सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालमा पाँचजना विशेषज्ञ डाक्टर थपिएका छन्। विगतदेखि नै विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको प्रदेश अस्पतालले केही दिनअघि मात्र पाँच जना विशेषज्ञ डाक्टर पाएको हो।
शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन गरेका चिकित्सकहरु केही वर्षका लागि सेवा गर्नेगरी आएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए। सरकारले प्रदान गर्ने छात्रवृत्तिमा मेडिकलतर्फको उच्च शिक्षा लिएवापत पाँच वर्षसम्म सरकारी अस्पतालमा नै काम गर्ने प्रतिबद्धता अनुसार अहिले अस्पतालमा डाक्टरहरु आएको उनले बताए।
अस्पतालमा छाला तथा यौन रोग, नाक, कान र घाँटी, बालरोग, फिजिसियन र हात तथा नसा रोग विशेषज्ञ डाक्टर आएका छन्। अस्पतालका अनुसार छाला तथा यौन रोग विशेषज्ञ डा. प्रभावसिंह राजपुत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल, फिजिसियन डा. संजीव भण्डारी र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुभद्र श्रेष्ठ आएका हुन्।
सुर्खेतले एकै पटक पाँच जना विशेषज्ञ डाक्टर पाएको यो पहिलो भएको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट खड्काले डाक्टर थपिएपछि थप प्रभावकारी सेवासुविधा अस्पतालले दिन सक्ने बताए। अहिले आएका चिकित्सकहरुले बढीमा तीन वर्षसम्म प्रदेश अस्पतालमा काम गर्ने अपेक्षा उनको छ।
‘शिक्षण अस्पतालसँग समन्वय गरेर हामीले पाँचजना डाक्टर प्रदेश अस्पतालमा ल्याएका छौं, उहाँहरुले कम्तिमा २ वर्ष यहाँ रहेर सेवा दिनुहुन्छ’ खड्काले भने, ‘आवश्यकता र दरबन्दी अनुसार पूरा मेडिकल अफिसरहरु नभएपनि उहाँहरु थपिएपछि विशेषज्ञ सेवा थप प्रभावकारी हुन् ।’
विशेषज्ञ सेवा थपिएसँगै नयाँ बनेको भवनमा अस्पताल छिट्टै सर्ने भएकाले सेवाग्राहीको चाप बढ्ने अनुमान गरिएको छ। सुरुमा तीन जना विशेषज्ञ डाक्टरबाट सञ्चालन भएको अस्पतालमा अहिले नयाँ आएका बाहेक विशेषज्ञसहित २८ डाक्टरहरु कार्यरत रहेको खड्काले बताए।
अस्पतालमा अहिले दैनिक ८ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा आउने अधिकांश बिरामी गाइनोसम्बन्धी हुने गरेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. केशर ढकालले बताए। एउटै डाक्टरले दैनिक ७०÷८० जना बिरामीको चेकजाँच गर्नुपरेको उनले बताए।
समायोजनका कारण अस्पतालमा विशेषज्ञहरुको अभाव हुन थालेको डा. खड्काले बताए।