केही उच्छृंखल युवाहरूले किशोर-किशोरीको जबरजस्ती विवाह गराएको भिडियो समाजिक सञ्जाल फेसबुकमा केही दिनयता भाइरल भइरहेको छ। यो घटना धनुषा जिल्लाको हो।
सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ। यति मात्र नभई ती उच्छृंखल युवाहरूले ती किशोर किशोरीलाई जबरजस्ती विवाह गराइरहँदा दर्जनौं व्यक्ति रमिते भएर तालि बजाइरहेको समेत देख्न सकिन्छ।
भीडमा रहेका अधिकांशले आ–आफ्नो मोबाइलमा यो अपराधलाई रमितेको रुपमा लिई भिडियो समेत खिचिरहेको देखिन्छ। त्यसैमध्ये कुनै एक जनाले यो भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन्।
यति हुँदासम्म पनि यो घटनाको उजुरबाजुर कतै लागेको छैनन्। सुरुमा बालिकाको बदनामी हुने भन्दै त्यहाँका वडाध्यक्षको दबाबमा यो घटना लुकाउने प्रयास गरियो, तर सामाजिक सञ्जालमा भिडियो नै भाइरल भएपछि अहिले बालिकालाई घरबाहिर निस्किन समेत कठिन भएको छ।
एकै विद्यालयमा पढ्ने सिमा (नाम परिवर्तन) र राहुल (नाम परिवर्तन) सुरुदेखि नै मिल्ने साथी थिए। उनीहरूको मित्रताबारे दुबैका घर परिवारलाई समेत थाहा थियो। दुवै १७ वर्षका हुन्।
मंगलबार अपराह्न २ बजेतिर उनको भेट राहुलसँग भएको थियो। धेरै दिनपछि भेट भएका कारण दुबैले एक अर्काको हालखबर सोधे। दुबै मिल्ने साथी भएकाले एकछिन गफ समेत गरे। त्यतिकैमा उनीहरू दुबैलाई केही युवकले देखे र उनीहरूको छर छिमेकका युवाहरूलाई फोन गरिदिए।
सिमा भन्छिन्, ‘हामी सामान्य कुरा गर्दै थियौं। त्यतिकैमा गाउँकै केही युवकहरू बाँसको हरियो लठ्ठी लिएर आए र हामी दुबैलाई बेस्सरी कुट्न थाले।’
पाँच जनाको समूहमा रहेका युवकहरूले केही बोल्नै नदिई लाती, लठ्ठी र झापड़ले गाला, ढाड र तिघ्रा सबैमा हिर्काएको सिमाले बताइन्। उनले भनिन्, ‘पछि यिनीहरू समाज बिगार्ने काम गर्दैछन् भनेर हामी दुबै जनालाई घिसार्दै मन्दिरमा लगियो र त्यहाँ हामी दुबैको अभिभावक समेतलाई बोलाइयो। दुबैको अभिभावक पुगेर यसो नगर्नुस् भन्दा उनीहरूलाई त्यहाँबाट भगाइयो र हामीलाई मन्दिर नजिकै रहेको स्कुलमा लगि जबरजस्ती विवाह गराइयो।’
युवकहरूको पिटाइले सिमाको बाहुला, तिघ्रा, पिठ्युँ, ढाड़मा निलडाम बसेको छ। बालविवाहलाई नेपालको कानुनले दण्डनीय मानेको छ। बालविवाह गराउनेलाई सजायको समेत व्यवस्था गरिएको छ।
तर, यहाँ बालविवाहलाई लुकाउन त्यहीँका वडाध्यक्षले प्रमुख भूमिका निर्वाह गरेको पाइएको छ। घटनालाई सामसुम पार्न वडाध्यक्षले गाउँमै मिलापत्रका लागि बालिकापक्षलाई दबाब दिइरहेको खुलासा भएको छ।
वडाध्यक्षले आफू घटनालाई सामसुम गर्ने प्रयास नगरेको बरु गाउँमा घटित यो घटनाबाट उत्पन्न परस्थितिलाई सामान्य बनाउन सुरुदेखि नै पहल गरिरहेको दावी गरे। उनले भने, ‘आफूलाई घटनाबारे थाहा भएलगत्तै गाउँ पुगेँ, गाउँको नै बदनामी हुन्छ भनेर प्रहरीमा नगई गाउँमै समस्या समाधान गर्ने प्रयास गरेँ।’
वडाध्यक्षले ‘गाउँको विषय गाउँमै कानुनी’ रङ नदिई व्यावहारिक रुपमै मिलाउने प्रयास गरेको बताए। यता बालविवाह गराएका युवकहरूको जीवन नै बर्बाद हुने भन्दै बालिका र परिवारसँग माफी माग्न लगाई घटनालाई सामसुम पार्ने प्रयास भइरहेको बालिकाका बुवाले बताए।
उनले भने, ‘म त खासै केही जान्दिनँ तर छोरीको जबरजस्ती विवाह गराइयो। यहाँसम्म कि मैले सबैसँग हारगुहार समेत लगाए त्यस्तो नगर्न तर कोही कसैले सुनेनन्। अब चाहिँ प्रहरीकोमा नजानुस्, युवकहरूको जीवन र बालिकाको इज्जत जान्छ भन्ने डर र दबाब दिन थालेका छन्।’
ईलाका प्रहरी कार्यालय रेल्वे स्टेशनका सई लेखनाथ खनालले जबरजस्ती विवाह भएको घटना थाहा पाउनेबित्तिकै घटनामा संलग्न केही युवकलाई पक्रिएको तर केटा र केटी पक्षबाट कुनै प्रकारको जाहेरी नपरेपछि बाध्यवश उनीहरूलाई रिहा गरेको बताउँछन्।