केही साताअघि विषादीयुक्त तरकारीबारे बहस चर्कियो। लगत्तै अविरल वर्षाले तरकारी सखाप पार्यो। मूल्य झन्डै दोब्बर भयो, जुन अहिलेसम्म कम भएको छैन।
टमाटरकै उदाहरण लिउँ। किलोको सय रूपैयाँ। तरकारी किन्ने र पकाउनेहरू धेरैलाई यो मूल्य थाहा छ।
रत्नराज्य क्याम्पस, स्नातक तहमा अंग्रेजी प्राध्यापक विजया लेखकलाई भने यसको कुनै जानकारी छैन। उनको भान्सामा नपाक्ने भएर होइन, किन्नै नपरेर।
झट्ट सुन्दा अचम्म लाग्छ। कसरी?
यो जिज्ञासाको जवाफ विजयाको अनामनगरस्थित घरको कौसीमा मेटिन्छ।
उनको घरको तेस्रो तलाको कौसीमा हरियाली छ। सिमेन्टको रेलिङदेखि गमला र प्लास्टिकका भाँडामा समेत हुर्केका तरकारीका बोट लोभलाग्दा छन्। घिरौंला, बोडी, सिमीका लहरा। मकैमा घोघा लागेका। टुसुकटुसुक टमाटर र भेडे खुर्सानी फलेका। विभिन्न जातका साग हलक्क बढेका।
'मेरो भान्सामा पाक्ने तरकारी यिनै हुन्,' सागका टुप्पा भाँच्दै विजयाले भनिन्।
सहरी महिलालाई झैं विजयालाई पनि फुर्सद छैन। प्राध्यापन पेशामा मनग्गे समय छुट्टयाउनुपर्छ। तै उनले आफ्नो जीवनका अध्याय अध्ययन-अध्यापनको भागदौडमा सीमित गरेकी छैनन्।
उनी गृहिणी पनि हुन्। कौसी खेती गर्ने कृषक पनि। उनको जाँगरले कौसी हराभरा बनेको छ, परिवारले ताजा र स्वस्थ तरकारीको स्वाद चाखिरहेको छ।
सहरको मध्यभागको घरमा तरकारी फलाएर खान पाउनु सहज त छैन। तै गाह्रै पनि नहुने विजया बताउँछिन्।
काठमाडौंमा पानी अभाव नयाँ कुरा होइन। अचेल खेतीयोग्य जमिन र उर्वर माटो पनि दुर्लभै भइसक्यो। यस्तो अवस्थामा विजयाको कौसी बाह्रैमास कसरी हरियो देखिन्छ? कसरी उनी बजारका तरकारीमा भर नपरी आफ्नो भान्सामा स्वाद भर्छिन्?
हरियाली र प्राकृतिक सौन्दर्य भनेपछि हुरुक्कै हुने विजयाले कौसी र बरण्डा भरपुर उपयोग गरेकी छन्। तला थप्नुअघिसम्म विजयाले माछाका क्रेट, बट्टा, गमला, बाटा, ड्रम लगायतमा तरकारी फलाउँथिन्।
०७० सालमा माथिल्लो तला थपेपछि खेती गर्नै भनेर छतको तीनतिर पर्खाल उठाएर कुलोजस्तो बनाइन्। त्यसमा पोषिलो माटो राखेर कागतीका बोटदेखि मकैसम्म उमारिन्। उनले गमलामै अनार पनि फलाएकी छन्। सानो ठाउँमा हुर्किने सबैजसो तरकारी-फलफूल उनले जुटाउन थालेकी छन्।
'आफ्नो घरको कौसीमा सकिन्छ र मिल्छ भने यस्तै ठाउँ बनाउँदा हुन्छ। यो सजिलो र गहिरो हुनाले अग्ला हुने बोटका लागि पनि उपयुक्त हुन्छ,' मकैका बोट देखाउँदै उनले भनिन्।
घरमै बनाएका गमला, बाटा, ड्रम वा अन्य भाँडामा भने पानी जाने प्वाल अनिवार्य राख्नुपर्ने उनको सुझाव छ। प्वाल नभएका भाँडाको पिँधमा पानी जमेर बिरूवाको जरा कुहिन सक्ने सम्भावना हुन्छ।
माटो खोज्दै विजया घर वरपरदेखि खोला छेउछाउसम्म चहारेकी छन्। उपयुक्त माटो खोजेर ल्याउँछिन् र प्रांगारिक मलसँग मिसाएर प्रयोग गर्छिन्।
'ढुंगा-कंक्रिट नमिसिएको माटो उपयुक्त हुन्छ। मलको मात्रा मिलाउने र बाली फेरेर लगाउने हो भने सामान्य माटोले पनि दस-बाह्र वर्ष ढुक्कसँग तरकारी बाली लगाउन सकिन्छ,' उनले बताइन्।
जहाँ पायो त्यहीँको माटो सबै तरकारीका लागि राम्रो नहुने बताउँदै उनी थप्छिन्, 'कौसी खेतीमा रूचि हुनेले नर्सरी र कृषि-बोटबिरूवा प्रदर्शनीबाट पनि माटो, मल, गड्यौंला र आवश्यक सीप व्यवस्था गर्न सक्छन्।'
विजयाका अनुसार चार-चार महिनामा बाली फेरेर लगाउँदा राम्रो हुन्छ। यसो गर्दा तरकारीमा रोग लाग्ने समस्या कम हुन्छ। बर्खाको पानी बिरूवाको निम्ति पोषणयुक्त हुन्छ भनेर उनी संकलन गर्छिन्।
'एक त पानीको समस्या पनि टर्यो, अर्को पोषण पनि मिल्यो,' उनी सुनाउँछिन्।
यति मात्र कहाँ हो र, बिरूवामा हालेर तैरिएको पानीसमेत संकलन गरी पुनः प्रयोग गर्छिन्। भन्छिन्, 'माटो छिचोलेर बगेको पानीमा मलसमेत बगेको हुन्छ। त्यस्तो पानी पुनः प्रयोग गर्नु राम्रो।'
बोटबिरूवामा रोग-कीरा लागे सरफ पानी प्रयोग गर्छिन्। लुगा धुने अलिकति सरफमा पानी हालेर बनाइएको घोल बिरूवामा छर्दा कीरा कम भएर जाने उनको अनुभव छ।
यसरी रोपिएका बोटमा फलेको पहिलो फल विजयाका लागि विशेष हुन्छ। बोटको पहिलो फल उनी बीउ राख्न छुट्याउँछिन्।
'धेरै ठाउँबाट बीउ जम्मा पारेर रोपेको हुन्छु। हावापानी नमिले मासिने डर हुन्छ,' उनले भनिन्।
जसरी तरकारीको भाउ आकासिँदा विजयालाई खासै फरक पर्दैन, त्यसरी नै घरको फोहोर नउठ्दा पनि खास असर पर्दैन। एक दिन फोहोर नउठ्दा चोकको के कुरा, घरकै डस्टबिन र कुनो फोहोरले गन्हाउन थाल्छ। उनको घरमा एक महिनासम्म पनि कुहिने फोहोर थुप्रिँदैन।
त्यो सबैलाई मलखादका रूपमा आफैं व्यवस्थापन गर्ने उनी बताउँछिन्।
'कुहिने वस्तु थुपारेर राखे गन्हाउँछ, कम्पोष्ट मल बनाए बिरूवालाई हुन्छ। पुनः प्रयोग गर्न नमिल्ने शिशा, फलामजस्ता ठोस वस्तु मात्रै फोहोरमा पठाउँछौं,' उनले भनिन्।
विजया तरकारी बजारै नजाने भने होइनन्। अरूले तरकारी ल्याउँदा उनी तरकारीका बोक्राजन्य कुहिने वस्तु लिएर फर्कन्छिन्। कौसी खेती सुरू गरेदेखि आफ्नो मात्र होइन, वल्लोपल्लो कोठामा बस्नेका फोहोर व्यवस्थापन जिम्मा पनि उनकै भएको छ।
कौसी खेतीमा एकपटक रोपेर दिनमा एक-डेढ घन्टा समय दिने हो भने झन्डै दुई महिना तरकारी जोहो हुने उनी बताउँछिन्। परिवारका अरू सदस्यले पनि बराबर सहयोग गरे खेतीसँगै रमाइलो र सद्भाव बढ्ने उनको अनुभव छ।
विजयाका अनुसार श्रीमान हरिप्रसाद अवस्थीले उनलाई काममा सघाउँछन्। 'मन र ठाउँ हुँदा गर्न नसकिने भन्ने छैन,' उनले भनिन्, 'आजभोलि मान्छे बढ्दो सहरीकरणको चपेटामा छन्। किनेरै खाँदा ठूलो भइने सोच छ।'
उनी आफैंले यो भोगेकी छन्। आफू कौसीमा लहराएका तरकारी र बिरूवासँग पुलकित भइरहँदा छिमेकी मुख खुम्च्याउँछन्। खिसिट्युरी गर्छन्।
विजयाले बाथले थलिएका खुट्टा खोच्याउँदा 'ऊ त्यही होला अर्ग्यानिक तरकारी खाएर तन्दुरुस्त भएको' भन्दै गिज्याउने पनि छन्।
'गाउँमा त माटो छोइएन, सहरमा केको खाँचो' भन्नेहरू धेरै भेटेकी छन् उनले। यही चेतना स्तरका कारण विषादीयुक्त तरकारीको जगजगी बढेको उनी बताउँछिन्।