भोजपुरको षडानन्द नगरपालिका -६ मा लटरम्म रूद्राक्ष फलेका छन्।
केही समयअघि यहाँका बगानमा चिनियाँ व्यापारी आए। प्राकृतिक रूपमा विकसित भइराखेको रूद्राक्षका हरिया दानामाथि धमाधम प्लास्टिकका सेता क्लिप लगाइदिए। चाहेअनुसारको आकारमा ढाल्न रूद्राक्षका दानामा क्लिप लगाउनुपर्ने उनीहरूको भनाइ थियो।
व्यापारीले रूद्राक्षका दानामा लगाएका क्लिप आइतबार र सोमबार प्रहरीले हटाइदिएको छ।
केउरेपानी र साल्माका किसान दयाराम कटुवाल र ज्ञानेन्द्र बस्नेतका बारीका फलेका रूद्राक्षका दानाका ती क्लिप प्रहरीले हटाएका हुन्। रूद्राक्षको बोटबाट छ सयभन्दा बढी क्लिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर पलामीले जानकारी दिए।
‘अनुमतिबेगर रूद्राक्षका दानामा क्लिप लगाएको भेटियो,’ उनले सेतोपाटीसँग भने, ‘माथिको निर्देशन अनुसार नै क्लिप हटाइएको हो।’ उनका अनुसार अप्राकृतिक रूपमा रूद्राक्षमा क्लिप लगाएको जानकारी आएपछि गृह मन्त्रालयले ती क्लिप हटाउन प्रहरीलाई निर्देशन दिएको थियो।
चिनियाँ व्यापारीले रूद्राक्षका दानालाई गोलो, अण्डाकार, थेप्चो आकारमा ढाल्न प्लास्टिकका क्लिप लगाएका थिए। यहाँको रूद्राक्ष विदेशमा पनि निर्यात हुँदै आएको छ।
प्राकृतिक रूद्राक्षलाई अप्राकृति बनाउन खोजिएको भन्दै प्रहरीले क्लिप हटाएको हो।
‘प्राकृतिक चिजलाई क्लिप लगाएर स्वरूप बिग्रार्न पाइएन नि!,’ उनले भने, ‘अन्य ठाउँमा पनि क्लिप लगाएका छन् कि खोज्दैछौं।’
आकार बिगारेको रूद्राक्षले अन्तर्राष्ट्रिय बजारमा यसको महत्व घटाउन सक्ने भएकोले क्लिप हटाउनु परेको उनले जानकारी दिए।
धार्मिक क्षेत्रमा पनि रूद्राक्षको महत्व छ। रूद्राक्ष शिवको प्रतीकको रूपमा लिइन्छ।
औषधि र मालामा पनि रूद्राक्ष प्रयोग हुन्छ। एकमुखेदेखि चौधमुखेसम्म रूद्राक्ष फल्ने रूद्राक्षबाट बनाइने औषधिको प्रयोगले बाथ, कफ रोग हटाउने भएकोले आर्युवेद क्षेत्रमा यसको माग उच्च छ।