वीरेन्द्रनगरको मध्य बजारमा सधैंजसो करिब एक किलोमिटर आसपासमै एउटा गोरु भेटिन्छ। त्यसबाहेक अन्यत्र हिँडेर जान सक्ने अवस्था उसको छैन। दाहिने खुट्टा टेक्न नमिल्नेगरी भाँचिएको छ।
बजारमा चरन भेटिने कुरा भएन, चौरसम्म जान सक्दैन। सडक छेउ राखिएको डस्टबिनमा फालिएका केही कुरा खान खोजे मान्छेले हिर्काइ हाल्छन्।
फोरलेन सडकमा अर्को गोरु छ। त्यसको पनि देब्रे खुट्टामा टेक्न नमिल्ने गरी चोट लागेको छ। टाढासम्म हिँडेर जान नसक्ने उसले पनि सडकमा भोक पचाएर बस्नुको विकल्प छैन। छाडा चौपायालाई अरुले घाँस ल्याएर दिने, उपचार गरिदिने त कुरै भएन।
वीरेन्द्रनगरमा मात्र होइन, अधिकांश बजार क्षेत्र र पक्की सडकमा छाडा पशुचौपाया भेटिन्छन्। उनीहरूमा मान्छेको ध्यान जाने भनेको 'सवारी दुर्घटना गराए' भन्ने मात्र हो। दुर्घटना त छाडा चौपायाको वास्ता नगर्दा मान्छेले गराउने हो। दुर्घटनाबाट ती पशुचौपायालाई कति क्षति पुग्यो भनेर कसैले हेर्दैनन्।
यस्तै एउटा घटना साउन १८ गते भयो। उक्त दिन बिहानै सवारी साधनले हानेर एउटा बाछीको पेटतिरको पूरै भाग च्यातियो। सवारी चालकले वास्ता नगरी हिँडे। बाछीलाई कति चोट लाग्यो भनेर हेर्नुभन्दा पनि आफ्नो सवारीमा क्षति पुगे/नपुगेकोमा चिन्ता हुने नै भयो!
बालुवा किन्न गएका एकजना सशस्त्र प्रहरीका जुनियर अधिकृतले बाछी देखे। उनले पशु अस्पताल पुर्याए। शनिबार परेकाले कुनै बेला डाक्टर छैनन्, कुनै बेला सामग्री छैन भन्दै टार्न खोजिरहेका अस्पतालका कर्मचारीलाई धेरै अनुरोध गरेपछि मात्र उपचार गरिदिए।
मान्छेले जोत्न सक्ने बेलासम्म गोरु र दूध दिने बेलासम्म मात्र गाई पालेर पछि सडकमा छोडिदिनु बिडम्बनै हो। सम्बन्धित निकायले छाडा पशुचौपाया व्यवस्थित बनाएर राख्न नसक्नु र सवारी चालकले दुर्घटनाको दोष उनीहरूलाई मात्र दिनु पनि चौपायाका लागि बिडम्बना हुन्।
सडकमा घाइते चौपायाको उद्धार गर्ने परोपकारी संस्था यो क्षेत्रमा छैनन्। त्यसैले कतिपय घाइते चौपाया बाँचुञ्जेलसम्मै पीडामा हुन्छन्।
पशुसम्बन्धी सरकारी अस्पतालमा घाइते केही चौपाया प्रहरीले ल्याएर उपचार गराउने गरेको जिल्ला पशुसेवा कार्यालय, सुर्खेतका अधिकृत मोहन गिरीले बताए।
प्रहरीले ल्याएकामध्ये अंगभंग भएका अहिलेसम्म चारवटाको उपचार गरिएको उनले जानकारी दिए। दुर्घटनामा चौपाया घाइते भएको थाहा पाएपछि प्रहरीले ल्याएर उपचार गराए पनि सर्वसाधारणबाट यसमा सहयोग नभएको उनले बताए।
'सर्वसाधारणबाट यस्तो घटनाको खबर आउँदैन। प्रहरीले ल्याउँछ, हामी उपचार गरिदिन्छौं,' उनले भने, 'बरु निको भएपछि मेरो हो भनेर आउँछन् र लैजान्छन्।’
दुर्घटना भएर कार्यालयमा आएका सबै पशुहरूको उपचार सफल भएको गिरीको भनाइ छ।
वीरेन्द्रनगरमा छाडा चौपायाको संख्या कति छ भन्नेबारे कसैसँग यकिन तथ्यांक छैन। नगरपालिकाले बल्ल अब तथ्यांक लिने तयारी गरिरहेको मेयर देवकुमार सुवेदीले जानकारी दिए। नगरपालिकाभित्रका चौपायालाई व्यवस्थित गर्ने तयारी पनि भइरहेको उनले बताए।
वडा नम्बर ११ मा पर्ने चारकुनेमा व्यवस्थित गौशाला बनाएर छाडा चौपाया राख्ने र त्यहाँबाट गोबरग्यास उत्पादन गरी वितरण गर्न लागिएको सुवेदीले जानकारी दिए।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा गाईगोरु व्यवस्थापन गर्ने प्रयास गरिएको जनाएको छ। छाडा चौपाया पाल्ने र प्रांगारिक मल तथा विषादी बनाउने काम मन्त्रालयको मातहतमा भइरहेको कृषिमन्त्री विमला केसीले बताइन्।
'यसले केही हदसम्म छाडा चौपाया नियन्त्रण हुने अपेक्षा छ। बाँकी कृषकलाई पनि प्रोत्साहन गरेर यसरी पशु नछोड्ने बनाउन सकिन्छ,' मन्त्री केसीले भनिन्।
मन्त्रालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर, लेकवेशी र बराहतालमा छाडा चौपाया लिएर मल बनाउने काम भइरहेको छ।