प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ।
कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको सहभागिता रहने गर्दछ।
भदौ सङ्क्रान्तिलाई सिंह सङ्क्रान्तिको रुपमा मनाउने प्रचलन छ।
यही दिनदेखि बाघभैरव नाचसमेत सुरु हुन्छ।
परम्परा अनुसार जात्रा अवधिभर विभिन्न स्थानमा गरी १५ पटकसम्म नाच प्रदर्शन गर्नुपर्ने हुन्छ।
कीर्तिपुर दरबार स्क्वायरस्थित सत: क्वय, पांगा र ललितपुरको पाटन दरबार स्क्वायरमा नाच प्रदर्शन गर्ने गरिन्छ।
यदि कसैले नाचका लागि निमन्त्रणा दिन आएमा त्यही स्थानमा पुगी नृत्य प्रदर्शन गर्नुपर्ने परम्परा रहिआएको छ।
विशेष गरी तान्त्रिक र वैदिक दुवै विधिबाट नचाइने नाच हेर्न आइतबार साँझ कीर्तिपुरबासीको घुइँचो लागेको थियो।
नाच ‘चाख:’ भनी राति र ‘न्हिख:’ भनी दिउँसो गरी दुई चरणमा नचाउने चलन छ।
पहिलो चरणको नाच आइतबार कीर्तिपुर दरबार क्षेत्र सत: क्वयस्थित द्य: छेँ (देवता घर)मा देखाइयो। त्यसपछि ११ देवगण, ५ गुरु, ४ नाइके र २ थकालीको टोली नगाउँ प्रस्थान गर्छ।
यसका लागि देवता घरमा सिद्धिपूजा गर्ने प्रचलन छ। नगाउँमा उनीहरूलाई बालकुमारी दे गुठी, माली, धर्म र उपकार गुठीले स्वागत गर्ने मान्यता छ। चारै गुठीको पहलमा श्वेत भैरवको पनि नृत्य प्रदर्शन गरेपछि मात्रै श्वेत भैरवको नृत्य सत:क्यामा मात्र प्रर्दशन गर्ने प्रचलन छ।
माली गुठीद्वारा सञ्चालित नाच मल्ल राजा श्रीनिवास मल्लको पालादेखि चल्दै आएको बताइन्छ।
नगरप्रमुख रमेश महर्जनका अनुसार भैरवले माटोको बाघमा रुप धारण गरेपछि स्थानीय बासिन्दाले यही कथाका आधारमा पूजा तथा भेडा, बोका र राँगा बलि दिएर बाघभैरवको जात्राको परम्परा शुरु भएको जनविश्वास छ।
बाघभैरव स्थान नजिकमा अन्य देवदेवीको मूर्ति छन् भने मन्दिर क्षेत्रमा प्राचीन समयका भाँडाकुँडासमेत राखिएका छन्। मन्दिर समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइ तथा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा फैलिएको छ। प्यागोडा शैलीको तीनतले मन्दिरमा पित्तल र झिँगटीले छानो सजाइएको र १८ वटा गजुर छन्।
गोपाल वंशावलीका अनुसार कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले इसं १०९९–११२६ को सेरोफेरोमा गरेका हुन्। पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३ मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको बताइएको छ। बाघभैरवको उत्पत्तिकाबारे पुरातात्विक प्रमाण फेला परेका छैनन् र किंवदन्तीका आधारमा जात्रा सञ्चालन गरिएको पाइन्छ। किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जिब्रो छैन।
विसं २०१४ मा बाघभैरव खट परिक्रमा समिति स्थापना गरेर नगरका भित्री स्थानीय गाउँमा खटजात्रालाई व्यवस्थितरुपमा चलाउने परम्परा थालिएको कीर्तिपुर–१ का वडा अध्यक्ष हर्ष महर्जनले जानकारी दिए। एघार वर्ष अगाडि खटजात्रा शुरु गरिएको ५० वर्ष पुगेका अवसरमा स्वर्ण महोत्सव मनाइएको थियो। बाघभैरवको मूर्ति विसं २०३८ र विसं २०६९ मा मर्मत तथा जीर्णोद्धार गरिएको जनाइएको छ।
यही बाघभैरवको शक्ति प्रदर्शनका लागि मूर्तिलाई खटमा राखेर चार जनाले बोकेर कीर्तिपुरका सबै स्थानमा घुमाउँदै पूजा गरिन्छ। भक्तजनले खटमा रहेका बाघभैरव देवताको मूर्तिमा पूजा गरेपछि कसैले धूप बाल्ने, कोही लावा त कोही धूपबत्ती बाल्ने गर्दछन्।
जात्राको रमाइलो पक्ष भनेको उक्त मन्दिरमा १०८ पटक परिक्रमा गरेमा पारिवारिक सुख शान्ति कायम भई मनका इच्छा पूरा हुने, समृद्धि प्राप्त हुने विश्वास गरिएको स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी विजयकुमार महर्जनले जानकारी दिए। मन्दिर घुम्ने भक्तजनले बिहानैदेखि रातभरसम्म परिक्रमा गर्दछन्।
नेसं ३३५ मा पाटन पिम्बहालका महापात्र जगतपाल बर्माले बाघभैरव देवताको पुरानो मन्दिर भत्काएर पुनःनिर्माण गराइ तीनतले प्यागोडा शैलीमा मन्दिर बनाएको स्थानीय बुढापाका बताउँछन्। प्रत्येक १२ वर्षमा एकपटक बाघभैरवको विशेष जात्रा गरिन्छ।
दुई वर्ष अगाडि यस किसिमको जात्रा सम्पन्न गरिएको थियो। यस जात्राअन्तर्गत विभिन्न देवदेवीका नाच देखाइन्छ। भैरव, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ। कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा समेत बाघभैरवलाई मानिएको छ।