गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो।
मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो।
यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ।
ग्यास सिलिण्डरमा आगलागी हुँदा हामी धेरैजना आत्तिन्छौं। १६ वर्ष अग्नि नियन्त्रकको काम गरेका राजकुमार ठकुरी भने यस्तो बेला नआत्तिई सामान्य घरेलु तरिकाबाट आगो नियन्त्रण गर्न सकिने बताउँछन्।
ठकुरीका अनुसार ग्यास सिलिण्डरमा लागेको आगो निभाउने केही घरेलु तरिका छन्।
पहिलो,औंलाको प्रयोग। यदि सिलिण्डरको रेगुलेटरमा मात्र आगो सल्केको हो भने पाइप निकालेर औंलाले रेगुलेटरको टुप्पो थुनेर आगो निभाउन सकिन्छ।
‘आगो निभ्नेबित्तिकै रेगुलेटर पनि अफ गरिहाल्नुपर्छ,’ उनले भने।
दोस्रो तरिका हो, बाल्टिनले छोप्ने।
‘सिलिण्डरको रेगुलेटरलाई माथिबाट बाल्टिनले छोप्यो भने आगो नियन्त्रण हुन्छ,’ ठकुरीले भने।
तेस्रो, तन्ना र पर्दाको प्रयोग। बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँध्यो भने आगो निभ्छ।
यही तरिकामा तन्नालाई बाक्लो पट्याएर हान्दा पनि आगो निभ्ने उनी बताउँछन्।
अर्को तरिका अग्नि नियन्त्रण यन्त्रको प्रयोग हो। यस्तो यन्त्र धेरै घर परिवारमा नहुन सक्छ।
ठकुरी सकेसम्म एउटा यस्तो यन्त्र घरमा राख्न सुझाउँछन्।
अग्नि नियन्त्रण यन्त्रले ग्यासमा लागेको आगोको पोइन्टलाई ताकेर हान्यो भने तुरुन्त आगो निभ्छ। यो यन्त्र चलाउन अलिकति प्राविधिक सीप चाहिने ठकुरी बताउँछन्।
यो त ग्यासको रेगुलेटरमा लागेको आगोको कुरा भयो। ग्यासको पाइपमा आगलागी भयो भने के गर्ने?
ठकुरी भन्छन्-यसको लागि सजिलो तरिका छ। आगो बलिरहेको पाइपलाई बीचमा भाचे आगो निभ्छ।
ग्यास सिलिण्डरमा आगलागी भयो भने नआत्तिई काम गर्नुपर्छ।
‘सकेसम्म यस्ता घरेलु तरिकाहरु अपनाउने र नजिकैको अग्नि नियन्त्रण कार्यलयमा फोन गर्ने,’ उनले भने।