आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना सार्वजनिक गरेको छ।
सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
योजना सार्वजनिक गर्नुअघि कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेलाई योजना हस्तान्तरण गरेका थिए।
योजनाबारे जानकारी दिँदै कन्सल्टेन्सीका सदस्य चिरञ्जीवी पौडेलले एकीकृत सहरी विकास योजना तर्जुमा गर्दा आगामी १५ वर्षको भिजन तय गरिएको बताए।
३ सय ९ पृष्ठको उक्त एकीकृत सहरी विकास योजनामा आर्थिक वर्ष ०७५/७६ देखि ०८०/८१ का लागि योजना, लक्ष्य, रणनीति, आवश्यक बजेट र कार्यान्वयनको ढाँचा प्रस्तुत गरिएको छ।
उक्त योजनाले आगामी पाँच वर्षमा नगरको आर्थिक वृद्धिदर १०.३ प्रतिशत हुने र १५ वर्षमा साढे १० प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ। अहिले तिलोत्तमा नगरको आर्थिक वृद्धिदर ६.८ प्रतिशत छ।
त्यस्तै हाल एक हजार ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा पाँच वर्षमा एक हजार ५ सय ९५ र १५ वर्षमा १० हजार पुर्याउने लक्ष्य निर्धारण गरिएको छ।
त्यसैगरी, हाल १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेकोमा पाँच वर्षमा १० प्रतिशत र १५ वर्षमा शून्यमा झार्ने रणनीति तय गरिएको छ।
त्यस्तै, हाल ९० प्रतिशत रहेको साक्षरता प्रतिशत पाँच वर्षमा ९५ प्रतिशत र १५ वर्षमा शत प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।
हाल ३.११ प्रतिशत रहेको उच्च शिक्षामा पहुँचको अवस्था आगामी पाँच वर्षमा ६.१ प्रतिशत र १५ वर्षमा १२ प्रतिशत पुर्याइने उल्लेख छ। सहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ।
आगामी १५ वर्षका लागि सडक निर्माणतर्फ १६ अर्ब एक करोड ६० लाख खर्च हुने योजनाले अनुमान गरेको छ।
यसमा ९९ किलोमिटर कालोपत्रे सडक थप हुनेछ। त्यस्तै, तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी कोरिडोरसहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिइएको छ।
योजना अनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रंगशाला, फोहोर व्यवस्थापन केन्द्र, अटो भिलेज जस्ता विषय पनि प्राथमिकतामा परेका छन्।
योजना सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले तिलोत्तमा नगरले योजना निर्माणमा अरू पालिकालाई उछिनेको बताए।
उनले प्रदेश सरकारले प्रदेशका १ सय ९ वटै पालिकालाई योजनाबद्ध विकासका लागि आह्वान गरेको समेत बताए।
पर्यटनमन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताए।
प्रदेश सांसद दधिराम न्यौपानेले एकीकृत सहरी विकास योजनाले विकासको मार्गदर्शन तय गरकाले यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह गरे।
प्रदेश योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमूना नगर बनाउने उद्धेश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत सहरी विकास योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताए।
नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले १५ वर्षे दीर्घकालीन योजनाले बोकेका लक्ष्य पूरा भए नगरले समृद्धि हासिल गर्ने बताए।
कन्सल्टेन्सीका अध्यक्ष केसीले तिलोत्तमा नगरले परिकल्पना गरेको ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउने गरी नै योजना तर्जुमा गरिएको बताए।
योजनाले कृषि, उद्योग, पर्यटन र व्यापारलाई पनि प्राथमिकतामा राखेको छ भने हाल १२ प्रतिशत रहेको वन क्षेत्र पाँच वर्षमा १५ प्रतिशत पुर्याउनुपर्ने उल्लेख छ।