'प्रचण्डकी नातिनी भन्दा मलाई नराम्रो लाग्दैन। मेरो आफ्नो र हजुरबुवाबाट पाएको दुवै परिचय मलाई प्यारो छ,' स्मिता दाहालले भनिन्।
गायिका स्मिताको केही महिनाअघि मात्र 'जालमा' गीत सार्वजनिक भएको छ। गीतले राम्रो प्रतिकृया पाइरहेको उनी बताउँछिन्।
उनी पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगाकी छोरी हुन्।
राजनीतिक परिवारकी स्मिताले सानैदेखि गायिका बन्ने सपना बुनेको बताउँछिन्। उनले बाल गीत पनि गाएकी छन्। अब आफूलाई यही पेसामा नाम स्थापित गर्ने धोको रहेको उनले बताइन्।
'मलाई गायनमै रूचि छ,' उनले भनिन्, 'राम्रै प्रतिक्रिया पनि पाएकी छु।'
स्मिता हाल बिबिए चौथो सेमेस्टरमा अध्ययनरत छिन्। उनी सानै छँदादेखि उनको पूरा परिवार जनयुद्धमा होमिएको थियो। हजुरबुवा प्रचण्डले नै जनयुद्धको कमान्ड सम्हालेका थिए। अहिलेका जस्तो आधुनिक संगीतसँग उनको परिवार नजिक थिएन। जनवादी गीत बढी गाउँथे र सुन्थे।
'तपाईंलाई जनवादी गीत गाउन मन लागेन' भन्ने जिज्ञासामा उनले भनिन्, 'समयअनुसार धारणाहरू परिवर्तन हुन्छन्। जनवादी गीत नै गाउनुपर्छ भन्ने सोचाइ अहिले मेरो परिवारको पनि छैन। मेरो रूचि पनि सानैदेखि जनवादी गीतभन्दा अरूमा भयो।'
उनलाई जनवादी गीत गाउने इच्छा भने छ।
कलिलैमा सुरू भएको गायनयात्रामा आफ्नो परिवारले भरपुर साथ दिएको उनी बताउँछिन्।
'आमाले भन्नुहुन्छ बोली फुटेदेखि नै म गीत गुनगुनाउँथे रे,' स्मिताले भनिन्, 'हजुरबुवाले पनि मेरो गीत सुनेर राम्रो छ भन्नुहुन्छ।'
स्मिता दार्जिलिङमा जन्मिएकी हुन्। उतै हुर्किन्। चार कक्षासम्म दार्जिलिङमै पढिन्। दार्जिलिङमा पढ्दा सरहरूले फुर्सदमा स्मितालाई गाउन लगाउँथे। उनी पनि फुरुङ्ग हुँदै गाइहाल्थिन्।
त्यसपछि उनी काठमाडौं आइन्। काठमाडौंमा उनको गायनयात्राले व्यवसायिक रूप लियो।
आमा गंगाले उनलाई संगीतकार सरोज ओलीकहाँ संगीत सिक्न पठाएकी थिइन्। स्मिताको आवाज परीक्षण भयो। सुन्नेबित्तिकै सरोज ओलीले एल्बम निकाल्ने कुरा गरे। त्यतिबेला आमाछोरी दुवै छक्क परेको उनी सुनाउँछिन्।
'त्योभन्दा अघि मैले कहिल्यै संगीत सिकेकै थिइनँ। सिक्न जाँदा पहिलोचोटिमै एल्बम निकाल्ने कुरा भयो,' उनले भनिन्।
एघार वर्षको उमेरमै उनले 'स्मिता' नामक पहिलो एल्बम निकालिन्। राम्रो प्रतिक्रिया पाइन्। त्यसले आफूलाई थप ऊर्जा दिएको उनी बताउँछिन्।
'म आज यहाँसम्म आइपुग्नुको कारण आमा नै हो,' उनी भन्छिन्, 'आमाले नै मलाई संगीतमा लाग्न हौसला दिनुभयो। म अलिकति मिहिनेत गर्न चुके पनि उहाँले 'पुस' गर्नुहुन्थ्यो।'
पछि 'स्मिता-२' र 'रागिनी' एल्बम पनि निकालिन्।
संगीतसँगै स्मिता पढाइमा ध्यान दिइरहेको बताउँछिन्। अहिले उनको सेमेस्टर ब्रेक छ। यहीँ मौकामा गीत निकालेको उनले बताइन्।
उनी संगीतलाई नै मुख्य पेसा बनाउने योजनामा छिन्। अहिले संगीत क्षेत्रमा करिअर राम्रो हुँदै गएको उनको बुझाइ छ।
'म यही क्षेत्रमा लागिरहने हो। जहिलेसम्म गलाले साथ दिन्छ, गीत गाउन छोड्दिनँ,' उनले भनिन्।
राजनीतिक परिवारको भएकाले आफूलाई राजनीतिमा पनि अलिअलि रूचि भएको उनी बताउँछिन्। तर राजनीतिमै लाग्ने सोच भने बनाइसकेकी छैनन्।
'भविष्यमा के हुन्छ, त्यो म अहिले भन्न सक्दिनँ। मेरो रूचि हेर्दा सम्भावना पनि छ,' उनले भनिन्।
स्मिता आफ्ना हजुरबुवा प्रचण्डको घर नजिकै खुमलटारमै बस्छिन्। पारिवारिक जमघट भइरहन्छ।
'डिनरमा सबैजना भेला हुन्छौं। रमाइलो गर्छौं। हजुरबुवा पनि कहिलेकाँही नाच्नुहुन्छ,' उनले भनिन्।
हजुरबुवाले कहिलेकाँही आफूलाई गाउन लगाउने गरेको उनी बताउँँछिन्। उनी आफ्नै गीत सुनाइदिन्छिन्। हरेक भेटमा हजुरबुवाले आफूलाई संगीतमै अघि बढ्न सुझाउने गरेको उनले बताइन्।
'सबैको सपोर्ट छ। अब यो त सुरूआती सयम हो। अझै धेरै गर्न बाँकी छ,' उनले भनिन्।