भुइँचालोपछि नौतले धरहराको एक तले ठूटो मात्रै बचेको थियो। हाल त्यसलाई चारैतिरबाट डण्डीले घेरेर संरक्षण गरिएको छ। केही समयपछि त्यसलाई 'टेम्पर्ड ग्लास' ले छोपेर 'भुइँचालो स्मारक' का रुपमा जस्ताको त्यस्तै राख्ने योजना छ।
धरहरा ढल्दा जनधन क्षति भएको र मौलिकता झल्काउने सम्पदा पनि नभएका कारण धरहरा फेरि बनाउने वा नबनाउने विवाद भएको थियो। त्यही बीच पुरानो अवशेष जस्ताको त्यस्तै राखेर सँगै नयाँ धरहरा बनाउने निर्णय भयो।
पुरानो ठूटोको आडैमा धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण २२ तले नयाँ धरहरा बनाउँदैछ। भित्री संरचना २२ तला भए पनि बाहिरबाट हेर्दा ठ्याक्कै पुरानै जस्तै देखिने डिजाइन तयार भएको छ।
पहिले धरहरा करिब साढे चार रोपनीमा फैलिएको थियो। सानो बगैंचा अनि चारैतिर सार्वजनिक बाटो। आधुनिक शैलीमा निर्माण गरिने नयाँ धरहराको फैलावट १० गुणा बढी छ। यसमा पहिले सडकमै रहेको सुन्धारा, गोश्वारा हुलाक कार्यालय र टक्सार विभाग भवनसम्मको जग्गा समेटेर साढे ४२ रोपनी हुने धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए।
निर्माण व्यवसायी जिआइइटिसी–रमन जेभीले ३ अर्ब ८ करोड रूपैयाँमा धरहरा बनाउने ठेक्का पाएको हो। तर चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमन कन्स्ट्रक्सन मंगलबार कालो सूचीमा परेको छ। रमन कन्स्ट्रक्सनलाई नयाँ सार्वजनिक खरिद प्रक्रियामा सहभागी नहुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गरेको छ।
यस्तो अवस्थामा धरहरा निर्माण के हुन्छ भन्ने जिज्ञासामा मानन्धर भन्छन्, 'यसले केही असर पर्दैन। उहाँहरूको अहिलेसम्मको काम राम्रो छ। उपकरण पनि आधुनिक र नयाँ शैलीका छन्। बरू हामीले भने जति जग्गा समयमा दिन नसक्दा काम ढिलो भइरहेको छ।'
निर्माण सुरू भएदेखि दुई वर्षभित्र धरहरा बनाइसक्नुपर्ने सम्झौता छ। ६ महिनाभित्र माथिल्लो बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ तयार गर्नुपर्ने र नौ महिनाभित्र १० तला सक्नुपर्ने भनिएको छ। अहिलेसम्म २० प्रतिशत हाराहारी पनि काम भएको छैन। करिब ९ महिनामा बल्ल जगको काम भएको छ।
'हामीले नै गोश्वरा हुलाक र टक्सार विभाग खाली गराएर निर्माण व्यवसायीलाई दिन नसक्दा काम ढिलो भएको हो,' मानन्धरले भने, 'एक सातामा टक्सार र एक महिनामा हुलाक सर्ने तयारीमा छ।'
टक्सार विभाग बबरमहलस्थित 'औषधी लिमिटेड' मा सर्दैछ भने हुलाकका लागि दुइटा प्रस्तावित ठाउँ छन्। एउटा वाणिज्य विभाग परिसरमा प्रि-फ्याब भवन बनाएर सार्ने, अर्को चारखाल, डिल्लीबजारमा पहिल्यै बनाइएको हुलाक सेवा विभागमा। यो भवन करिब ९५ प्रतिशत निर्माण भए पनि निर्माण व्यवसायीसँग विवाद भएर मुद्धामा फसेको मानन्धरले जानकारी दिए। त्यही भवन हुलाक सार्ने ठाउँको प्रस्तावमा राखिएको हो।
यी भवनमा पानी, बत्ती, बाटो लगायत पूर्वाधार जोड्दै सार्ने काम अघि बढेको छ। टक्सार र हुलाक सारेपछि पनि कामको गति बढेन भने रमन कन्स्ट्रक्सनको कामबारे सोच्न सकिने मानन्धर बताउँछन्।
धरहरा निर्माणमा स्थानीयका मागले पनि केही समय अवरूद्ध भएको थियो। स्थानीयले यहाँ दुइटा माग राखेका छन्।
एउटा, धरहरा क्षेत्रभित्र बाटो बन्द गरिएकोमा वैकल्पिक बाटो दिइनुपर्ने।
अर्को, सुन्धारामा पानी आउने बनाउनुपर्ने।
धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीयको मागमा ध्यानाकर्षण गर्दै काठमाडौं मलको केही भाग भत्काउने भएको छ। त्यसको बदलामा अर्को जग्गा दिने सर्त छ।
नेपाल सरकारले स्वीकृति दिएपछि अब काठमाडौं मलबाट जाने अर्को बाटो हुनेछ जुन तेबहाल हुँदै टुँडिखेल निस्किन्छ।
सुन्धारामा पानी आउने बनाउन टुँडिखेलमा तीन वटा इनार खन्ने तयारी भएको मानन्धरले जानकारी दिए।
'हामीले पहिले देखेकोभन्दा विल्कुलै नयाँ ढंगले धरहरा बन्दैछ। काठमाडौंको बीचमै हामीले खुला ठाउँ पनि पाउँदैछौं,' उनले भने, 'अहिलेसम्म यसरी धरहरा नबनाएकाले यो नयाँ अभ्यास पनि हो।'
निर्माणमा अवरोध नहोस् भनेर चारैतिर जस्तापाताले बारेर एकतर्फ मात्रै बाटो खोलेर निर्माण भइरहेको छ। अहिले धरहराको सबैभन्दा महत्वपूर्ण भाग अर्थात् जग हाल्ने काम सकिएको उनले बताए।
'धेरै समय लाग्ने जगको भाग हामीले सक्यौं। दुई मिटर ढलान गरेका छौं,' उनले भने, 'धरहराको आयातन तलबाट माथि पुग्दा विस्तारै घट्दै गएको छ। यसैले त्यस्तै निर्माण गर्न चारैतिरबाट २ डिग्रीमा ढल्काउँदै बनाउनुपर्छ। त्यस्तो भएन भने माथि समस्या हुन्छ। होसियारीपूर्वक बनाउन सजग छौं।'
भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो। १९९० सालको भुइँचालोमा भत्किएर नौ तला पुनर्निर्माण गरियो। ०७२ को भुइँचालोमा त गर्लम्मै ढल्यो। धरहरा पटक–पटक भुइँचालोमा ढलेका कारण यो पटक परम्परागत सामग्री नभई सिमेन्ट, बालुवा, इँट्टा, डण्डी लगायत प्रयोगबाट आधुनिक शैलीमा निर्माण हुँदैछ।
डिजानइनअनुसार यसमा लिफ्ट चढेर माथि जाने सुविधा हुनेछ। हिँड्दै जान चाहनेलाई सिँढी हुने र अपांगमैत्री पनि हुने भनिएको छ। गोश्वरा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार हुनेछ। टिकट काटेपछि भूमिगत दुई तलामुनिबाट लिफ्ट चढेर २२ तला माथि पुग्न सकिन्छ।
मानन्धरका अनुसार लिफ्टलाई सिधा माथि लग्ने कि ठाउँ ठाउँमा रोक्ने भन्ने निर्णय गर्न बाँकी छ। धरहराको १६ फिट अग्लो गजुर पनि प्राधिकरणले संरक्षणमा राखेको छ जुन नयाँमा प्रयोग हुनेछ।
'धरहराको परिसर विस्तार गरेर तीनै प्रहरका लागि बनाइनेछ,' मानन्धरले भने, 'बिहान वृद्ध-वृद्धालाई घुम्ने र योग गर्ने ठाउँ, दिउँसो धरहरा चढेर रमणीय वातावरण हेर्ने र बेलुकी झिलिमिली र म्युजिकल फाउन्टेनसहितको धरहराको सुन्दरता हेरेर आनन्द लिन सकिनेछ।'
यसका निम्ति कसलाई, कुनबेला, कसरी आउन दिने भन्ने व्यवस्थापन तरिका निर्क्यौल हुन र कार्यविधि बन्न बाँकी रहेको उनले बताए।
यहाँ तीन तले सवारी पार्किङ स्थल पनि निर्माण गरिनेछ जहाँ झण्डै ४ सय गाडी र सात सय मोटरसाइकल अटाउनेछन्। धरहरामा दुई तले 'सोभिनियर' पसल पनि बन्दैछ जसमा यहीँ बनेका सामान पाइनेछन्। एकतलाको संरचना तयार भइरहेको छ। हालसम्ममा निर्माणमा करिब ५० करोड खर्च भइसकेको मानन्धरले बताए।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी