मंगलबार रातिदेखि फेरि पानी पर्न सुरू भएपछि रौतहटवासी त्रसित छन्। असार अन्तिम साता बागमती र लालबकैया नदीमा आएको बाढीले पुर्याएको क्षति बिर्सन नपाउँदै फेरि वर्षा हुन थालेपछि जिल्लावासी चिन्तित बनेका हुन्।
असार अन्तिम सातामा आएको बाढीले हजारौं घरमा क्षति पुगेको थियो भने १६ जनाको ज्यान गएको थियो।
बाढीका कारण ध्वस्त भएका सडक सञ्जाल पुन: बाढीको चपेटामा परेको छ भने बाढी पीडितहरूको बिजोग भएको छ।
कतिपय स्थानमा जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित करिब आधा दर्जन जिल्लाका दर्जनौं गाउ बाढीको जोखिममा परेका छन्।
बाढीका कारण जिल्लाका विभिन्न ११ स्थानका तटबन्ध भत्किएको कारणले करिब ७० हजार घर प्रभावित भएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाको कार्यालयले जनाएको छ।
तटबन्ध मर्मत गर्न नपाउँदै फेरि बाढी आउन सुरू गरेकोले जिल्लावासी चिन्तित छन्।
पछिल्लोपटक जिल्लाका विभिन्न स्थानीय तहले नदीबाट बालुवा, गिटी झिक्न ठेक्का लगाएका थिए। स्थानीय तहबाट ठेक्का पाएका कम्पनीले नदीमा जथाभावी मेसिन प्रयोग गरेर उत्खनन गरेका कारण बाढीले तटबन्धमा क्षति पुर्याएको छ। वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार हुन नसक्दा बाढी बस्तीमा पसेको गौरका स्थानीय राजनीतिकर्मी रेवन्त झाले बताए।
वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुँदा र वातावरणीय मूल्यांकनको हेक्कै नराखी जथाभावी नदी दोहन हुँदा बाढी बस्तीमा पसेको स्थानीय झाले बताए। जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा एक सय मिटर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीनजिक करिब ६० मिटर तटबन्ध भत्काएपछि जोखिम निकै बढेको छ।
गढीमाई, माधवनारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकाका हजारौं नागरिक तटबन्ध मर्मत नहुँदा बाढीको जोखिममा रहेको दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुणकुमार साहले बताए।
बाढीले लालबकैया नदीको कटहरियामा २ सय ५५ मिटर, देवाहीमा एक सय ३५ मिटर, बुनियादमा ३३ मिटर, लक्ष्मीनियामा ४० मिटर, करुनियामा ४५ मिटर, राजपुरमा ५५ मिटर र लग्मिपुरमा ४५ मिटर बाध भत्काएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवले बताए।
बाढीले भत्काएको र नदीले कटान गरेको ठाउँमा मर्मत सम्भारको काम भइरहेको उनले जानकारी दिए।
बाढीले बगाएको बाध मर्मत गर्न सरकार र भारतीय पक्षसँग कुरा गरिरहेको उनले बताए। ती नदीमा भारतीय सहयोगमै तटबन्ध निर्माण गरिएको हो। आयोजना प्रमुख श्रीवास्तवले भारतीय पक्षले केही स्थानमा मर्मतका लागि सहमति जनाएको तर अन्य स्थानका जनतालाई पनि जोखिमपूर्ण अवस्थाबाट बचाउन केन्द्र सरकारले भारत सरकारसँग अविलम्ब कुरा गर्नुपर्ने बताए ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढीबाट लालबकैया र बाग्मती नदीमा भत्किएका संरचना निर्माण गर्न नदी नियन्त्रण आयोजनाका कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताए। बाग्मती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरीलगायतका स्थानमा कटान गरिरहेको छ।
लालबकैयाको कटानले देवाही, करुनिया, जिगडवा बेलबिछवा, बैरिया बलुवा र बन्जरहा बस्ती जोखिममा छन्।
नदीले तटबन्ध कटान गरी बस्तीमा बाढी पसेर बगाउन थालेपछि नेपाल सरकारले उक्त वडाहरूलाई सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण त्रासमा बाध्य भएको देवाहीका विनोद पटेलले बताए।