तपाईंहरूलाई थाहा छ, अचेल देवदेवीहरू नाचिरहेका छन्। कोही महाकाली, कोही लाखे, भैरव त कोही कुन भगवानका रुपमा काठमाडौं उपत्यकाका टोल-टोलमा देखिन थालेका छन्। यो देवदेवीहरूको नृत्यको मौसम हो।
विभिन्न देवदेवीको मुखुण्डो लगाएर साना नानीबाबुदेखि पाका उमेर समूह नाचमा मग्न छन्।
तौलाछेस्थित विश्वकर्मा भैलः प्याखँ खलमा मंगलबार साँझ यस्तै दृश्य देखिन्थ्यो। भैलः अर्थात् भैरव नाचको तयारीमा उनीहरू जुटेका थिए। बाजाको तालमा देवदेवीको नाच्ने 'ताल' पनि कहिले सुस्त त कहिले रौद्र हुन्थ्यो।
नाचका अध्यक्ष कृष्णभक्त प्रजापतिका अनुसार भलभल अष्टमीका दिन नवदुर्गा नाचको बिसर्जनपछि भैलः लगायत अन्य नाचको तयारी सुरू हुन्छ।
गठेमंगलबाटै नेवार समुदायमा परम्परागत नाच र बाजाहरू सिकाउन सुरू गरिन्छ। त्यही दिनबाट यहाँ पनि अःख (नाच सिक्ने चोक) मा पोसाकबिनै नाच सिकाउन सुरू भएको थियो। मंगलबार भने तासका कपडा र मुखुण्डो लगाएर नास द्यः लाई नाच प्रदर्शन गरियो।
'भैलः प्याखँमा छुट्टै किसिमको शक्ति हुन्छ,' प्रजापतिले भने, 'भैरव क्रोधित मुद्रामा नाचेर भुतप्रेत भगाउँछन् भन्ने मान्यता छ।'
इतिहासविद् ओम धौभडेलका अनुसार प्रत्येक वर्ष भलभल अष्टमीमा नवदुर्गा गणको देहावसान हुन्छ। नवदुर्गाको मुखुण्डो नगरको पूर्वस्थित ब्रह्मायणी पीठमा जलाएर अन्त्येष्टि गरिन्छ। तन्त्रमन्त्रबाट नगरबासीलाई सुरक्षा प्रदान गर्ने नवदुर्गाको देहावसानपछि रोगव्याध तथा भूतप्रेत प्रकोप बढ्ने जनविश्वास छ। मान्छेको निधन पनि यही समयमा बढी हुने मान्यताअनुसार 'सापारू' अर्थात् गाईजात्रा पनि यही बेला मनाइन्छ।
नवदुर्गाको जन्म फेरि दसैंमा हुने जनविश्वास छ। त्यतिन्जेल भैरव, महाकाली लगायत देवदेवीले रोग व्याध हटाउँछन् भन्ने मान्यता छ।
'यो हामी किसानहरूको धान रोपेपछिको फुर्सदको समय पनि हो,' नाचका अध्यक्ष प्रजापतिले भने, 'त्यही समय सदुपयोग गर्न पनि नाचहरू गरेका हौं।'
यो नाचमा धा, धिमे, ता लगायत बाजा हुन्छन्। नवदुर्गा नाचमा नबजाइने नालाखिगं बाजा पनि गठेमंगलबाट बजाइने प्रजापति बताउँछन्।
भैलः प्याखँ कहिलेबाट सुरू भयो भन्ने ठ्याक्कै इतिहास नभए पनि मल्लकालबाट सुरू भएको मानिन्छ। यसमा भैरवसँगै उनकै परिवारको ख्याः, लाखे, क्व, बेताल लगायत नृत्य देख्न सकिन्छ। क्व, बेताल लगायत साना पात्र बन्न करिब ६ वर्ष र ठूलोमा २० देखि २५ वर्षको हुनुपर्ने प्रजापतिले बताए। भगवान बन्ने पनि प्रजापति वा अवाल परिवारकै हुनुपर्छ।
भक्तपुरकै चार ठाउँमा भैरव नाच तयारी भइरहेको छ। त्यहाँबाहेक थिमी, पनौती लगायत अन्य ठाउँमा पनि यो नाच प्रदर्शन हुन्छ। नाम उस्तै भए पनि विशेषता केही फरक छन्।
विश्वकर्मा भैलः प्याखँ खलको भोजमा पनौतीदेखिका मान्छे आएका थिए। पनौतीका माधव प्रजापतिका अनुसार त्यहाँ पनि भैलः प्याखँ हुन्छ। मुकुटको आकार र बाजाको ताल भने केही भिन्न हुने उनले जानकारी दिए।
थिमीको भैलः प्याखँमा पाँच भैरव हुन्छन्– ल्यू भैलः, न्हापा भैलः, न्हापा दागीँ, ल्यु दागीँ र ज्यनपुङ। कुमारको प्रतीक मानिने ज्यापुङ भने मुखुण्डो नलगाई नाच्छन्। उनीहरूले देवगण क्रोधित हुँदा शान्त बनाउँछन्।
भैरवबाहेक निलबाराहीको नाच, मध्यपुरको महाकाली र ठाउँ-ठाउँमा हुने लाखे नाच यो समयको विशेषता हुन्। शुक्रबार हुने सापारूमा भक्तपुरमा घिन्ताघिसी (लठ्ठी जुधाएर नाच्ने) र माक प्याखँ (बाँदरजस्तो हाउभाउसहितको नाच) को छुट्टै प्रतियोगिता हुन्छ।
भक्तपुरमा नौ दिनसम्म गाईजात्रा मनाइन्छ। योबीचमा भैल, देवी, माक, घोडा लगायत तीन दर्जनभन्दा बढी नाच प्रदर्शन हुन्छन्। यसै अवसरमा भक्तपुर नगरपालिकाले केही वर्षयता नाच प्रतियोगिता गर्दै आएको छ।
'गाईजात्राको नाच अलिकति विकृत रुपमा आउन थाल्यो,' भक्तपुरका मेयर सुनिल प्रजापतिले भने, 'जात्रालाई अनुशासित, व्यवस्थित र मर्यादित बनाउन पनि हामीले प्रतियोगिता गरेका हौं। एक त संस्कृति जोगिने, अर्को कलाकारहरूलाई प्राेत्साहन पनि हुने।'
प्रतियोगितामा अलगअलग मूल्यांकन गरिन्छ। सापारूको मुख्य दिन घिन्ताघिसी र माक प्याखँ मात्रैकाे छुट्टै मूल्यांकन हुन्छ। पछि पनि ती नाच आउँछन् तर त्यसपछि मूल्यांकन गरिँदैन।
सबभन्दा धेरै देवी नाच र भैलः प्याखको प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३५, ३० र २५ हजार रूपैयाँ इनाम दिइन्छ। त्योबाहेक गाइचा प्याखँ, लुसी प्याखँ, भालु प्याखँ, जंगली प्याखँ, खिचा प्याखँ लगायत नृत्यको पनि प्रतियोगिता छ। यी नाच पर्यटकीय नगरीभित्रका विभिन्न ठाउँमा प्रदर्शन हुन्छन्। बेलुकी ३ देखि ५ बजेसम्म दरबार स्क्वायर र अन्य ठाउँ-ठाउँमा विभिन्न समयमा प्रतियोगितात्मक प्रदर्शनी हुन्छ। परम्परागतसँगै आधुनिक नृत्यलाई पनि प्राथमिकता दिँदै अलग्गै मूल्यांकन गरिन्छ।
यी नाचलाई विभिन्न ठाउँमा खटिएका मूल्यांकन समितिले हेर्दै विजेता घोषणा गरिन्छ। प्रतियोगिताबाट उत्कृष्ट महिला, पुरुष र बाल कलाकारको घोषणा गरिने मेयर प्रजापति बताउँछन्। पोहोर साल सापारूमा करिब १४ लाख खर्च भएको र यो साल पनि त्यही हाराहारी खर्च हुने अनुमान छ।
'गाईजात्रा अझै स्तरीय होस् भनेर यो पटक हामीले नाटक लेखन र व्यंग्य चित्र प्रतियोगिता पनि गरेका छौं,' उनले भने।
भक्तपुरको सापारू काठमाडौं र पाटनको भन्दा विशेष मानिन्छ। यो दिन 'सायात' गर्ने चलन छ जुन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो। 'सा' भनेको गाई र 'यात' भनेको यात्रा वा जात्रा हो।
भक्तपुरमा सापारू सुरु भएको संकेत अघिल्लो अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनबाटै हुन्छ। यो दिन भक्तपुरको पूर्व फर्केका नौ वटा ढुंगेधारामा मुख धुने चलन छ। साँझपख तलेजूबाट घिन्ताघिसी नाच ल्याएपछि सापारू सुरू भएको मानिन्छ। भोलि हुनुअगावै मध्यरातदेखि नै दिवंगतहरूको नाममा भक्तपुरबासी प्रतिकात्मक गाई घुमाउँछन्। बिहान भने वर्षभर दिवंगत भएकाको सम्झनामा विशेषगरी डोकोमा बनाएका गाई अर्थात् 'दोकचा सा' नगर परिक्रमा गराइन्छ।
हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार वर्षभर बन्द हुने स्वर्गद्वार गाईजात्रा निकालेपछि खुल्छ। र, त्यो समयमा मृतकको नाममा प्रतिकात्मक गाई बनाएर वैतर्णी नदी पार गरी स्वर्ग जाने अभिप्रायले मनाएको पर्व हो सापारू।
अर्काेतर्फ सापारू पर्वबाट वर्षभरमा मृत्यु भएकाहरूको तथ्यांक तयार भई सचेतना जगाउने काम हुन पुग्थ्यो र यसमार्फत् अकाल मृत्युबाट बच्न र बचाउन सन्देश प्रवाह गर्थ्यो।
'त्यतिमात्र हैन, जेठ–असारतिर पानी परेपछि प्राकृतिक विपद तथा रोगव्याधले बर्सेनि थुप्रैको अकालमा मृत्यु हुन्थ्यो। त्यसैले धार्मिक रूपमा दिवंगतहरूले स्वर्ग जान पाउने आधार यही भाद्र शुक्ल प्रतिपदा अर्थात् सापारूको दिन रह्यो,' संस्कृतिविद् धौभडेलले भने।
मृत्य र प्रकोप रोकेर रोकिने होइनन्। देवदेवीको नाचको शक्तिले त्यसलाई निम्त्याउने भुतप्रेत भगाएर नियन्त्रण गर्लान् कि!
सबै तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी