श्यामलाल कक्षपतिले सन् १९९७ मा बानेश्वरमा 'द बेकरी क्याफे' खोल्दा श्रवण शक्ति नभएका (कान नसुन्ने)हरूलाई कामदार राखे।
कक्षपतिले किन सुन्न नसक्नेलाई नै काम दिए भन्दै विभिन्न अड्कल काटिन थाल्यो। कक्षपतिको परिवारमा कोही त्यस्ता व्यक्ति हुन सक्ने अनुमान पनि गरियो।
वास्तविकता अर्कै थियो।
सच्चा, बफादार र मिहेनती कामदार खोजी गर्दा आफूले श्रवण शक्ति नभएका व्यक्तिहरू भेट्टाएको कक्षपतिको भनाइ छ।
बेकरी क्याफे सञ्चालनमा ल्याउनुअघि कक्षपति फुड फेस्टिभल र सांगीतिक कार्यक्रमहरू व्यवस्थापन गर्थे।
त्यस्ता कार्यक्रम गर्दा उनलाई प्रायः घाटै भयो। हल भरिभराउ तर टिकट भने आधा मात्रै बिक्री हुने उनी बताउँछन्।
कसरी?
गेटमा जाँच गर्ने स्वयंसेवक र गार्डको लापरबाहीले समस्या सिर्जिएको उनी बताउँछन्। कतिले आफैं स्वयंसेवक भएको बताएर पनि छिर्ने रहेछन्।
'यसको समाधान कसरी गर्ने भनेर सोचेँ। केहीसँग सल्लाह-सुझाव लिँदा एक जना सहकर्मीले सुन्न नसक्नेलाई राख्यो भने त्यस्ता समस्या आउँदैन, उनीहरू कामको पक्का हुन्छन् भनिदिए,' उनले भने।
त्यही सल्लाहका आधारमा उनले बहिरा संघमा गएर गार्डका लागि केही जनशक्ति चाहिएको सूचना दिए। केहीलाई तत्कालै काममा राखे।
त्यसपछि कक्षपतिका कार्यक्रम राम्ररी चल्न थाल्यो। टिकट पनि बिक्री हुन थाल्यो, हाउसफुल। त्यसले उनमा श्रवण शक्ति नभएका व्यक्तिहरूप्रति झनै सम्मान र विश्वास बढायो।
बेकरी क्याफे सुरूआत गर्दा श्रवण शक्ति कमजोर भएकाहरू १२ जनालाई रोजगारी दिइएको थियो।
कक्षपतिका अनुसार कान नसुन्नेलाई रेस्टुरेन्टमा राख्दा एक किसिमको डर थियो। ग्राहकहरूसँग सम्पर्कमा समस्या होला भन्ने र व्यापार घाटामा जाला भन्ने चिन्ता थियो।
'ग्राहकले हेप्लान्, संकुचित भावना राख्लान्, भेदभाव गर्लान् भन्ने पनि पीर थियो। तर, त्यस्तो केही समस्या आएन। बरु, ग्राहकबाट राम्रो प्रतिक्रिया पाउन थाले,' कक्षपतिले भने, 'कति धेरैले उनीहरूको काम मन पराए, झनै हौसला दिए।'
त्यसपछि भने कक्षपतिले कान नसुन्ने कामदारकै संख्या बढाउने निर्णय लिँदै गए।
अहिले क्याफेका विभिन्न ठाउँमा दर्जन हाराहारी शाखा छन्। तिनमा काम गर्नेको संख्या ८० पुगिसकेको छ।
तर यो यात्रा कक्षपतिलाई सहज भने थिएन। सुरूमा सुन्न नसक्नेहरूको भाषा बुझ्न कठिन पर्यो। त्यो सल्टाउन कक्षपतिले 'भाषा अनुवादक' राखे।
'दुई वर्षसम्म अनुवादकलाई तलब दिएर मैले उनीहरूसँग बोल्न सिकेँ। हामीले उनीहरूको भाषा बुझ्न थाल्यौं र कुरा फर्काउन पनि जान्यौं,' कक्षपतिले भने।
कतिपय सांकेतिक भाषा नआउने पनि हुन्थे। त्यसैले, सांकेतिक भाषा आउने र केही हदसम्म पढे-लेखेको हुनपर्ने प्रावधान बनाए।
उनले रेस्टुरेन्टका क्यासियर, म्यानेजर, वेटर लगायत कर्मचारीलाई पनि सांकेतिक भाषा सिकाएको बताए।
आजभोलि त्यहाँका कर्मचारीहरू सबैजसोले सांकेतिक भाषा बुझ्छन् र फर्काउँछन्।
श्रवण शक्ति नभएकाले काम गरेको देख्दा कतिपय अचम्म मान्छन्। त्यसैक कारण पनि ग्राहकहरू धेरै आएको कक्षपति बताउँछन्।
'ग्राहक उनीहरूले केही गफ गरिरहेको देख्दा पनि रमाउने गरेका छन्,' कक्षपतिले भने।
बेकरी क्याफेमा अर्डर लिँदा मेनुमा औंल्याइदिए पुग्छ। केही बोल्न परिहाले ग्राहकले इसारा गर्दा टेबलमा आइपुग्छन्।
सांकेतिक भाषा आफैंमा रमाइलो भएको कक्षपति बताउँछन्। कक्षपतिले सांकेतिक भाषा प्रयोग गरेर देखाउँदै भने, 'मःम भन्न गोलोगोलो गरेर देखाउँछन्। चिकेन मःम देखाउन हातलाई कुखुरा मानेर देखाउँछन्।'
अझ बफ मःम देखाउने तरिका रमाइलो भएको कक्षपति बताउँछन्।
'हात टाउकोमा राखेर सिङ बनाई फेरि गोलोगोलो गरेपछि बफ म:मको संकेत बुझिन्छ,' उनले भने।
यसरी इसारा गर्दा पनि ग्राहक रमाउने गरेको कक्षपतिको भनाइ छ।
उनले एक दिन आफ्नो रेस्टुरेन्टमा ६ जना महिलाको समूहले सांकेतिक भाषा प्रयोग गर्दाको अनुभव सुनाए।
कक्षपतिले बुझ्न सकेनन्।
उनले ठाने, कि यिनीहरू पनि कान नसुन्ने नै हुन्।
त्यो क्रियाकलापले उनलाई अचम्मित पार्यो। सहन नसकेर उनले ग्राहकसामु गए र सांकेतिक भाषा प्रयोग गर्दै सोधे, 'के तपाईंहरू पनि सुन्न नसक्ने हो?'
उनीहरूले हाँसेर मुखैले जवाफ फर्काए ,'हा हा... होइन।'
फेरि उनले सोधे, 'किन त्यसरी बोल्नु भएको त?'
उनीहरूले भने, 'अरुले बुझ्लान् भनेर हामीले सांकेतिक भाषा प्रयोग गरेको हो । यसरी बोलेपछि अरुले बुझ्दैनन्। हामीलाई कुनै अप्ठ्यारो हुन्न, त्यसैले।'
कक्षपतिसँग यस्ता थुप्रै किस्सा छन्।
अपांगता भएका व्यक्तिहरू आफ्नो शारीरिक अप्ठ्यारासँगै आवश्यकताअनुसार सुविधाबाट बञ्चित छन्। सुविधा मात्रै नभई उनीहरूले आफ्नो शारीरिक क्षमताअनुसारको काम समेत गर्न पाएका छैनन्।
कान नसुन्नेहरूको समस्या पनि यही हो। कामका लागि भौंतारिन्छन्। पाए पनि भाषागत समस्याले मजदुरी गर्न बाध्य हुन्छन्।
तर, रेस्टुरेन्टले एक किसिमको वातावरण दिएको छ, बिना भेदभाव। यहाँ कामसँग मात्र सरोकार छ। सुविधा पनि अन्यत्रजस्तै छ।
कक्षपति यस्ता व्यक्तिहरूलाई काम नगरी यत्तिकै पैसा मात्रै दिँदा हेलाको दृष्टिकोण बढ्ने बताउँछन्।
'त्यस्तो पैसाको कुनै अर्थ हुन्न। तर, मिहेनत गरेर कमाएको पैसाको महत्व भिन्नै हुन्छ,' कक्षपति भन्छन्।
कान नसुन्नेहरू व्यावहारिक जीवनमा सुन्नेहरूभन्दा अब्बल रहेको कक्षपतिको बुझाइ छ।
'उनीहरू आफ्नो पैसा बचत गर्न लालायित हुन्छन्। अन्य र उनीहरूमा फरक यही छ,' कक्षपतिले भने, 'कान नसुन्नेहरू काम पनि छिटो गर्छन्। कामसँग मात्रै सरोकार राख्छन्।'
कसैले इसारा गरे तुरुन्त अगाडि पुग्छन्।
कक्षपतिले भने, 'पहिला हामीले ट्याब्लेटबाट अर्डर लिने गर्दा अरुले भन्दा चाँडो सिकेका थिए।'
उनीहरू चाँडो सिक्ने र सिकेका कुरा कहिल्यै नबिर्सिने गरेको कक्षपति बताउँछन्। बेकरीमा काम गर्ने अधिकांश कर्मचारी सुरूआतदेखिकै छन्।कसैलाई नराम्रो काम वा व्यवहारका कारण निकाल्नु नपरेको उनको भनाइ छ।
उनीहरूले प्राय: वेटरको काम गरिरहेका छन्। कति बारटेन्डर पनि भए। कतिले बरिस्ताबाट कफी बनाउने सिके।
जावलाखेलस्थित 'द बेकरी क्याफे'मा चार जना कान नसुन्ने कर्मचारी छन्। तीमध्ये एक जना साधना जोशी हुन्। यहाँ काम गर्नुअघि उनी स्टेस्नरीमा किताब मिलाउने काम गर्थिन्। आर्थिक अभावले आफ्नो पढाइ राम्ररी पूरा गर्न नसकेकी साधनाले स्टेस्नरीमा एक वर्ष काम गरेर छाडिन्।
पछि बानेश्वरको रेस्टुरेन्टमा काम गर्न थालिन्। उनले त्यहीँ काम गर्ने साथीसँग बिहे गरिन्। उनका श्रीमान् रामेश्वर वैद्य पनि सुन्न सक्दैनन्। उनी भाटभटेनीको बेकरीमा काम गरिरहेका छन्।
साधनाले सांकेतिक भाषामा भनिन्, 'यहाँ काम गर्नुअघि मलाई सांकेतिक भाषा आउँदैन थियो। काम गर्दागर्दै सिकेकी हुँ।' साधनाको भाषा जावलाखेल बेकरीका व्यवस्थापक अमिरकुमार श्रेष्ठले उद्धृत गरे। साधना खुसी देखिन्छिन्।
निर्देशक कक्षपतिले भने, 'कतिपयलाई आफ्नै आमाबुबाले धिक्कार्थे। घाँडो ठान्थे। तर काम गरेर खाएपछि सबै खुसी छन्।'
कान नसुन्नेको कामले खुसी भएका कक्षपति सरकारले उनीहरूलाई गरेको व्यवहारप्रति भने दुखी छन्। उनीहरूलाई राम्रो शिक्षा दिन सक्यो भने रेस्टुरेन्टमा मात्रै नभई अन्य स्थानमा पनि राम्ररी काम गर्ने उनको भनाइ छ।
कक्षपतिले आफ्नो रेस्टुरेन्ट नेपालमा खोल्दा 'द बेकरी क्याफे' नाम दिए। उनले त्यो नामलाई 'कपिराइट' दर्ता गर्न खोजेका थिए। तर, सरकारले नगरिदिएको बताउँछन्।
'रेस्टुरेन्ट बढ्दै गएपछि धेरैले नाम चोरेर बेकरी क्याफे राखे,' उनले भने, 'मैले जसरी नै कान नसुन्नेलाई काम दिएको भए धेरैले रोजगारी पाउँथे।'
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी