असार अन्तिम साता आएको बाढीले रौतहट जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत पर्ने विभिन्न सडकखण्ड अवरूद्ध भएको छ।
बडहवा टोलदेखि रौतहटका अन्तिम सीमाना अरुवा खोलासम्मको १९ किलोमिटरको बाटोमा ५ किलोमिटरभन्दा बढी बाढीले बगाउँदा सडक अवरूद्ध भएको हो।
बाढीले दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा बागमती नदीदेखि बौधी माई नगरपालिकाको अरुवा खोलासम्मको सडक बगाएर ठूल्ठूला खाल्डा बनेका छन्।
बाढीले सडकमा बनाइएको एलाइमेन्ट, ड्रेनेज, कल्भर्ट, एरिगेशन आउटलेटहरू पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
लाल बकैया नदीमा रहेको गण्डक सिँचाइ आयोजनाको फतुवा पुलदेखि पश्चिम बाँधसम्मको एक किलोमिटरमा सडक बगाएर तीन स्थानमा एक/एक सय मिटरको ठूलो खाल्डो बनेको छ।
त्यहाँ तार जालीबाट निर्माण गरिएको पर्खाल भत्किँदा बाटो पूर्ण रूपमा ठप्प भएको हुलाकी सडक आयोजनामा कार्यरत प्राविधिक दिपाकर ठाकुरले जानकारी दिए।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्ज पर्साका इञ्जिनियर श्याम नारायण मिश्राका अनुसार निर्माणाधीन अवस्थामै रहेको यो सडक रौतहटमा अत्यधिक क्षति भएको छ ।
बाढीले क्षति पुर्याएको सडक संरचना पुनर्निर्माण गर्न करिब साढे तीन करोड रकम खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको छ।
सडकको पुनर्निर्माण गर्न करिब दुई महिनाको समय लाग्ने मिश्रले बताए।
उनले बाढीपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साबाट प्राविधिक टोली रौतहटको विभिन्न स्थानमा भत्किएको सडक संरचनाहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्न खटाइएको जानकारी दिए।