कृष्ण खड्कालाई गीत गाउन मनपर्छ। साथीहरू भेला भएर नाच्न झन् रमाइलो। ३१ वर्षीय कृष्णलाई घुम्न पनि मनपर्छ। हृष्टपुष्ट छन्। जोशजाँगर उत्तिकै। बोल्न पनि खप्पिस।
तर मन लागेका धेरै कामकुरा गर्न सक्दैनन् उनी।
भोक लागेको पत्तो हुँदैन। खाना-खाजा तालिकाअनुसार अरूले खुवाइदिन्छन्। कहिलेकाहीँ जिब्रोको स्वादले लोभ्याउँछ। अघाएँ कि पेटमा अझै अट्छ थाहा पाउँदैनन्।
कसैले मायाले सुम्सुम्यायो वा रिसले चिमट्यो, हेक्का हुँदैन। मुख धोइदिनेदेखि लुगा लगाइनेसम्म अरूकै भर। कृष्ण न आफ्नो शरीर चलाउन सक्छन्, न वर्षौंदेखि चल्मलाउन नसकेको जीउको दुखाइ महशुस गर्छन्।
विगत नौ वर्षदेखि उनी यस्तै समस्यासँग जुधिरहेका छन्। उनको घाँटीभन्दा तलको भाग चल्दैन। मेरूदण्ड पक्षघात भएको छ।
'घाँटीभन्दा तलको भागमा केही अनुभव हुँदैन,' उनले भने।
२०४५ साल, माघमा पाल्पाको खस्यौलीमा जन्मेका कृष्ण कान्छा छोरा। सबैको मायाले पुल्पुलिएका। खान-लाउन दु:ख थिएन। कक्षा ११ पढ्दै गर्दा बुबा गुमाए, पीडा भोगे। दुखी मन बोकेर पढ्न सकेनन्।
साथीभाइ विदेश गएर कमाएको देखे। उनीहरूको 'आधुनिक' जीवन देखे। विदेश जाने रहर लाग्यो।
'१८ वर्षमै धन कमाउने आशामा मलेसिया उडेँ,' कृष्णले पुराना दिन सम्झिँदै भने।
उनी तीन वर्षका लागि गएका थिए। चार वर्षसम्म फिरेनन्। घर फर्कने सोच नबनाएका होइनन्। छिट्टै गाउँघर जाने, साथीभाइसँग भेटघाट गर्ने, विदेशमा भएका रमाइला घटना सुनाउने। तर उतै रमाइलो लागिरह्यो। राम्रो काम र दाममै भुलिए।
अनि आयो कृष्णको जीवनकै 'कालो दिन'- २०६७ साल, मंसिर २१ गते।
उनी बिहान शारीरिक व्यायाम गर्दै थिए। सधैंझैं खुट्टा माथि, टाउको तल राखेर अडिए। अचानक शरीरको सन्तुलन बिग्रियो।
'दिनकै गर्थेँ, त्यो दिन बिग्रियो। त्यस्तो बेस्सरी लडेको पनि थिइनँ। अस्पताल पुगेर डाक्टरसँग कुरा गरेकोसम्म याद छ,' उनले सम्झिए।
त्यस दिन ढलेका कृष्ण उठ्न नसक्ने गरी कोमामा गए। मेरुदण्ड पक्षघात भएकाले शरीर चल्थेन। घाँटीमा प्वाल बनाएर खानाको पाइप राखियो। तीन महिनापछि होसमा आए। न बोल्न सक्थे, न चलमलाउन। उनलाई जीवन दिक्दार लाग्यो।
'म सुन्न सक्थेँ तर बोली थिएन। पानी खानुपर्यो भने इशारा गर्थें, कसैले बुझ्थेनन्,' उनले सुनाए, 'पछि बल्ल आवाज आयो र म यत्तिको भएँ।'
स्वर खुलेपछि उनलाई जीवनप्रति पनि आश जाग्यो।
एघार महिना यही अवस्थामा मलेसिया बसे। अनि उनका माइला दाइ जंगबहादुर खड्काको सहयोगमा काठमाडौं आए। त्यसपछि नै हो उनी काठमाडौंको जोरपाटीस्थित खग्नेन्द्र नवजीवन केन्द्रसँग जोडिएका।
'दाइ कोरिया गएको तीन महिना मात्रै भएको थियो। मेरै लागि उहाँ नेपाल आउनुभयो र मलाई पनि ल्याउने पहल गर्नुभयो,' उनले भने, 'उहाँहरूलाई थप दुःख दिन चाहिनँ। दाइलाई भनेरै म यो गृहमा आइपुगेको हुँ।'
खगेन्द्र नवजीवन केन्द्रमा उनी बसेको आठ वर्ष भयो। पहिला ६ हजार तिरेर बस्नुपर्थ्यो। चार वर्षयता उनको बस्ने खाने-व्यवस्था सरकारले गरिदिएको छ।
कृष्णका हातखुट्टा चल्दा हुन् त यतिखेर कि विदेशमा हुन्थे, कि घरजम गरेर परिवारसँग। वा गाउँघरमै सुखदुःख गर्दै गरेका भेटिन सक्थे।
हिँड्डुल गर्न, आफैं खान, चाहेका ठाउँमा पुग्न नसक्ने हुँदा उनको जीवनको बाटो बदलियो।
कृष्णले कमजोरीलाई बाधा बन्न दिएनन्। बरू शक्ति बनाउने अठोट लिए। जीवनले जे दियो, त्यसमा बाँच्न र रम्न सिके। नौ वर्षअघि उनलाई जीवन जति रमाइलो लाग्थ्यो, आज पनि उत्तिकै प्यारो लाग्छ।
'आफ्नो लागि जो पनि बाँच्छ, अरूका लागि सानै भए पनि केही गर्दा पाइने खुसी सबभन्दा ठूलो कुरा रहेछ। म यसबाटै सन्तुष्ट छु,' खुसी हुँदै सुनाउँछन्।
टाउकोकै सहारामा भए पनि सार्थक जीवन बिताउने सोचेका छन्। र, उनले नयाँ प्रयास थालेको नौ महिना भयो।
कृष्णले गृहमा बस्ने दाजुभाइ-दिदीबहिनीलाई रोजगारी दिने उद्धेश्यले माला, किरिङ, ब्रासलेट लगायत बनाउँदै आएका छन्। उनीहरूको खाली समय उपयोगका साथै आम्दानीको बाटो समेत खोलिदिएका छन् उनले।
'गरे के सम्भव छैन, गर्न सक्दिनँ भन्नु बहाना मात्रै हो,' उनले भने, 'यहाँ यसै समय खेर फाल्नुभन्दा काम गरे आफूलाई नि हुने, अरूलाई नि हुने भनेर उत्पादनमूखी काममा लागेको हुँ।'
उनी आफैं त केही बनाउन सक्दैनन्। हात चल्ने साथीहरूका लागि यस्ता उपाय निकाल्छन्। बजार व्यवस्थापन गर्छन्। कमाइले गृहभित्रकै साथीहरूको आवश्यकता पूरा गर्नतिर पनि लागेका छन्।
उनले पाँच हजार रूपैयाँमा सुरू गरेको कामले अहिले दुई लाख बराबरको कारोबार गरिसकेको छ।
'लाखभन्दा बढीको काम गरेपछि हिम्मत र साहस अझ बढेको छ,' उनले भने।
फाइदा भएको पैसा उनी आफ्ना लागि खर्च गर्दैनन्। गृहमै आवश्यक पर्नेलाई सहयोग गर्छन्।
'सानो सहयोगले कसैको जीवनमा ठूलो बदलाव हुन्छ भने किन नगर्ने' उनी सोच्छन्।
गृहमै बस्ने डण्डबहादुर बुढाथोकीलाई ६०/६५ हजार सहयोग गरेका छन्।
'टंकको यहीँ ह्विलचेयर वर्कशप छ। उनको कामका लागि हाम्रो आम्दानीबाट सहयोग गरेका हौं,' कृष्ण सुनाउँछन्।
गृहमा बत्तीहरू फेर्दा गत महिना लगभग ३० हजार खर्च भयो। उनी लगायत साथी मिलेर आफ्नै खर्चमा गृह झलमल्ल बनाए।
त्यस्तै पढ्न चाहने तीन अपांगता भएका विद्यार्थीका लागि चार पाङ्ग्रे स्कुटर किन्न सघाएका छन्। दस जनालाई उनकै पहलमा बिजुलीबाट चल्ने मेच प्रदान गरे।
यसबाहेक नवजीवन गृहको अव्यवस्थित फोहोर व्यवस्थापन गर्न ३५ हजारमध्ये आधा खर्च बेहोरेर कृष्ण र साथीहरूले नै फोहोर घरहरू बनाए। बाँकी खर्च एउटा संस्थाले दियो।
शारीरिक अपांगता भएकाहरूलाई 'म्युजिक थेरापी' जस्तै होस् एक महिनाअघि वाद्यवादनका सामग्री किनेका छन्।
'देउसीभैलो खेल्ने बेला अरूसँग माग्न नपरोस् भनेर स्पिकर किनेका छौं। आफैं कमाएको पैसाले किन्दा गृहका साथीहरू दंग छन्', उनले खुसी बाँडे।
दुई थान सोलार सेट पनि उनकै पहलमा गृहमा राखिएको छ। पाँच वटा अपांगमैत्री शौचालय मर्मत गरिएको छ।
यी सबै कामको उनीसहित सात जना मिलेर योजना तथा कार्यान्वयन गर्छन्। अपांगता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन् भन्ने बुझाइ गलत साबित गरेको उनी बताउँछन्।
'मेरो उद्धेश्य आफूजस्तै साथीहरूलाई आत्मनिर्भर बनाउने हो। कसैले कसैसँग हात फैलाएर माग्न नपरोस्। सबैमा क्षमता हुन्छ। आफूलाई कमजोर देखाउनु बहाना मात्रै हो,' उनको भनाइ छ।
उत्पादन हुने माला, किरिङ, ब्रेसलेटहरू देशभित्र र बाहिर पठाउँछन्। विदेशी र स्वदेशीका लागि फरक मूल्य राखेका छन्। नेपालीलाई सयदेखि डेढ सयसम्मा बिक्री गर्ने सामानको विदेशीका लागि दुई सयभन्दा बढी मूल्य पर्छ।
सामानहरू विशेषगरी युरोपेली देश- नेदरल्यान्डस्, स्पेनमा बढी बिक्री हुने उनले बताए। बजार फैलिँदै गएको उनले महशुस गरेका छन्।
'मार्केटिङमा ध्यान दिँदै अगाडि बढ्नुपर्छ अब,' उनी भन्छन्।
उनलाई यी सबै काम गर्ने आँट उनका परिवार र साथीहरूले दिएका हुन्। परिवार उनीप्रति सकारात्मक नहुँदो हो त ऊर्जा मिल्दैन थियो होला। आफूलाई बाँच्न प्रेरणा दिने दाजुभाइप्रति उनी कृतज्ञ छन्।
साथै आफ्ना योजना र चाहना पूरा गर्न सघाउने प्रविधिलाई देवता नै मान्छन्।
टाउको मात्र चल्ने कृष्ण प्रविधिसँग गाँसिएका छन्। उनको शरीर ठीक बनाउन नसके पनि प्रविधिले काम गर्ने र बाँच्ने बाटो दिएको छ। हौसला दिएको छ। यसैले आफूसँग भएको प्रविधि भरपुर उपयोग गर्छन्।
'प्रविधिले गर्दा नै यति गर्न सकेको छु। म मात्रै होइन, यो सबैको आवश्यकताभित्र परिसक्यो,' उनले भने।
उनले प्रयोग गर्ने ह्विलचेयर अत्याधुनिक छ। हातले चलाउन सक्दैनन्। चिउँडोको सहायताले गुडाउँछन्।
ह्विलचेयर अगाडि 'ट्याब्लेट' राखेका छन्।
नेदरल्यान्डस् बस्ने साथी मोनिक दरुको सहयोगमा उनको टाउकोमा पेन जस्तै 'स्टाइलस' भन्ने उपकरण राखिएको छ। उपकरण पहेँलो हेलमेटमा अड्याइएको छ। यसैको सहयोगमा उनी ट्याब्लेटमा हातले गर्ने काम गर्छन्।
इन्टरनेटमार्फत साथीभाइसँग कुरा गर्छन्। व्यवसायका लागि आइडिया खोज्छन्, विदेशीसँग सम्पर्क गर्छन्। स्पेनिस, फ्रेन्च, पोर्चुगिज भाषा समेत सिकेका छन्।
देख्नेका लागि उनी ह्विलचेयरमै सीमित छन्। तर यसैमा बसेर उनले संसार नियालेका छन्। यताउता डुल्छन्। यसैमा मोबाइल पनि राखेका छन्। आफन्तसँग कुरा गर्छन्। विदेशी साथीहरूसँग कहिले व्यवसायका त कहिले सञ्चोविसञ्चोका कुरा हुन्छ।
'मेरो संसार यसमा अटेको छ। यताउता डुल्नेदेखि लिएर मेरा सबै काम यसमै हुन्छ,' उनले भने।
अपांगता हुनु अवसरबाट बञ्चित हुनु भन्ने लाग्दैन उनलाई।
'अरूभन्दा भिन्न हुनु एउटा नयाँ अवसर पाउनु हो,' कृष्ण भन्छन्।
गत जनवरीमा उनी 'नेदरल्यान्ड्स ग्लोबल युथ सम्मलेन'मा भाग लिने तयारीमा थिए।
'मैले भिसा पाए पनि मेरा सहयोगीको भिसा आएन। सहयोगीबिना जान सम्भव भएन,' अवसरबाट बञ्चित भएकोमा उनलाई अलि दुःख लागेको छ।
तर उनी निरश छैनन्। कहिलेकाहीँ समस्या भए पनि कुनै अंग नहुँदैमा वा नचल्दैमा केही गर्न सकिँदैन भन्ने भ्रम मात्र मान्छन् उनी।
उनको कामले यो सावित गरिसकेको छ।
'ज्यान नचलेर के भो, दिमाग चलेसम्म काम गर्छु,' कृष्णले भने।