उनको ज्यान पातलो छ। उमेर २१ लागिसक्दा पनि होचै छन्। साथीहरू भन्छन्- लुरे।
‘ज्यान हेरेर नाम राख्दिए साथीहरूले,’ उनले सेतोपाटीसँग भने, ‘मलाई लुरे नाम प्यारो लाग्छ।’
रोहित गिरीको ज्यान नभएर के भो, काम त छ नि!
अहिले पोखरा उपत्यकाभर कतै सर्प भेटिए रोहितलाई फोन आउँछ। यो वर्षामा मात्र उनले ६० बढी सर्प समाइसके।
‘मंगलबार मात्रै छोरेपाटन र लेकसाइडबाट र्याट स्नेक र कोब्रालाई रेस्क्यू गरें,’ उनले भने।
पोखरा-१७ डेभिड फल्समा बस्ने रोहितले सर्प समाउने काम १२ वर्षको हुँदाबाट सुरू गरेका हुन्।
एकदिन छिमेकीको घरमा सर्प आएको रैछ। सबै मान्छे होहल्ला गर्न थाले। त्यो सुनेर उनी पनि गए। त्यो ग्रीन पिट भाइपर सर्प रहेछ। जसलाई बोलीचालीमा हरेउ भनिन्छ।
रोहितले सर्प समातेर सुरक्षित ठाउँमा लगेर छाडिदिए।
एउटा/दुईटा समात्दै जाँदा उनलाई सर्प समात्ने बानी लाग्यो।
‘सानैबाट टिभीतिर सर्प हेर्दा रमाइलो लाग्थ्यो,’ रोहितले भने।
उनले अहिलेसम्म पाँच सय बढी सर्पको उद्धार गरिसकेका छन्। घरभित्र छिरेका, मान्छेले मार्न लागेका, घाइते भएका सर्पलाई उनी उद्धार गर्छन्।
कहिलेकाहीँ उनी सर्प देखिएको ठाउँमा ढिला पुग्छन्। मान्छेहरूले ढुंगा हानेर रगताम्मे बनेको सर्प देख्दा उनको मन खिन्न हुन्छ। त्यस्तो गर्नुहुन्न भनेर सम्झाउँछन्।
घाइते सर्पलाई समातेर उनी घर ल्याउँछन्। घाउ सफा गर्छन र मल्हम लगाइदिन्छन्।
सर्पलाई कसरी उद्धार गर्ने, चोटपटक लाग्दा के गर्ने, उनी यस्ता कुरा गुगलमा खोजी बस्छन्। सर्प उद्धारमै काम गर्ने विदेशीहरूले बनाएको भिडिओ हर्छन्। उनीहरूलाई मेसेज गर्छन्।
रोहितले नेपालमा पाउने प्राय: सबै प्रजातिको सर्प चिन्छन्। विषालु र अविषालु सर्प छुट्याउन सक्छन्।
‘सर्प नचिनी म समात्न जान्नँ,’ उनले भने।
सर्पसँग अरूलाई जस्तो डर नलाग्ने उनले बताए।
‘हामी थाहा हुन्छ कुन सर्प कस्तो हुन्छ भनेर। सर्पलाई नजिस्काए, नचलाएसम्म टोक्न जाँदैन,’ उनले भने।
तैपनि उनलाई सर्पले ५० पटकभन्दा बढी डसिसकेको छ। धन्न ती सबै अविषालु सर्प रैछन्।
दुई महिनाअघि मात्र कोब्राले फोटो खिच्ने बेलामा आँखामा विष फाल्देको उनी बताउँछन्। सर्पको थुकको छिटा आँखामा परेपछि उनले हत्तपत्त पानीले सफा गरे र अस्पताल गए। चार दिनसम्म अस्पताल बसेपछि ठीक भयो।
पटक-पटक डस्दा पनि उनले सर्पको उद्धार गर्न छोडेका छैनन्।
रोहितले सर्प उद्धार गर्ने गरेको परिवारले छरछिमेकको मुखबाट सुने। सुरूमा आमाले गाली गरेको उनी सुनाउँछन्। आमाको गाली खाँदै उनले सर्पको उद्धार गर्दै गए।
अहिले त परिवारले राम्रो भन्ने गरेको उनी बताउँछन्। कहिलेकाहीँ उनलाई फोन लागेन भने आमाकोमा फोन आउँछ। आमाले नै उनलाई फलानो ठाउँमा सर्प भेटिएको छ, जानु रे भनेर खबर गर्छिन्।
रोहितमात्र हैन उनका भाइ रोशन गिरी पनि सर्पको उद्धार गर्ने काम गर्छन्। भाइलाई पनि आफूले नै सिकाएको उनी बताउँछन्।
‘म नभएको बेला भाइ र भाइ नभएको बेला म जाने गर्छु,’ उनले भने।
रोशनले पनि सर्पको उद्धार गर्न थालेको ३ वर्ष भयो।
सर्पको उद्धार गरेबापत रोहितले केही पाउँदैनन्। तर पनि यो कामबाट उनी पछि हटेका छैनन्। सर्प उद्धारको लागि फोन आउनबित्तिकै बाइक स्टार्ट गर्छन् र दौडिहाल्छन्।
एक दशक बढी समय सर्प उद्धारको काममा बिताउँदा कति खर्च भयो उनी आफैंसँग त्यसको हिसाबकिताब छैन।
‘फोटोग्राफीबाट अलिकति पैसा आउँछ। त्यसैबाट यता पनि म्यानेज गर्छु,’ उनले भने।
बीएस्सी, बायोलोजीका विद्यार्थी रोहित फोटोग्राफी पनि गर्छन्। उनले फोटोग्राफी सुरू गरेको ३ वर्ष भयो।
बीएस्सी सकेर विदेश अध्ययन गर्न जाने उनको इच्छा छ।
‘विदेश गएँ भने त्यहाँ पनि सर्पबारे अध्ययन गर्छु र नेपाल फर्केर यसमै केही काम गर्छु,’ उनले भने।