‘आमा वृद्धभत्ता लिनुस्, त्यही पैसाले फी तिर्नुस्!’
शान्ति चौधरीलाई सहपाठीले बेलाबेला यसरी नै जिस्क्याउँछन्।
६४ वर्षीया चौधरी बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजकी विद्यार्थी हुन्। एलएलबी दोस्रो वर्षमा पढ्दै छिन्।
दैनिक कक्षा सकेपछि उनका साथीहरू घर जान हतार गर्छन्। उनी भने पुस्तकालय जान्छिन्। किताब खोजेर पढ्ने बानी परिसकेको छ।
उसै पनि हतार गरेर गइहाल्नुपर्ने उनको घर छैन। संस्थाको होस्टलमा बसेकी छन्। बस्ने ठाउँमा उनको फिक्री गर्ने कोही छैन। उनलाई एक्लो हुन नदिने उनका आफ्नै सपनाहरू छन्। त्यसैमध्ये एउटा हो, वकिल बन्ने र अन्यायमा परेकालाई न्याय दिलाउने।
गत वर्ष उनी ल कलेज खोज्दै चक्रवर्ती क्याम्पस पुगेकी थिइन्। उनीसँग भर्ना गर्न चाहिनेजति पैसा थिएन। यो उमेरमा पनि पढाइप्रति उनको अनुराग देखेर क्याम्पस प्रमुख लक्ष्मण उपाध्यायले २० हजार रुपैयाँ सहयोग गरे। उनलाई त्यही लाख बराबर भयो।
‘सुरूमा क्याम्पस जाँदा यो उमेरमा किन पढ्न आएको भन्नेहरू पनि थिए,’ उनले भनिन्, ‘क्याम्पस प्रमुखले भने २० हजार दिन्छु, राम्रोसँग पढ्नू भन्नुभयो।’
क्याम्पस प्रमुखको सहयोगले उनको पढ्ने रहरलाई हौसला मिलेको थियो। अहिले फेरि दोस्रो वर्षमा भर्ना गर्न र मासिक शुल्क बुझाउन पाएकी छैनन्। भर्ना गर्न ७५ हजार र मासिक चार हजार रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ।
‘पैसा खोज्दै छु। केही दिन पर्खनुस् भनेर निवेदन दिएकी छु,’ उनले भनिन्।
गत वर्षभरि पढ्न उनलाई अहिलेजस्तो पैसा खाँचो परेको थिएन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक लाख रुपैयाँ छात्रवृत्ति दिएको थियो।
उनी पहिले नेपाल ल क्याम्पस गएकी थिइन्। तीनवर्षे एलएलबी गर्न स्नातक तह पास गर्नुपर्ने रहेछ। प्रवेश परीक्षा पनि पास गर्नुपर्ने। दुवै विकल्प उनका लागि सजिला थिएनन्, तर पढ्नु त जसरी पनि थियो। उता नसकेपछि चक्रवर्ती कलेजमा उनले प्रवेश परीक्षा दिइन्। राम्रो अंक ल्याएर नाम निकालिन्। शुल्क भने महँगो, तिर्न उनलाई हम्मे छ।
भर्ना र मासिक शुल्कका लागि उनले पैसा जुटाउन नसक्दाको हैरानी देखेरै सहपाठीहरूले 'वृद्धभत्ता बुझेर क्याम्पसलाई शुल्क तिर्नुस्' भन्दै जिस्क्याएका हुन्।
‘सँगै पढ्ने साथीहरू ठट्टा गर्छन् - वृद्धभत्ता बुझेर भर्ना गर्छु भन्नुस् न क्याम्पसलाई,’चौधरीले भनिन्, ‘मसँग जेष्ठ नागरिकको परिचयपत्र छ, यसले गाडीभाडा मात्र छुट पाइन्छ। वृद्धभत्ता लिन त ७० वर्ष पुग्नुपर्छ ! म ६४ मा हिँड्दै छु, ठट्टा गर्ने साथीलाई के थाहा?’
काठमाडौंमै जन्मेकी, त्यो जमानामा पढालेखा परिवार र जागिरे बाबुकी छोरी भएर पनि चौधरीले खुरुखुरु पढ्न पाइनन्। दिदी-दाजुले पढे। उनलाई भने बाआमाले छिट्टै बिहे गरिदिए। स्कुल जानुपर्ने उमेरमा पराइघर सम्हाल्नुपर्यो।
हुन त बाआमाले स्नातक गरेको पढालेखा केटा पाएकाले उनको बिहे गरिदिएका थिए। छोरीको रहर पनि हुन्छ भनेर सोच्ने जमाना थिएन। बिहेपछि मात्र उनले थाहा पाएकी थिइन्, पतिको पहिले पनि बिहे भैसकेको रहेछ। त्यसमाथि उनका पति जाँडरक्सीको कुलतमा रहेछन्।
बिहे गरेर उनी पतिले काम गर्ने ठाउँ जनकपुर गइन्। जनकपुर चुरोट कारखानामा उनका जेठाजु पनि काम गर्थे। जेठानी सँगै थिइन्। उनकी जेठानी सधैंभरि घुम्टोमा हुन्थिन्। घुम्टो हाल्नु, परायालाई नहेर्नुजस्ता सख्त नियम शान्तिलाई पनि बराबर लागू हुन्थे।
काठमाडौंको केही खुला समाजमा हुर्किएकी उनलाई भने आफ्नो डेराको बरन्डामा बसेर बाहिर हेर्न खुब रहर लाग्थ्यो। उनले फुर्सद हुँदा बरन्डाबाट बाहिर हेरी बस्न थालिन्।
उनका जेठाजु-जेठानीलाई त्यो कुरा निको लागेन। उनीहरूले 'चरित्रहीन केटी' भन्न थाले।
उनका दुई छोरा जन्मिए। तै परिवारले उनलाई 'चरित्रहीन' भन्न छाडेन। दुखेको मन बिसाउन कोही थिएन। उनले कविता लेख्न थालिन्। ती कविता पत्रिकामा छाप्न पठाउँथिन्।
परिवारले कोरिदिएको चौकठ नाघेर बाहिर पनि निस्किन थालेपछि त उनलाई बसिखानु भएन रे।
उनलाई परिवारले यति धेरै मानसिक यातना दिन थाल्यो, एकदिन उनी छोरालाई लिएर पोखरीमा फाल हाल्न निस्किएकी थिइन्। जाँदाजाँदै उनलाई आफ्नो मर्ने विचार राम्रो लागेन। आफूलाई अन्याय गर्नेको जिन्दगीमा आफ्नो मृत्युले कुनै फरक पर्दैन भन्ने सम्झेर उनी फर्किइन्। फर्केर घरमा हैन, सिडिओकोमा गइन्।
सिडिओले प्रहरी साथ लगाएर पतिको घर पठाइदियो।
केही समयमै उनका पतिको जागिर छुट्यो। फर्केर उनीहरू गाउँ गए। बारा जिल्लामा रहेको पतिको गाउँ झन् अविकसित थियो। अशिक्षित थियो।
त्यो गाउँमा उनले गरिबमाथि धनीको शासन देखिन्। धनीले गरिबलाई धेरै ब्याज मागेर ऋण दिन्थे। तिर्न नसके दास बनाउँथे। राम्री केटी उनीहरूकोमा सेवा गर्न जानुपर्थ्यो। कति गर्भवतीसमेत हुन्थे। उनले अफ्नै आँखाअगाडि धेरै थारू चेलीको दयनीय अवस्था देखिन्। कतिले त आत्महत्यासमेत गरे।
आफूले देखेको बोल्नुपर्ने स्वभावकी शान्तिलाई गाउँलेहरूको दुर्दशाले चुपचाप बस्न दिएन।
उनले गाउँका महिलाको हालत, चर्पी अभाव, गरिबीका कारण खोला-पोखरीमा खोजेर खानुपर्ने अवस्थाविरूद्ध आवाज उठाइन्। साहु-महाजनले खेत रोपेबापत् थोरै ज्याला दिने तर उनै गरिबलाई धान बेच्नुपर्यो भने चर्को मूल्य असुल्ने गरेको भन्दै कलैयाका सिडिओलाई रिपोर्ट पनि लेखिन्।
उनको समाजसेवी क्रियाकलाप गाउँका साहु-महाजनलाई सह्य थिएन। उनीहरूले चौधरीविरूद्ध षड्यन्त्र रचे। उनलाई कम्युनिस्टको आरोप लाग्यो, जबकि कम्युनिस्ट भन्ने कुन चराको नाम हो समेत उनलाई थाहा थिएन।
पञ्चायतको जगगजी थियो। राज्यले सर्वसाधारणको हैन, सामन्तीहरूकै कुरा पत्याउँथ्यो।
नभन्दै एकदिन २४ घन्टामा उपस्थित नभए पक्राउ गर्नू र सर्वश्व जफत गर्नू भन्ने उर्दी आयो।
‘मविरूद्ध गाउँका ठालुहरूले कम्युनिस्ट नक्सलाइटको रिपोर्ट दर्ता गरे। पहिले मेरो विरोध गर्नेहरू गाउँमा थोरै थिए, अब त राज्य नै लाग्यो,’ उनले सम्झिइन्, ‘सिडिओलाई आफ्ना कुरा राख्दिन सक्छे भनेर केही गाउँलेहरूले मलाई मान्न थालेका थिए। पछि त उनीहरू पनि मेरो पक्षमा बोल्न सकेनन्।’
पतिको परिवारले त झन् के साथ दिन्थ्यो।
‘घर र समाजबाटै साथ नपाएपछि म एक्ली भएँ। आफूलाई असुरक्षित ठानेँ,’ उनले भनिन्, ‘त्यसपछि छोरा बोकेर भाग्दै काठमाडौं माइती आएँ।’
काठमाडौंकै समाज पनि अहिलेजस्तो थिएन। घर गरी खान नसकेर माइत फर्केकी चेलीको इज्जत हुँदैनथ्यो। त्यस्ता माइतीलाई समेत बसिखान नहुने।
‘बाआमा र दाजुभाइले सधैं घर जाऊ भन्थे, म जाँदैनथेँ,’ उनले भनिन्, ‘मैले रोजेर बिहे गरेको हो र जानलाई? तिमीहरूले जबर्जस्ती बिहे गरिदिएको हो, म यहीँ बस्छु जान्न भनेर गइनँ।’
उनले पूर्वमहान्यायाधीवक्ता सर्वज्ञरत्न तुलाधरको अफिसमा काम पाइन्। त्यतिखेर पाँच सय रूपैयाँ तलब पाउँथिन्। छोरालाई स्कुल भर्ना गरिदिएकी थिइन्। उनका छोरा जाडो विदामा बाबुको घर जान्थे। स्कुल खुलेपछि फर्किन्थे। एउटा जाडो याममा उनी फर्किएनन्। शान्ति खोज्दै गइन्, बारामा छोरा थिएनन्। जनकपुर पठाइएछ।
उनी छोरा लिन जनकपुर पुगिन्। प्रहरीमा उजुरी दिइन्। जेठाजुले उल्टै प्रहरीलाई भने- 'यो मेरो भाइलाई छाडेर अरू छोरामान्छेसँग हिँड्छे, छोरालाई राम्रोसँग हेर्दिन।'
त्यतिखेर प्रहरीले छोरामान्छेको कुरा सुन्थ्यो, त्यही पत्याउँथ्यो। महिलाको आवाज राज्यले सुन्न थालेको धेरै समय भएको छैन।
आफूमाथि अन्याय हुँदा पनि न्याय माग्न नसकेको पीडाले उनलाई खाइरह्यो। कानुन नजान्दा सबथोक गुमाएको उनले महशुस गरिन्। जसरी पनि कानुन पढेर एकदिन गाउँ फर्कने अठोट लिएर उनी काठमाडौं आइन्।
‘मलाई जसरी पनि कानुन जान्नु थियो, म सर्वज्ञरत्न तुलाधरको ल फर्ममा काम गरेँ,’ उनले भनिन्, ‘थुप्रै अदालती काम सिकेँ। जीवनमा केही गर्न सकिन्छ भन्ने आडभरोसा पाएँ। त्यतिखेर पढ्न भने पाइनँ।’
केही समय उनले बालबच्चा हेरविचार गर्ने 'केयरटेकर' का रूपमा काम गरेकी थिइन्। ‘आफ्नो बच्चा सँगै राख्न नपाएर पोलेको मन ती बच्चा हेर्दा रमाउन थाल्यो। त्यसबाट मैले केही पारिश्रमिक पनि पाएँ,’ उनले भनिन्।
यो अनुभवले उनलाई एउटा संस्था खोल्ने प्रेरणा मिल्यो। २०४५ सालमा उनले सिर्जना विकास केन्द्र स्थापना गरिन्। तुलाधरको ल फर्ममा काम गर्दा भेटिएका पीडित महिलाहरूलाई सम्पर्क गरेर भेला पारिन्, अनि संस्था स्थापना गरिन्। दर्ता गर्न भने समस्या होलाजस्तो भयो।
पञ्चायतकालमा संस्था दर्ता गर्न प्रहरी रिपोर्ट चाहिन्थ्यो। प्रहरीले उनलाई कम्युनिस्ट नक्सलाइटको चार्ज लगाएको थियो।
एक वर्षपछि बहुदल आयो। उनले सय रुपैयाँ तिरेर संस्था दर्ता गरिन्।
त्यो संस्थाबाट चेलिबेटी बेचबिखनविरुद्ध अभियान चलाउने, हिंसामा परेका महिलालाई कानुनी परामर्श दिने, महिला साक्षरता, हस्तकलाजस्ता कार्यक्रम लिएर उनी धेरै ठाउँ पुगिन्। त्यति बेला पढ्ने रहरबारे उनले सोच्न पनि भ्याउन्न थिइन्।
संस्था चलाउँदा प्रशासनले बारम्बार दु:ख दिएपछि उनले संस्थाको काम चटक्कै छाड्नपर्यो। त्यसपछि फेरि सुरू भयो उनको नौलो यात्रा। २०५४ सालपछि उनले कविता, कथा, लेख र विभिन्न जीवनी लेख्न थालिन्। त्यसबाट पैसा आउँथ्यो। बिहान-बेलुका हातमुख जोर्न सजिलो हुन्थ्यो।
‘सुरूमा महिलाका विषयमा कलम चलाएँ,’ उनले भनिन्, ‘कसैले सहयोग गरेनन्। जब राजनीतिक नेताका बारेमा लेख्न थालेँ, पैसाको खाँचो भएन।’
उनले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा लगायतको जीवनीबारे लेख लेखिन्। यसबीच अंग्रेजी भाषा सिकिन्। अनुवाद गर्न थालिन्।
अहिलेसम्म ६५ वटा किताब लेखिसकेको उनी बताउँछिन्। र, पनि लेखकका रूपमा पहिचान पाइसकेकी छैनन्।
उनको नौ कक्षा पढ्दा बिहे भएको थियो। काठमाडौं आएर एसएलसी दिन सय रूपैयाँ लाग्थ्यो। त्यत्ति सय रूपैयाँ माग्दा पनि माइतीले भनेका थिए– 'बिहे भइसकेकी छोरीमान्छेले अब किन पढ्नुपर्यो?'
उनीहरूलाई जवाफ त उनको जिन्दगीले नै दिइसकेको छ।
२०३२ सालमा काठमाडौं आएका बेला उनले कसैगरी सय रूपैयाँ जुटाएर एसएलसीको फारम भरेकी थिइन्। परीक्षा दिएर पास पनि भएकी थिइन्।
वर्षौं वर्ष उनी जिन्दगीका तानाबानामा अल्झिनुपर्यो। माइती छुटे, पराई घर छुट्यो। आफूबाट टाढा भएको छोरासँग भने एकदिन भेट भयो।
त्यो बेला पनि पहिले छुटेको पढाई पूरा गर्ने धुनमा थिइन् उनी। कक्षा ११ मा पढ्न भनेर छोराले केही पैसा दिए। पैसा त ठूलो कुरा थिएन, त्यसले दिएको ऊर्जा भने गजब थियो।
तर जिन्दगीमा के हुन्छ के भर?
परीक्षा हलमै उनी बिरामी परिन्। जचाउन अस्पताल जाँदा पो थाहा भयो, उनलाई पाठेघर क्यान्सरले समातेको थियो।
उनलाई क्यान्सरले ग्रस्त बनाए पनि टाढिएका आफन्त नजिक आएनन्।
अप्रेसन गर्नुपर्ने भयो। अप्रेसन गर्नुअघि आफन्तले सहमति दिनुपर्थ्यो। सहमतिको कागजमा हस्ताक्षर गरिदिने पनि कोही भएन। काठमाडौंमा उनका आफन्त अझै छन्, तर साथमा छैनन्। छोरा पनि अहिले यतै छन्, तर साथमा छैनन्।
सारा जिन्दगी एक्लै लडेकी उनी कहिल्यै विचलित भइनन्। त्यो दिन सम्झिँदा भने अहिले पनि उनको गलाबाट आवाज माथि आउन मान्दैन। कतै छातीमा गाँठो पर्छ।
‘नाता पर्ने एउटी बहिनी खोजेर ल्याएँ। उनले हस्ताक्षर गरिदिइन्, अनि मात्रै डाक्टरले अप्रेसन सुरू गरेँ,’ उनले भनिन्।
क्यान्सर पूर्ण रूपमा निको नभएकाले उनी काठमाडौं छाडेर अन्यत्र गएकी छैनन्। क्याम्पस जाने-आउने र बेलाबखत अस्पताल जाने गर्छिन्। क्यान्सर जितेर फर्किएपछि वकिल बन्ने सपना देखेकी छन्।
सपना त निकै महँगो पो पर्छ!
उनी कसरी सम्झाउन्, आफ्ना कलेजका चुलबुले साथीहरूलाई- वृद्धभत्ताले सपनाको शुल्क तिर्न पुग्दैन।