लेखक महेश थापा कम्प्युटर स्क्रिनमा आँखा दौडाउँदै थिए। दाहिने हातका दुई औंलाले सुस्तरी 'माउस' सार्दै घरि सूचना-समाचार पढ्दै, घरि साथीहरूसँग 'च्याट' गर्दै।
त्यही बेला उनका आँखा मदन पुरस्कार गुठीले सार्वजनिक गरेको 'वर्षका उत्कृष्ट किताब'को सूचीमा पर्यो।
उनको मुहार चहकिलो भयो। ओठ थोरै खुले। खुसी उनको आँखामा पोखियो।
महेशको कथासंग्रह 'मरीचिका' मदन पुरस्कारका लागि मनोनयनमा परेको छ। यो वर्ष पुरस्कार सूचीमा उनको कथा संग्रहसहित 'फातसुङ', 'रणहार', 'ज्ञ', 'विचारको लाश', 'ओक्कल दोक्कल पिपल पात' र 'एकादेश'मा गरी सात किताब छन्।
नेपाली लेखकका निम्ति यो ठूलो खुसी हो। यही खुसी अहिले दिनकैजसो आउने बधाई र शुभकामनाले झनै बढाउँदै लगेको महेश बताउँछन्।
'पुरस्कार सूचीमा मरीचिका पर्छ भन्ने विश्वास थियो। राम्रा लेखकहरूले पनि प्रशंसा गर्नुभएकाले नै दर्ता गराएको थिएँ,' उनले भने।
मदन पुरस्कार गुठीमा प्राप्त २५७ किताबबाट छानिएका सात वटामध्ये महेशको किताब पनि एउटा हो।
उनको लेखनयात्रा सुरूआत र बाटो भने अरूको भन्दा धेरै फरक छ।
हेर्दा सग्ला छन् महेश, तर आफैं हिँडडुल गर्न सक्दैनन्। 'मोटरन्युरोन' रोगका कारण उनको शरीर प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सको जस्तै भएको छ। हकिन्सका दुई औंलाबाहेक अन्य अंग चल्थेनन्। आवाज पनि प्रविधिको सहयोगमा सयौं गुणा बढाएपछि मात्र सुन्न सकिन्थ्यो। महेशको अवस्था लगभग उस्तै।
महेशको दाहिने हातको माझी र साइँली औंलामात्रै चल्छन्। स्वर अस्पष्ट छ। निकै ध्यान दिए मात्र बुझिने।
हामीसँग कुराकानी गर्न परिवारले सजिलो हुनेगरी महेशलाई सोफामा राखिदिएका थिए। तै उनका गोडा लुगलुग काँपिरहे। धर्मराएको अस्पष्ट उनको बोली बुझ्न हामीलाई उनकी आमा शान्तादेवी र श्रीमती निशाले सहयोग गरे।
सर्लाही, हरिवनका महेश ४१ वर्ष पुगे। उनलाई लागेको रोगको कारण त विश्वकै चिकित्सा जगतले अनुसन्धान गरिरहेको विषय हो। महेश भने आफ्नो दुर्घटनापछि उपचारक्रममा गरिएको लापरबाहीलाई यस्तो स्थितिको कारक मान्छन्।
१६ वर्षअघिको कुरा हो। उनी पत्रकारिता गर्थे। तत्कालीन माओवादी द्वन्द्व शान्तिवार्तामा आउने तरखर गरिरहेको थियो। ०५९ सालमा महेश माओवादीको समाचार संकलन गर्न लालबन्दीबाट हरपूर्वा पुगे। राति फर्कर्ने क्रममा बाटाका खाल्डा देखेनन्, मोटरसाइकल नराम्रोसँग जाकियो। उनको हात भाँचियो।
लालबन्दीको एक क्लिनिकमा जँचाउन जाँदा चिकित्सकले भने, 'पाचँवटा टाँका लगाउनुपर्छ।'
त्यो बेला महेशकी श्रीमती निशा केही दिनकी सुत्केरी थिइन्। टाँका लगाएको थाहा पाउँदा अत्तालिन्छिन् भन्ने सोचेर महेशले पट्टी मात्रै लगाइदिन भने। पछि काठमाडौं आएर उपचार गराए।
'त्यो एउटा सामान्य दुर्घटना थियो। तर, त्यसको असर जिन्दगीभर रह्यो,' महेशले भने, 'भाँचिएको हात जोडियो तर राम्ररी सोझिएन। पछि अर्को हातको नसा पनि सुक्यो। विस्तारै स्वर पनि फेरिँदै गयो।'
काठमाडौं, शिक्षण अस्पतालमा जँचाएपछि न्युरोलोजिस्टले रोगबारे लेखिदिए– मोटरन्युरोन डिजिज (एमएनडी)।
सुरूमा 'एमएनडी' पढ्दा उनले नबुझेर उडाएछन्, 'एमएनस भए त हाम्रो परिवारको नामै हुनेरहेछ– महेश, निशा र शाश्वत।'
मजाक र हाँसो धेरै समय टिकेन। रोगको प्रकृतिबारे थाहा पाएपछि उनी छाँगाबाट खसेझैं भए।
मोटरन्युरोन रोग संसारकै जटिलमध्ये मानिन्छ। यसमा मस्तिष्कको 'मोटर' मा समस्या आएर कोषहरू मर्दै जान्छन्। र, त्यसले प्रवाह गर्ने सन्देश शरीरका नसासम्म पुग्दैनन्। मांसपेशी कमजोर भएर पक्षघात हुँदै जान्छ। बौद्धिकता र संवेदनशीलतामा भने कुनै असर हुँदैन।
यो रोग कसरी लाग्छ? औषधि के? निको हुन्छ कि हुँदैन? यसको ठ्याक्कै उत्तर चिकित्सा जगतमै नभएको महेश बताउँछन्।
जटिल रोग भएपछि अस्पताल बस्दाताका डाक्टर र मेडिकल विद्यार्थीका अध्ययन सामग्री जस्ता भएका थिए उनी। समूह–समूहमा आएर घेर्ने डाक्टरको भिड देख्दा छेउछाउका कुरुवाले पनि सोध्दा रहेछन्, 'तपाईं कुनै नेता-मन्त्रीको आफन्त हो? हाम्रो बिरामी हेर्न त भनेको बेला एक जना पनि आउँदैनन्।'
उनी चुपचाप नसुनेझैं गर्थे। उनको समस्या नै 'भिआइपी' बनेको अरूलाई के थाहा?
परीक्षण क्रम चलिरहन्थ्यो। बारम्बार डाक्टरहरूको 'यता हेर, उता हेर, बस, हिँड, उठ, जिब्रो निकाल' र हातखुट्टामा हतौडाको ठोकठाक। दिक्क लाग्दो! त्यस्तो अवस्थामा डाक्टरहरूले बिरामीभन्दा 'सामग्री'को रूपमा हेरेकोमा गुनासो गर्छन् महेश।
यसरी अनेक जाँचबुझपछि डाक्टरले निष्कर्ष निकाले- अब महेशसँग करिब पाँच वर्ष मात्र समय छ।
'उहाँ यतिका वर्ष बाँचिसक्नुभयो,' १६ वर्षअगाडि डाक्टरले भनेका कुरा सम्झिँदै श्रीमती निशाले भनिन्।
रोगले गाल्न थालेपछि महेशको पारिवारले सामाजिक-आर्थिक समस्या झेल्नुपर्यो। मानसिक पीडा त कतिकति। ती सबै भोगाइका विगतमा फर्किन चाहन्नन् निशा।
महेशले भने आफ्ना सबै भोगाइ समेटेर २०७० सालतिर किताबै लेखिदिए, 'अल्पविराम'। सुरूमा 'पूर्णविराम' नाम राख्न खोजेका रहेछन्। पाण्डुलिपी पढ्न दिएका साथीहरू सुझाएछन्, 'पूर्णविराम भन्ने शीर्षक नकारात्मक र निराशावादी छ। फेरेर अल्पविराम बनाऊ।'
'अल्पविराम' आत्मकथा हो। यसमा सबभन्दा बढी आउने नाम श्रीमती निशाकै हो।
उनीहरूको प्रेमविवाह भएको हो, त्यो पनि आकस्मिक। निशाको परिवारमा परम्परागत सोचाइ हावी भएकाले बिहेका लागि मञ्जुर थिएनन्।
दुई प्रेमपन्छी खुसुक्क भागेर एक गुँडमा सरेका थिए। मायाको संसार सजाउँदै थिए। छोरा शाश्वत जन्मेका चार महिनापछि 'मोटरन्युरोन' रोगले उनीहरूको खुसी संसारमा धावा बोल्यो।
महेश ती क्षण सम्झँदै भन्छन्, 'मलाई आफ्नोभन्दा पनि श्रीमती र छोराको भविष्यले बारम्बार सताउँथ्यो। परिवारको सहारा बन्नुपर्ने समयमा बिरामी भएको थिएँ।'
भागेर बिहे गरेकाले ससुरालीसँग महेशको सम्बन्ध राम्रो थिएन। ससुरालीलाई आफ्नो सक्षमता देखाउनै पनि महेश सफल हुन चाहन्थे। रोगले समात्यो। उपचार निरर्थक थियो।
यसैले एक दिन मुखै फोरेर निशालाई भने, 'मसँग तिम्रो भविष्य छैन। तिमी आफ्नो बाटो समाऊ।'
महेशको कठोर वचन सुनेर निशा रनभुल्ल परिन्।
झोंक्किएर भनिन्, 'म पशु हो? सद्धे छउञ्जेल, कमाउञ्जेल लोग्ने हुने र अप्ठ्यारो पर्नासाथ सम्बन्ध सकिने। त्यस्तो त पशुले मात्रै गर्छन्।'
महेश चुप। उनलाई निशाको चिन्ता थियो। आफ्नो अवस्थाले खुसी दिन नसक्ने सोच महेशबाट जान सकेन। केही समयपछि फेरि यही कुरा दोहोर्याए। निशाको जवाफ त्यही थियो।
उपचारको यो यात्रा, दुःख, कष्टमा कहिल्यै नछोड्ने श्रीमती र परिवारको सधैं आभारी भएको बताउँछन् महेश। शरीर नै थेग्न नसक्ने हुँदा पनि उनीहरूले साथ दिइरहे, दिइरहेका छन्।
सँगै उनको जीवनमा दुई नयाँ साथी थपिए, चेस र साहित्य।
रोग पहिचानपछिका सुरूआती दिनमा उनका सबै अंग नचल्ने भइसकेका थिएनन्। विस्तारै-विस्तारै पक्षघात हुँदै गएका हुन्। त्यही क्रममा उनको पहिलो साथी बनेको थियो चेस।
उनको पारिवारिक माहोल नै चेसमय रहेछ। बुबा र दाइले खेलेको हेर्दाहेदै उनले सिकेका थिए। सिक्दासिक्दै खेले।
'पछि लालबन्दीमा रेयुकाइले जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता गरेको थियो,' उनले भने, 'मन बहलाउन भाग लिएको, तेस्रो भएँ।'
त्यही जितबाट हौसिएर उनी चेसलाई गम्भीर भएर अध्ययन गर्न थाले। चेसका किताब खोजीखोजी पढ्न थाले। राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्दै चेस जगतमा राम्रो 'रेटिङ' बनाएका छन्। राष्ट्रिय खेलमा चौथोसम्म भएका थिए।
महेशलाई एकपटक विदेशमा खेल्ने अवसर मिलेको थियो। तर आफूसँगै स्याहार गर्ने र चेसका गोटी चाल्ने मान्छे पनि लैजानपर्ने हुँदा अवसर गुमाउनु नै उनलाई उपयुक्त लाग्यो।
विस्तारै शरीर गल्दै गएपछि प्रतियोगितामा सहभागी हुने क्रममा उनी कयौंपटक लडे। त्यस्तो बेला विथोलिएको मानसिकता सम्हालेर फेरि उठ्थे उनी।
'कुपण्डोलस्थित नेपाल बैंकमा भएको प्रतियोगिता बीचमै छाड्नुपर्यो। त्यसले निराश बनायो, सबै कुरा सकिएको जस्तो,' उनले भने, 'पछि हातले चेसको गोटी सार्न समेत नमिल्ने भयो।'
चेसको नशा लागिसकेकाले उनी गोटी सार्ने मान्छे राखेर खेल्न थाले। एक त आफूले निर्देशन गरेका गोटी अरूले सार्दिनुपर्ने, अर्को स्वर पनि अस्पष्ट हुँदै गएको। भनेका कुरा बुझाउनै मुश्किल हुँदै गयो।
फेरि गोटी सारिदिने मान्छे पनि चेस बुझेको हुनुपर्छ। ३–४ घण्टासम्म लम्बिन सक्ने खेलका लागि सधैं मान्छे खोज्न कहाँ सक्नु।
'कतिपटक त समय अभावमा जितेका खेल पनि हारेँ,' उनी गुनासो पोख्छन्, 'त्यसैले मन भए पनि चेस निरन्तरता दिन सकिनँ। अहिले अनलाइनमा खेलेर चित्त बुझाउँछु।'
चेस छुटेपछि महेशको अर्को साथी बन्यो, साहित्य।
सानैदेखि साहित्यिक किताब पढ्न रुचाउँथे उनी। पत्रकारिता थालेपछि लेखनमा रस बसेको थियो। तर समाचारमै व्यस्त हुँदा साहित्य लेख्ने फुर्सद कहाँ!
त्यो संयोग रोगले थलिएपछि जुर्यो। तर लेख्ने कसरी? दाहिने हातका दुई औंला मात्र चल्छन्।
उनी कम्प्युटरमा लेख्नसक्ने 'सफ्टवेयर' खोज्न थाले। त्यही बेला उनलाई लालबन्दीका नवराज चौलागाईंले 'अनस्क्रिन किबोर्ड' बारे बताइदिए। त्यसबाट 'माउस' थिचेरै लेख्ने सुविधा हुन्छ। माउसबाटै लेखेर पनि कति साध्य!
परिवारका अनुसार सुरूसुरूमा आफैं हात राखेर चलाउन सक्थे उनी। अहिले भने हात मिलाएर राखिदिनुपर्छ। एउटा कथा दिमागमा आए पनि टाइप गर्ने सकसले चाँडै लेख्न सक्दैनन्। तर महेश हार मान्नेवाला थिएनन्।
माउसमा थिचेर लेखेकै भरमा उनले सन् २०११ मा नागरिक दैनिकमा 'मृत्युअधिकार आवश्यक' शीर्षकको लेख छपाए। राम्रो प्रतिक्रिया पाए। साथीभाइले पनि अझै लेख्न उक्साए। अनि सुरू भयो निरन्तर माउसको खटखट क्लिक। उनले तीन किताब यसरी नै सके- अल्पविराम, नमोनमः र मरीचिका।
'अल्पविराम' पढ्ने धेरैले यो मदन पुरस्कार सूचीमा पर्नुपर्छ भनेकाे महेश बताउँछन्। तर त्यतिञ्जेल दर्ता गर्न ढिला भइसकेको थियो।
'नमोनमः' हाँस्यव्यंग्य संग्रह हो। कुनै बेला हिमाल पत्रिकामा व्यंग्य स्तम्भ लेख्थे उनी। त्यस बेलाका लोकप्रिय व्यंग्यहरू समेटेरै २०७४ सालमा किताब निकालेका हुन्।
'मरीचिका' उनको तेस्रो किताब। मदन पुरस्कार सूचीकृत 'मरीचिका'को चार महिनामै दोस्रो संस्करण निस्किसकेको छ। शीर्ष कथा 'मरीचिका'बाट किताबको नाम सापटी लिइएको हो, जसको अर्थ हो मृगतृष्णा।
कथा 'मरीचिका'मा मान्छे र रोबर्टको सम्बन्ध देखाइएको छ। मान्छेले मान्छेसँग सम्बन्ध गाँस्न नसकेपछि रोबर्टसँग सम्बन्ध राख्छ। तै पनि सन्तुष्टि पाइरहेको हुँदैन।
'मान्छेका पूरा नहुने इच्छा कति हुन्छन् कति। कहिल्यै पूरा नहुने इच्छा मृगतृष्णा जस्तै हुन्,' महेशले भनेको बुझाइन् आमा शान्तादेवीले।
हामीले शान्तादेवीलाई सोध्यौं, 'मरीचिका पढ्नु भएको छ?'
उनले अरू पढे पनि 'यात्रा' कथा पढ्नै नसकेको बताइन्।
'यात्रा' कथामा महेशले आफूजस्तै अवस्थाको एक पात्र सिर्जेका छन्। पात्र इच्छा मृत्यु खोज्दै विदेश पुग्छ। अन्तिममा आमालाई लामो चिठी लेख्दै पात्रले यात्राका लागि विदा मागेको हुन्छ।
विदा माग्दै पात्रले भन्छ,'...आमा, भोलि बिहान सूर्योदय हुनासाथ मेरो यात्रा आरम्भ हुनेछ। ती हजारौं यात्रुमध्ये म एक हुनेछु, जो संसारभरिबाट बर्सेनि 'मृत्यु पर्यटन' का निम्ति स्विट्जरल्याण्ड आउने गर्छन्। यो सहरभन्दा थोरै टाढा रहेको सानो घरमा पुग्नेछु, जहाँ चिकित्सकले मेरो प्रेस्क्रिप्सनमा लेखिदिएको 'सोडियम पेन्टोबार्बिटल' पिउनेछु। र केही निमेषको गहिरो निद्रासँगै म यो संसार त्याग्नेछु...'
संसारभर बहसको विषय हो इच्छा मृत्यु। मान्छेले आफूखुसी मर्ने स्वतन्त्रता पाउने-नपाउने भन्ने विषयमा धेरैका आ-आफ्नै तर्क छन्।
महेश भने यसलाई कानुनी मान्यता दिनुपर्ने बताउँछन्। आफ्नो जीवनमा त्यस्तो अवस्था नआए पनि कतिपयलाई यो 'वरदान' हुने उनको भनाइ छ।
'मान्छेलाई बाँच्न कठिन भइरहेको छ र उसको बाटो नै छैन भने मर्ने अधिकार पाउनुपर्छ। कसैको त कोही सहारा हुँदैन। स्याहार र माया गर्ने मान्छे नै नभएपछि लडेर बस्नुभन्दा त इच्छा मृत्यु नै राम्रो नि,' उनले भने।
यद्यपी, सजिलै मर्न पनि हजारौं डलर खर्चिनुपर्ने विषय महेशलाई चित्त बुझेको छैन। मृत्युमा समेत व्यापार भइरहेको छ, जसकारण मृत्यु पनि सहज छैन। यही असहजतालाई 'यात्रा' कथाले समेट्न खोजेको छ।
'छोरालाई यस्तो भएको छ अनि त्यस्तो कथा...' वाक्य पूरा नगरी आमा शान्तादेवीले भनिन्, 'मलाई त पढ्नै गाह्रो भयो।'
महेशसँग धेरै समय बिताउने शान्तादेवी नै हुन्। उनको खानपिन, शौच, आवतजावत लगायत दैनिकीमा उनकै बढी समय खर्चिन्छ। श्रीमती निशा सरकारी जागिरे हुन् भने छोरा शाश्वत कक्षा ११ मा अध्ययनरत छन्।
शान्तादेवीका अनुसार निवारण औषधि नै नभएपछि महेश रोगसम्बन्धी औषधि खाँदैनन्। केही 'होमियोप्याथी' र मधुमेहको औषधि खान्छन्।
बाहिर जानुपर्दा उनलाई अप्ठ्यारो हुन्छ। हामीकहाँ अपांगमैत्री संरचना नभएका कारण उनले धेरै समस्या झेलेका छन्। तै साथी र परिवारको सहयोगले सहज भएको उनी बताउँछन्। कहीँ जानुपरे ट्याक्सी नै साधन हो। तर खास कार्यक्रमबाहेक कमै मात्र घरबाट निस्किन्छन्।
उनको धेरैजसो समय कम्प्युटरमै बित्छ। पढ्ने त्यहीँ, लेख्ने त्यहीँ। 'बोर' हुँदा अनलाइन चेस खेल्छन्।
जाडो याममा भने उनी घण्टौंसम्म घाममा बसेर पढ्न रूचाउने आमा शान्तादेवी बताउँछिन्।
'पुस्तक पसल लग्यो भने एकभारी किताब बोकेर आउँथ्यो,' शान्तिदेवीले भनिन्, 'अहिले अनलाइन सुविधाले घरमै ल्याइदिने भएकाले सजिलो छ।'
अहिलेसम्म पढेका किताबमध्ये महेशलाई पारिजातको 'शिरिषको फूल' विशेष लाग्छ। उनको अस्तित्ववादी विचारधाराले आफू प्रभावित भएको उनी बताउँछन्।
किताब पढ्ने रूचि भए पनि पाना सार्न उनलाई सकस हुन्छ। त्यसैले कम्प्युटरमा 'सफ्ट कपी' पढ्न सजिलो मान्छन्।
'तर पढ्ने, लेख्ने भनेको फुटबल खेल नहुँदासम्म मात्रै हो,' आमाले महेशलाई जिस्क्याउँदै भनिन्, 'मेस्सीको खेल भएपछि सबै बिर्सिन्छ।'
यस्तै पारिवारिक दुःखसुख, रमाइलो, सहयाेग र मायाले महेशलाई थप बाँच्ने आशा जगाँउछ।
आफ्नो रोगबाट 'भाग्न' सक्ने आश पनि उनलाई छ। केही समयअघि इजरायलले 'मोटरन्युरोन' रोगको औषधि बनाएको छ जुन अहिले परीक्षणको तेस्रो चरणमा छ। यो उपचारले रोग कम गराउँदै मर्दै गएको कोष पुनर्भरण गर्ने भनिएको छ। सन् २०२० सम्म यो उपचार पद्धतिलाई अमेरिकी औषधि विभागले मान्यता दिने सम्भावना रहेकाले महेश र उनको परिवारलाई आशा जगाइदिएको छ।
'औषधि नै नहुनु भन्नु र निस्कियो भन्नुमा धेरै फरक हुन्छ नि। तर उपचार खर्च महँगो रहेछ, तीन वटा सुईको तीन लाख डलर रे,' श्रीमती निशाले आशा र निराशाको भावमा भनिन्, 'हामीले प्रधानमन्त्रीसँग कुरा गरेका थियौं। उहाँ यो विषयमा सकारात्मक हुनुहुन्थ्यो। सरकारबाट सहयोग भए औषधिको सहयोगले निको हुनुहुन्छ भन्ने आशा छ।'
'निको हुनु भयो भने के गर्नुहुन्छ?,' हामीले महेशलाई सोध्यौं।
'तपाईंहरू झैं फेरि पत्रकारितालाई निरन्तरता दिन्छु कि?' महेशले मुस्कुराउँदै भने, 'चेसलाई पनि निरन्तरता दिने सोच छ। विदेशमा देशको प्रतिनिधित्व गर्ने मन छ।'
'चेसको लतले फेरि किताब लेख्नै छाड्नुहोला नि,' कुराकानीको बिट मार्दै भन्यौं।
महेशकी आमाले ढाडस दिँदै भनिन्, 'ठीकै छ नि। लेख्न छोड्यो भने चेसपट्टि अगाडि जान्छ। एउटा बाटो त सधैं राम्रो हुन्छ।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी