काठमाडौं, बसन्तपुर दरबार क्षेत्रस्थित संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय भवन चार वर्षमा पनि पुनर्निर्माण हुन सकेको छैन। २०७२ सालको भुइँचालोमा क्षति पुगेको यो भवन अझै टेकोकै भरमा अड्याइएको छ।
संस्कृत विश्वविद्यालय, दाङको सम्पर्क कार्यलयका रुपमा सञ्चालन हुँदै आएको भवनमा उपकुलपति र अन्य पदाधिकारीहरूको कार्यालयका साथै विद्यावारिधिको अनुसन्धान केन्द्र सञ्चालन हुँदै आएको थियो।
मध्य काठमाडौंको पर्यटकीय स्थानमा उभिएको साढे चार तले भवन जीर्ण र जोखिमपूर्ण हुँदा पनि पुनर्निर्माणमा कुनै पहल नभएको कार्यालयका पदाधिकारीहरूको आरोप छ। इञ्जिनियरहरूले भवन जाँचेर जोखिमपूर्ण रहेको बताइसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुनै चासो नदिएको उपकुलपति कुलप्रसाद कोइरालाले बताए।
'इञ्जिनियरहरूले नयाँ भवन बनाउन सुझाएका छन्। रेट्रोफिट गर्दा पनि हुने बताएका थिए,' उनले भने, 'आवश्यक कागजातहरू पुनर्निर्माण प्राधिकरणलाई बुझाइसकेका छौं। तर कुनै पहल गरेको छैन।'
यो भवन सरकारी भएकाले सरकारले नै बनाउनुपर्ने कोइरालाको भनाइ छ।
मल्लकालीन शैलीको भवन पुरानै स्वरुपमा बनाउन विश्वविद्यालयले प्राधिकरणसँग माग गरेको उनले जानकारी दिए।
दाङस्थित संस्कृत विश्वविद्यालयका सरकारी कामकाज काठमाडाैंबाट सहजै गर्न सकियोस् भनेर यहाँ सम्पर्क कार्यालय खोलिएको हो। यो भवन पहिले त्रिभुवन विश्वविद्यालयको थियो जहाँ त्रिविकै किताब बिक्री भण्डार थियो। पछि २०४३ सालमा त्रिविले अंशका रूपमा संस्कृत विश्वविद्यालयलाई दिएको कोइरालाले जानकारी दिए।
अग्लो र जीर्ण भवन वरपरको क्षेत्र व्यस्त छ। दैनिक सयौंको आवतजावत हुन्छ। पर्यटक र स्थानीयहरूको घुइँचो लाग्ने ठाउँ यो हो। भवनको छेउमै बाल्मिकी विद्यालय छ। यो स्कुल लगायत अरू धेरै विद्यार्थीको आउजाउ गर्ने बाटो पनि यही हो।
तर यसको पुनर्निर्माणमा कसैको गम्भीर ध्यान पुगेको छैन।
उपकुलपति कोइरालाका अनुसार भवन बनाउन एउटा कोरियाली कम्पनीले प्रस्ताव गरेको पनि थियो। तर नेपाल सरकारले ४-५ लाख रूपैयाँ मात्रै सहयोग दिने भएपछि भवन नबन्ने भयो।
'प्राधिकरणले भारतीय कम्पनीलाई दिने कुरा गरेको थियो। यसबारे के भयो भन्ने कुरा थाहा छैन,' उनले भने।
भवन नबन्नुमा विश्वविद्यालयका पदाधिकारीहरूले प्राधिकरणलाई जिम्मेवार देखाइरहँदा प्राधिकरण भने यसबारे आफूहरूलाई केही थाहा नभएको बताउँछन्। राष्ट्रिय पुनर्निर्माण कार्यालयअन्तर्गत शिक्षा इकाईले भने विश्वविद्यालयबाट कुनै कागजातहरू नआएको बताएको छ।
'त्यो भवन निर्माण कसले गर्ने हो भन्नेबारे थाहा भएन। त्यहाँबाट कुनै कागजात पनि आएको छैन,' शिक्षा इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले भने।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे पनि विश्वविद्यालयले कागजातहरू कहाँ बुझाएका हुन् भन्नेबारे आफूहरूलाई थाहै नभएको बताए।
दिनभर मान्छेको भिड हुने ठाउँमा ठडिएको यो मल्लकालीन भवनबारे सम्बन्धित निकायहरूले वेवास्ता गर्दा जोखिम बढ्दो छ।