कीर्तिपुर नगरपालिका-६ मा पर्ने पर्यटकीय गन्तव्य टौदह क्षेत्रनजिकै गर्न लागिएको डिप बोरिङ स्थानीयको तीव्र विरोधपछि रोकिएको छ।
ओम अदिति इन्टरप्राइजले टौदह नजिक डिप बोरिङ गर्न लाग्दा स्थानीयले विरोध जनाएका हुन्।
टौदहको र वरिपरिका मुहानको पानी सुक्ने भन्दै स्थानीयले डिप बोरिङ गर्न नदिने अडान लिएका थिए।
नौमुले मुहान दक्षिणकाली र किर्तिपुर नगरपालिकाका केही बासिन्दाको पानीको मुख्य स्रोत हो।
इन्टरप्राइजले बनाएको रिपोर्टमा डिप बोरिङ गर्दा टौदह र अन्य मुहानमा असर नपर्ने देखाए थियो। तर स्थानीयहरूले डिप बोरिङ गर्न नदिने भनेपछि उक्त योजना रोकिएको कीर्तिपुर -६ का वडाध्यक्ष न्हुच्छे महर्जनले जानकारी दिए।
‘प्रविधिक रिपोर्टमा केही असर गर्ने थिएन तर स्थानीयले पानी सुक्छ भनेपछि उहाँहरूसँग बसेर तत्काल काम नगर्न निर्णय भयो,’ महर्जनले भने।
सरकारले नौमुले मुहानमा १० करोड लगानी गरेर डबल पम्पिङबाट दक्षिणकालीमा पन्ध्र सय र टौदहमा एक हजार घरधुरीलाई पानी बाँड्दै आएको छ।
‘राति-राति पानी आउने भएकाले पहिले यहाँका महिलाहरू सुत्न पाउँदैनथे। हामीले मुहानको पानी व्यवस्थित गर्यौं। तर अहिले कुनै सम्झौता नै नगरी काम डिप बोरिङको काम सुरू गर्न लागेछन्,’ दक्षिणकाली-१ का वडा सदस्य महेश लामाले सेतोपाटीसँग भने।
इन्टरप्राइजले व्यापारिक प्रयोजनका लागि डिप बोरिङ गर्ने योजना बनाएको थियो।
डिप बोरिङ गर्न लागेको थाहा पाएपछि स्थानीय दिलकुमार केसीले हस्ताक्षर संकलन गरी वडा कार्यलयमा बुझाएका थिए।
आफूले हस्ताक्षर संकलन गरेको थाहा पाएपछि इन्टरप्राइजका मानिसहरूले धम्की दिएको उनले बताए।
स्थानीयको व्यापक विरोधपछि वडा कार्यलयले नियमअनुसार शुक्रबार सार्वजनिक सुनुवाइ गर्यो।
‘पहिला सित्तैमा पानी खान्थ्यौं। अहिले पानीको पैसा तिर्नु परेको छ,’ सुनवाइका क्रममा स्थानीय शारदा कार्कीले भनिन्,‘पैसा तिर्न हामीलाई कुनै आपत्ति छैन तर डिप बोरिङ गरियो भने हामीले अहिलेको जति पनि पानी पाउन्नौं।’
सुनुवाइको बीचमै झडप भयो। स्थानीय मैना बयलकोटी घाइते भइन्। सुनुवाइमा केही निर्णय हुन भएन।
आइतबार फेरि इन्टरप्राइजका मानिस वडा कार्यालय गए।
‘स्थानीयको व्यापक विरोध भएकाले तत्काल डिप बोरिङ नगर्ने निर्णय भएको जानकारी दिएँ,’ वडाध्यक्ष महर्जनले भने।