ। मलाई कुन ठाउँमा कुन धर्मशाला र कस्तो होटल छ सबै कण्ठ छ। कुन रुटबाट यात्रु पठाउँदा उनीहरूको समय र पैसा बच्छ भनेर यात्रा तयारी गर्न यस्तै अनुभवले सिकायो,' उनले गर्वसाथ सुनाए।
नेपाली तीर्थारु र पर्यटकको घुम्ने शैलीमा आएको परिवर्तनको पनि साक्षी हुन् उनी। उनको अनुभवमा २०४६ सालको राजनीतिक परिवर्तनपछि सञ्चार र यातायातको क्षेत्रमा क्रमशः सुविधा थपिँदै आयो। २०४८ सालमा आफ्नो कार्यालयमा टेलिफोन जडान गरेको सम्झँदै भन्छन्, 'पहिला त अमर लज, बागदरबारमा मात्रै ट्रंककल (देशबाहिर फोन) गर्ने ठाउँ थियो।'
राजनीतिक परिवर्तन मात्रै होइन, काठमाडौंको बदलिँदो समाज र परिवेशमा आएको परिवर्तनको पनि उनलाई हेक्का छ।
२०४० सालमा एसएलसी दिएका मुना बिहान सात बजे नै सुन्धारा पुग्थे। पशुपति क्याम्पस, चाबहिलमा रातिको कक्षा भर्ना भएपछि आउजाउ गर्न १ सय ५० रूपैयाँमा 'हिरो' साइकल किने।
उनी भन्छन्, 'आफ्नै कमाइको पैसाले किनेको साइकल चढ्दा बेग्लै आनन्द आउँथ्यो।'
आज मोटरसाइकल चढेर सुन्धाराको उही कार्यालय जाँदा घरिघरि दिग्दार लाग्छ उनलाई।
'नोस्टाल्जिक' हुँदै भन्छन्, 'त्यो बेला हामी आउँदा सुन्धाराकै पानी खान्थिम्। यहीँको पानीले नुहाउँथिम्। कञ्चन पानी सुक्यो। काठमाडौं मलजस्ता भवन बन्न थालेपछि कुलो पनि मासियो।'
मुनाका अनुसार अरुबेला शान्त र सभ्य सुन्धारामा बिहानीपख राम्रै चहलपहल हुन्थ्यो। उनको सम्झनामा इन्द्रपुरी रेस्टुरेन्ट अझै छ।
'टाढाबाट जेरी-स्वारीको स्वाद लिन आउँथे मान्छे। काठमाडौंबाट बाहिर जाने बस यहीँबाट छुट्थ्यो,' उनी सुनाउँछन्।
त्यही सुन्धारामा बसेर अनुभवका पत्रहरू उप्काउँदै उनी सुनाउँछन्, 'पहिला पाका मान्छे मात्र तीर्थ जाने चलन थियो। वृद्धवृद्धाहरूको स्वास्थ्यका कारण ठाउँठाउँमा उपचारसमेत गराउनु पर्थ्यो।'
गर्मीयाममा यात्रा गर्दा 'नखानुस्' भन्दाभन्दै यात्रुहरूले काँचो आप र लिच्ची खाने गरेको उनले भुलेका छैनन्। बिरामी पर्नेहरूलाई पनि अस्पताल पुर्याउनै पर्यो।
'२०४६ सालमा तत्कालीन यातायात सचिव मदनमान अमात्यसँगै ४६ जनाको समूहलाई औरंगाबादको गर्मीमा लु लागेपछि चार दिनसम्म अस्पताल राख्दा निकै तनाव भएको थियो,' उनले थपे।
उनलाई काम रमाइलो लाग्थ्यो। सहज भने थिएन। २०४१ सालको कुरा हो। हरिद्वारमा मुनाको नेतृत्वमा गएको बसमा चोरी भयो। तर त्यहाँका मान्छेले उनलाई आर्थिक सहयोग गरे। यति मात्र होइन, चोर समातेर सामान फिर्ता गराइदिए।
भन्छन्, 'त्यो बेलाका मान्छेमा सहयोग भाव धेरै थियो।'
अर्को समस्या सूचना अभावको थियो। अहिले जस्तो न फोन, न इन्टरनेट। एकातिर मुनाजस्ता यात्रु सेवा सञ्चालकहरूलाई भारतको मौसम र बाटोघाटो अवस्थाबारे सूचना बटुल्न गाह्रो थियो। अर्कातिर यात्रुहरूबारे सबै चिन्ता आफ्नै टाउकोमा हुन्थ्यो। कति यात्रु हराउने, कसैको बाटोमै मृत्यु हुनेसम्मका घटनाले सिर्जना गर्ने झमेला बेहोरका छन् उनले।
पहिलेको तुलनामा अचेलको यात्रा छोटो र छरितो भएको उनी बताउँछन्। नयाँ र पुराना पुस्ताको घुम्ने प्रवृत्तिमा आएको हेरफेर पनि मूल्यांकन गर्छन्। उनको अनुभवमा पहिलाका यात्रुलाई 'दिल्ली, बम्बई घुम्न जानू' भनेर सुझाउँदा पनि जान्थेनन् रे! अचेल तीर्थयात्रा र पर्यटकका रुपमा 'एक पंख दुई काज' गर्नेको संख्या बढेको छ।
अचेल नेपाली यात्रीहरूले टिकट बोकेर इज्जत र सुविधा साथ यात्रा गरेको देख्दा उनी आफ्नो सपना पूरा भएको भन्ठान्छन्।
'यसका लागि मैले स-साना कुरामा ध्यान दिँदै आएको छु,' उनले भने, 'जानुअघि मौसम, बाटोघाटो र बस्ने ठाउँबारे राम्ररी सोधपुछ गर्छु। अचेल मोबाइल छ। सम्पर्क गर्न सजिलो भएकोले यात्रुलाई कहाँ पुग्नुभयो भनेर सोध्छु। यात्रु पठाएर नफर्कुन्जेल आफ्नो जिम्मेवारी पूरा भएको जस्तै लाग्दैन।'
आफ्नो ग्राहकप्रतिको यस्तै भावनाले होला, कतिपय यात्रुले तीर्थबाट फर्केर प्रसाद ल्याइदिन्छन् उनलाई।
उनलाई लाग्छ, त्यही प्रसाद नै उनले कमाएको सम्पत्ति हो।
तीर्थारुका साथी, सारथी र पथ प्रदर्शक बनेर चार दशक बिताएका मुनालाई सबभन्दा ठूलो खुसी मिलेको क्षण अर्कै छ।
'आमालाई बद्रीनाथ पुर्याएपछि सबभन्दा सन्तोष लागेको थियो। त्यहीँ बुबाको नाममा ब्रह्मकपाली गरियो,' उनले सुनाए।
एक छोरीका बाबु मुनाले छोरी र श्रीमतीलाई भने दिल्ली, बनारस, अलाहाबाद घुमाएका छन्। विगत पाँच वर्षयता यात्रा कम गर्दै लगेका उनी यस पटकको दसैं छेक नयाँ टोली लिएर श्रीमतीसँगै हरिद्वार जाँदैछन्।
२०५२ देखि २०६२ सम्म देशको राजनीतिक अवस्था अस्थिर थियो। बन्द, हड्ताल र संघर्षका घटनाले मुनाले अँगालेको पेसा संकटमा पर्ने नै भयो।
यो एक दशकबाहेक जीवनमा उनले जे देखे, भोगे त्यसप्रति कुनै गुनासो गर्न चाहँदैनन्।
भन्छन्, 'जे चाहेको थिएँ, त्यही गरेँ। सकुञ्जेल गर्छु।'