बर्खामै ढुंगे धारामा पानी सुकेपछि ललितपुरको महालक्ष्मी नगरपालिका -९ मा डिप बोरिङबाट पानी निकाल्न बन्द गरिएको छ।
स्थानीय लुभू तल्लो दोभान खानेपानी आयोजना उपभोक्ता समितिले हालै गरेको डिप बोरिङले तीनचल ढुंगे धारामा पानी सुकेपछि वडा नम्बर ९ का वडाध्यक्ष बासुदेव शर्मा गौतमले सूचना निकालेर डिप बोरिङ रोकेका हुन्।
लुभू र डाँडाथोकका घरमा हिउँदमा पानीको अभाव टार्न तीनचलमा डिप बोरिङ गरिएको थियो। परम्परागत ढुंगे धाराको पाँच सय मिटर नजिकै डिप बोरिङ गरी भूमिगत पानी निकालेपछि बर्खामै धारामा पानी सुकेको हो।
डिप बोरिङबाट निकालिएको पानी घरघरमा वितरण गरिएको छैन, परीक्षणकै क्रममा छ।
‘एक घण्टामात्र डिप बोरिङबाट पानी निकालिएको हो। अहिले हामी परीक्षणकै क्रममा छौं,’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले सेतोपाटीसँग भने, ‘धारामा पानी सुक्यो भनेर डिप बोरिङ गरेको ठाउँमा वडाध्यक्षले ताला लगाइदिनुभयो।’
आइतबार वडाध्यक्ष गौतमले सूचना निकालेर डिप बोरिङ हालका लागि बन्द गरिदिएका थिए। प्राकृतिक मुहान सुक्ने गरी डिप बोरिङबाट पानी निकाल्न नहुने भन्दै स्थानीयले आवाज उठाए पछि वडाध्यक्ष शर्माले पानी निकाल्न रोक लगाइएको छ।
ढुंगे धाराबाट यहाँका ९१ घरधुरीले पानी पिउँदै आएका छन्।
ढुंगेधारामा पानी नसुक्ने गरी डिप बोरिङबाट पानी निकाल्न भूगर्भविद र प्राविधिकसँग छलफल गर्ने भनिए पनि नगर्दा अहिले समस्या देखा परेको गौतमले बताए।
‘प्राविधिकलाई अध्ययन गर्न लगाउँछौं। ढुंगे धाराको पानी नसुक्ने प्रतिवेदन आयो भने डिप बोरिङ सञ्चालन हुन्छ,’ उनले भने, ‘आन्दोलन नहोस् भनेर सुरक्षाका लागि सूचना निकालेर ताला लगाएको हुँ।’
डिप बोरिङका लागि आयोजनाले तीन करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको छ। ‘खानेपानी वितरण गर्ने बेला वडाध्यक्षले ताला लगाउन नमिल्ने हो,’ समितिका कोषाध्यक्ष सानुकान्छा श्रेष्ठले भने, ‘पाइपलाइन विच्छाइसकिएको छ।’
डिप बोरिङबाट प्रतिसेकेन्ड १२ लिटर पानी तान्ने उनले बताए।
वडाध्यक्षले स्थानीय बासिन्दा र सरोकारवाला पक्षसँग छलफल गरेर ताला खोल्ने बताए पनि छलफल हुन सकेको छैन।