राजधानीको बौद्धमा धावा वाङ्गेल मोक्तानले एउटा कारखाना खोलेका छन्। कारखानामा उनी तामाङ समूदायको लोकबाजा टुङ्ना बनाउँछन्।
केही दिनअघि हामीलाई उनले कारखानामै भेट्न बोलाए। बाहिरैबाट ट्याक-ट्याक, टुकटुक… आवाज आयो। धावा सानो काँटीले टुङ्नाको बुट्टा निकाल्दै थिए।
महिनामा उनी दुईवटासम्म टुङ्ना तयार गर्छन्। एउटा टुङ्ना १० हजारदेखि ३० हजार रुपैयाँसम्ममा बेच्छन्।
‘टुङ्नाबाटै मेरो जीविकोपार्जन भएको छ,’ उनले सेतोपाटीसँग भने।
उनी आफ्ना पुर्खासँग जोडिएको टुङ्ना बनाउनेमात्र होइन बजाउने पनि गर्छन्। झन्डै तीन दशकदेखि टुङ्ना बजाइरहेका धावाले सयौं तामाङ गीतमा त्यसको धुन भरिसकेका छन्।
धावा बच्चै थिए। टुङ्नाबारे उनलाई धेरै थाहा थिएन। घरमा बुवा र काकाले टुङ्ना बजाउँथे। धावा छेउमै बसेर सुन्थे। सुन्दै जाँदा उनलाई टुङ्नाको धुनले लोभ्यायो।
उनले बुवा र काकासँग आफूलाई पनि एउटा टुङ्ना बनाइदिन ढिपी कसे। नभन्दै धावाको लागि टुङ्ना तयार भयो।
दिउँसो स्कुल जान्थे, बिहान-साँझ टुङ्ना बजाउँथे। उनले त्यो टुङ्ना पाँच वर्षसम्म बजाए।
पछि धावा रामेछापबाट काठमाडौं आए। तर टुङ्ना बजाउन छाडेनन्। अहिले त उनलाई टुङ्नाले नै संसार घुमाइरहेको छ।
टुङ्ना बजाउनकै लागि उनी दक्षिण कोरिया, अष्ट्रेलिया र युरोपका केही देशहरू पुगिसकेका छन्।
केही दिनअघि उनी अष्ट्रेलियाको कार्यक्रम सकेर फर्किए।
धावासँग डम्फू र टुङ्ना छुट्दैन। जहाँ पुगे पनि उनी यी दुइटा बाजा सँगै लान्छन्।
कुनै कार्यक्रममा झुक्किएर पुग्दा धावालाई टुङ्ना बजाउन हुटहुटी हुन्छ।
‘अरूले प्रस्तुति दिइरहँदा म पनि आफ्नो टुङ्नालाई सम्झिन्छु,’ उनले भने।
धावा टुङ्ना बजाउने कला नयाँ पुस्तालाई सुम्पिन चाहन्छन्, बौद्धमै उनी टुङ्ना बजाउन सिकाउँछन्। तर नयाँ पुस्तामा टुङ्नाप्रति मोह छैन। धेरै जना सिक्न आउँदैनन्।
धावाको कान्छा छोराले भने टुङ्ना बजाउँछन्। उनी बाबुसँगै अष्ट्रेलिया गएका थिए।
‘म कुनै कार्यक्रममा जान भ्याइनँ भने छोरालाई पठाइदिन्छु,’ उनले भने।