रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीस्थित प्रस्तावित तिनाउ करिडोर आसपासको क्षेत्रमा रोटरी गार्डेन बनाइने भएको छ।
नगरपालिकाको संयोजनमा मंगलबार बसेको यस क्षेत्रका रोटरी क्लबहरूको संयुक्त बैठकले तिलोत्तमा वडा नं. १३ को नदी उकास क्षेत्रमा वृक्षरोपण गरी हरियालीसहितको रोटरी गार्डेन बनाउने गरी योजना अगाडि बढाइएको हो।
नदी उकास क्षेत्रमा अहिले विभिन्न बुट्यानसहितको झाडी रहे पनि त्यसलाई व्यवस्थित गर्दै खाली रहेको स्थानमा विभिन्न प्रजातिका बिरुवा लगाउने गरी योजना बनाइएको हो।
आफ्नो नगरलाई ग्रीन र क्लिन बनाउने अभियान सुरू गरेको तिलोत्तमा नगरपालिकाको योजना जस्तै रोटरीको पनि वृक्षरोपण गरी हरियाली बनाउने अभियान भएकोले यसलाई संयुक्त कार्यक्रमको रूपमा अगाडि बढाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
नदी उकास क्षेत्र भएकोले उक्त क्षेत्रमा अहिले खयर र सिसौको बुट्यान भए पनि हुर्कन सकेका छैनन्।
रोटरी गार्डेन बनाउने योजना बनेसँगै यसको व्यवस्थित गुरुयोजना तयार गरी माटो भरेरमात्रै बिरुवा लगाउनुपर्ने रोटरी इन्टरनेसनल डिष्ट्रिकका सल्लाहकार आरसी आचार्यले बताए।
रोटरी इन्टरनेसनल डिष्ट्रिकका एसिस्टेन्ट गभर्नर एजाज आलमले नजिकै बुट्यानसहितको सानो जंगलसमेत रहेकोले जंगली जनावरबाट जोगिने गरी तारबार गरेर मात्र वृक्षरोपण गर्नुपर्ने सुझाव दिए।
उनले बढ्दो सहरीकरणसँगै खुला र हरियाली क्षेत्रको अभाव भइरहेको अवस्थामा रोटरी गार्डेन बनाउने योजना अत्यन्त प्रशंसनीय रहेकोले यसलाई ढिलो नगरी अगाडि बढाउनुपर्ने बताए।
नगरपालिकाका प्रशासकीय प्रमुख कृष्णप्रसाद सापकोटाले सो क्षेत्रमा निलगाई, बँदेल, दुम्सीलगायतका जंगली जनावर रहेकोले उनीहरूको संरक्षण गर्दै रोटरी गार्डेन बनाउनुपर्ने बताए।
वडा नं. १३ का अध्यक्ष गणेश न्यौपानले रोटरी गार्डेन निर्माणको लागि प्रस्ताव गरिएको क्षेत्र नजिकै प्रस्तावित बसपार्क, अटो जोन र बधशाला स्थल समेत रहेकोले यो क्षेत्रलाई हरियाली बनाउनु अति आवश्यक रहेको बताए।
उनले सो क्षेत्रमा करिब १८ विघा क्षेत्रलाई हरियालीसहितको गार्डेन बनाउन सकिने बताए।
तिलोत्तमा नगरपालिकाले गत वर्षदेखि नै निजी, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाउने अभियान सुरू गरेको छ।
जसअनुसार गत वर्ष ५० हजार बिरुवा लगाइएकोमा ४० हजार बिरुवा हुर्काउन सकिएको नगरप्रमुख घिमिरेले जानकारी दिए।
यसवर्ष पनि नगरपालिकाले ५० हजार बिरुवा लगाउने जनाएको छ। सोही अनुरूप गत साउन १ गतेदेखि ७ गतेसम्मलाई वृक्षरोपण सप्ताह घोषणा गरी वृक्षरोपण गर्दै आएको छ।
६ गतेसम्म फलफूल र वनस्पतिजन्य गरी करिब १५ हजार बिरुवा रोप्नको लागि वितरण भइसकेको घिमिरेले जानकारी दिए।