'सारंगीमा समर्पित एउटा जीवन'
युजी नाकागावालाई वेबसाइट 'युजीसारंगीडटकम'मा यसरी नै चिनाइएको छ।
सारंगीवादनका पर्याय बनेका जापानी नागरिक युजी जब सारंगी बजाउन थाल्छन्, उनको पहिचानको दायरा फराकिलो बन्दै जान्छ।
तार रेट्दै उनी कहिले भारतीय त कहिले नेपाली संस्कृतिसँग जोडिन्छन्। अनि क्रमशः नेपाल र भारतसँगको उनको साइनो खुल्दै आउँछ।
गत बिहीबार पाटन ढोकानजिकैको सिम्रिक एटलियरको साँघुरो कोठामा युजी यसरी नै आफ्ना स्रोतासँग जोडिए। लोक चित्रकारको परम्परागत पौभा कला सिकाउने थलोमा मध्याह्न १२ बजे उनले राग भीमपलासीको आलापबाट प्रस्तुति सुरू गरे।
सारंगीको सुरमा तबलाको ताल थप्न कलाकार मुकेश शाक्य तम्तयार थिए। जापानी कलाकार उरी किम तानपुराको झंकार थपिन्। त्यही क्रममा सन्तोषभक्त श्रेष्ठको ईशराज बाजासहित जुगलबन्दीमा जोडिन आएपछि मेहफिल झनै सुमधुर बन्यो।
सारंगीको धुनसँगै चलायमान युजीका जादुमयी औंलाका रफ्तार बढ्दा संगीतमा तालीको गड्गडाहट पनि मिसियो।
कार्यक्रममा करिब डेढ घन्टा हिन्दुस्तानी शास्त्रीय संगीतका रागहरू प्रस्तुत भए। कार्यक्रमको अन्तिम प्रस्तुतिमा पुरानो नेवारी लोकधुन सुन्न पाएर स्रोता अझ रमाए।
बिहीबारको सांगीतिक प्रस्तुतिको अभ्यासमा व्यस्त रहेकै बेला युजीले हामीलाई आफ्नो कथा सुनाएका थिए।
सन् २००० मा पहिलो पटक नेपाल आउँदाको अनुभवबाट कुरा सुरू गरे। युजी पर्यटकका रुपमा नेपाल घुम्न आएका थिए। त्यहीबेला उनलाई नेपाली गन्धर्व बाजा सारंगीले मोहनी लगाएको रहेछ।
'जापानमा सोखका रूपमा गितार बजाइरहेको थिएँ। सारंगीको धुन सुनेपछि त्यही सिक्ने रहर लाग्यो,' युजीले भने।
यही रहर पछ्याउँदै उनी बाबुराम गायकको पछि लाग्दै गोरखासम्म पुगे। त्यहाँ सारंगी सिक्नै भनेर दुई महिना बिताए।
त्यस बेलाको नमिठो अनुभूति पनि सम्झे उनले, 'त्यति मिठो सारंगी बाजा सामाजिक रुपमा तिरस्कृत भएको देखेर धेरै दुःख लागेको थियो।'
उनले सारंगीलाई गरिने 'अछूत' व्यवहार देखेनन् मात्रै, भोगे पनि। सारंगी बजाएकै कारण युजीलाई समेत मानिसहरू, 'सारंगी बजाको? छ्या!' भन्थे रे। अचेल गैरगन्धर्वले पनि बजाएको सुन्दा खुसी लाग्दो रहेछ उनलाई।
चार-पाँच महिनाको घुमफिर अनि नयाँ बाजा सिकेको उत्साह बोकेर जापान फर्कन पाउँदा उनी दंगदास थिए। फर्केको केही समयमै उनलाई थप खुसी पार्ने अर्को प्रस्ताव आयो। भारतमा संगीत पढेका एक जना जापानी कलाकारले भनेछन्, 'म तबला बजाउँछु, तिमी सारंगी बजाऊ, सँगै कन्सर्ट गरौं।'
युजी हौसिए। तर त्यो हौसला काम लागेन। उनलाई त्यो बेला महशुस भयो, 'कन्सर्ट गर्न सक्ने कलाकार बन्न बेसिकभन्दा बढी ज्ञान चाहिन्छ। मैले अब व्यवस्थित रुपमा सिक्नुपर्छ।'
उनले दक्षिण एसियाली संगीत अध्ययन गर्ने निधो गरे। ओसाकामा जन्मेका उनी स्थानीय ब्यान्डका लागि गितार बजाउँथे। परदेशी बाजाप्रति लहसिनुअघिको रूचि सुनाए, 'ब्लुज र ज्याज संगीत मनपर्थ्यो।'
नेपालमा सारंगी मूलतः लोक बाजाका रुपमा प्रयोग हुन्छ भने भारतमा लोक र शास्त्रीय दुवैतिर।
यो कुरा बुझेपछि औपचारिक अध्ययनका लागि युजी सुरूमा वाराणसी पुगे। उस्ताद फैयज अलि खानसँग केही महिना सारंगी सिके।
उनले सन् २००९ देखि २०१५ सम्मका लागि मुम्बईको भारतीय विद्या मन्दिरले प्रदान गर्ने 'आइसिसिआर फेलोसिप' पाए। त्यहीँका प्रधानाध्यापक पण्डित ध्रूव घोषसँग गुरु-शिष्य परम्परामा आधारित सिकाइ जारी राखे। आफ्नो लामो-छोटो दुवैथरि सिकाइका क्रममा उनले भारतमा १२ वर्ष बिताए।
हाल ओसाकामै धेरै समय बिताउने उनी संगीत प्रस्तुतिकै लागि नेपाल आइरहन्छन्। यसअघि सन् २०१४ मा जापानी दूतावासकै आयोजनामा भएको कार्यक्रममा युजीले काठमाडौंमा प्रस्तुति दिएका थिए।
पूर्वीय शास्त्रीय संगीतमा दख्खल हासिल गरेका युजीलाई पश्चिमी शास्त्रीय संगीत र अर्केष्ट्रामा काम गर्ने समूहहरूले पनि निरन्तर डाकिरहन्छन्। नेपाल आउनु केही समयअघि क्यानाडामा प्रस्तुति दिएर फर्केका उनी अगस्टमै भारतको पुनामा प्रस्तुति दिँदैछन्।
संगीत अन्तर्राष्ट्रिय भाषा हो भन्ने तर्क युजीको जीवनमा ठ्याक्कै मिलेको छ। तर अन्तर्राष्ट्रिय स्तरको कलाकारको उचाइ हासिल गर्न उनी धेरै कुरासँग जुधेका छन्।
आफ्नो भारत बसाइका सुरूआती दिन सम्झिँदै सुनाए, 'इन्डियाको खाना र हावापानीमा सहज हुन गाह्रो भएको थियो। भाषा सिक्नुपर्ने चुनौती पनि थियो।'
फरक संस्कृतिसँगको जम्काभेटले हुने 'कल्चरल शक'कन झट्का पनि धेरैपटक महशुस गरे उनले। अचेल त हिन्दी राम्रो बोल्ने भइसकेका छन्।
हाँस्दै भने, 'वर्षमा एक-दुई पटक मात्रै घर जान पाउँथे, घरको न्यास्रोले पनि सतायो।'
युजीका हजुरबुबा व्यावसायिक संगीतकार थिए। यस मानेमा संगीतसँग उनको पुरानै नाता थियो। त्यही भएर होला, सानातिना समस्या पन्छाउँदै उनी निरन्तर साधनामा लीन रहे।
'जापानीहरू मिहिनेती हुन्छन्' भन्ने आमभनाइलाई युजीले सिद्ध गरेर देखाए। सुरूको तीन-चार वर्ष दिन-रात नभनी दस-बाह्र घन्टासम्म रियाज गर्थे उनी।
भारत र नेपालमा जस्तो जापानमा भने रियाज सजिलो छैन रे!
'यहाँ अर्को फ्ल्याटको मान्छेले के सोच्लान्, भन्लान् भन्ने चिन्ता खासै हुन्न,' फरक ठाउँको फरक अभ्यास तुलना गरे, 'जापानमा रियाज गर्दा छिमेकीलाई डिस्टर्व नहोस् भन्नेबारे सतर्क हुनुपर्छ।' त्यही भएर जापानमा केही रकम तिरेरै भए पनि रियाज गर्न स्टुडियोको भाडा तिर्छन् उनी।
हिजोआज दैनिक दुई घन्टा रियाज गर्ने उनको धेरै समय सांगीतिक प्रस्तुतिमा बितिरहेको छ। आगरा, चेन्नई, बैंगलोर, राजस्थान, बनारसलगायत उत्तरदेखि दक्षिण भारतका महत्वपूर्ण सहरमा सारंगीमा हासिल गरेको कला प्रदर्शन गरिसकेका छन् उनले।
आफ्नै कामबारे जानकारी दिँदै थपे, 'जापानमा संगीत प्रस्तुत गर्ने कामबाहेक सिकाउने काम पनि भइरहेको छ।'
युजीलाई सन् २०१५ मा पण्डित भातखण्डे संगीत विश्वविद्यालयबाट 'संगीत विशारद' सम्मान दिइएको थियो। सन् २०१७ मा आफ्नै देशमा '१८औं ओसाका इन्टरनेसनल म्युजिक कम्पिटिसन'मा लोकबाजातर्फ प्रथम पुरस्कार जिते।
संसारका धेरै भूगोल पुगिसकेका युजी नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको बताउँछन्।
गर्वसाथ भने, 'पहिलो पटक सारंगी देखेको, सुनेको र बजाएको नेपालमै हो।'
मुम्बईमा बस्दाका दिनमा होस् वा जापानमा, नेपालसँग उनी कुनै न कुनै रुपमा जोडिएकै हुन्छन्। मुम्बई छँदा सञ्जय झासँग नेपाली भाषा सिके। जापानमा चाहिँ वासुरीवादक राम महर्जनबाट नेपाली र नेवारी धुन सिकिरहेका छन्।
कुरा गर्दागर्दै सारंगीका तारमा औंला खेलाए–
राजमती कुमती जिके वसां पिरती
हाय बाबा राजमती चा..
उनलाई 'रेशम फिरिरी' गीतको धुन पनि निकै मनपर्ने रहेछ।
उनले दोहोर्याए, 'नेपाली लोकधुन मनपरेरै त म आज सारंगी बजाइरहेको छु।'
एसियाकै लोक संगीतका स्केलमा समानता रहेको बताउने युजी नेपालको सारंगीलाई शास्त्रीय संगीतसँग जोड्न सके फाइदा पुग्ने बताउँछन्।
'भारतमा १७-१८औं शताब्दीतिर शास्त्रीय संगीतमा सारंगी पनि प्रयोग हुन थालेको हो,' उनले भने।
सारंगी भारतमै पनि लामो समयसम्म खयाल गायनमा संगत दिने बाजामा सीमित थियो। आज पनि सारंगीको एकल प्रस्तुति दिने थोरै कलाकार मध्येमा पर्छन् युजी।
कार्यक्रम आयोजक 'धुरपद गुरुकुल'का संगीत गुरु विशाल भट्टराई युजीजस्ता खारिएका साधकलाई नेपाली कलाकार र स्रोतासँग जोड्न पाउनुलाई सुखद अवसर मान्छन्।
'यस्तो संगत र सहकार्य नेपाली कलाकारले म्युजिकली अपडेट हुन पाउने मौका हो,' उनले भने।
युजीले स्टेजलाई आफ्नै रुपमा अर्थ्याए, 'भावनात्मक र आध्यात्मिक दुवै हिसाबले कन्सर्टको विशेष महत्व छ।'
उनको विचारमा काममा समर्पित भइयो भने भावनात्मक रुपमा संगीत सुन्ने जो कोहीलाई सजिलै 'कनेक्ट' गर्छ। सारंगी रेट्दारेट्दै आध्यात्मिक रुपमा 'डिस्कभर' भएको अनुभूति चाहिँ शब्दमा पोख्न गाह्रो हुने उनी बताउँछन्।
सबै तस्बिर/भिडियोः नारायण महर्जन