रुपन्देहीको देवदहका वसन्त पौडेलको हत्यामा संलग्न भई फरार रहेका एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। विभिन्न हत्या तथा लुटपाटका घटनामा समेत संलग्न बुटवल उपमहानगरपालिका–१७ मनहरापुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भन्ने चौधरी डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
थारुलाई प्रहरीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ बाट पक्राउ गरेको थियो। पक्राउ परेका थारुलाई डाँका मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेका थारु देवदहका दुर्गा तिवारी र वसन्त पौडेलको हत्याका मुख्य योजनाकार मनोज पुनको समूहका व्यक्ति हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक धर्मराज भण्डारीले थारु मनोज पुनको समूहले अपराध गराइसकेपछि हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल व्यवस्थापन गरी एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने कार्यमा संलग्न रहेको बताए।
गुन्डा नाइके पुन एक वर्षअगाडि नै प्रहरी इनकाउन्टरमा मारिएका थिए। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न पुन प्रहरीसँगको मुठभेडमा रुपन्देहीमै मारिएका थिए।
प्रहरीले पछिल्लो पटक २०७५ साल चैत्र १७ गते तिलोत्तमा करुवानीका राजेन्द्र गुप्ता, प्रतीक यादव र रमेश चौधरीलाई सात–आठ जनाको समहले घेरा हाली हातहतियार देखाएर मोटरसाइकल, मोबाइल र नगद १० लाख ८ हजार ५ सय रुपैयाँ लुटपाट गरी फरार रहेको अपराधमा थारुलाई खोजी गरिरहेको थियो।
रमेश चौधरीले दिएको उजुरीमा उनले गत चैत्र १२ गते आफ्नो घरमा १७ तोला सुनको गरगहना रहेको र उक्त सुन राखेर १२ लाख रुपैयाँ दिन भन्दै आफ्नो घरमा गएको उल्लेख छ।
१७ तोला सुन खरिद गर्ने भन्दै रमेश चौधरी समेतका तिनैजना थारुले बोलाएको स्थान रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं.३ थुमुहवामा पैसा लिएर गएपछि आफूहरूलाई घेरा हाली उक्त समुहले लुटपाट गरेको प्रहरी सामु उनीहरुले बताएका थिए।
साथै थारुमाथि २०६५ असार ९ गते संसेर सिंह भन्ने चौधरी डंगोरिया थारु समेतले हतियार देखाई शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाएको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। त्यस्तै, २०७४ फागुन ९ गते देवदह–४ भवानीपुरमा वसन्त पौडेललाई गोली प्रहार गरी हत्या गरेपछि थारु फरार रहेको प्रहरीले जनाएको छ।