ललितपुरको गाबहालमा 'वाद्य शिरोमणि संगीत घराना म्युजिक स्कुल' छ। साँझ चार-पाँच बजेपछि त्यहाँ सुरिलो धून गुञ्जिन थाल्छ। कहिले लोक, कहिले नेवार भाषाका गीतका धूनले गल्ली नै संगीतमय हुन्छ।
संगीतको यो तालमेल मिलाउने र मिलाउन प्रयास गरिरहेकाहरू आठदेखि १५ वर्षका केटाकेटी छन्। उनीहरू गुरु शैलेन्द्र शाक्यको मादल वा तबलाको तालसँगै भायलिन बजाउँछन्।
भायलिन १६ औं शताब्दीमा इटालीमा बनेको मानिन्छ। पश्चिमा संगीत पूर्वीय समाजमा भित्रिएपछि त्यसलाई आफ्नै ढंगले प्रस्तुत गरिन थाल्यो। नेपाल-भारतमा भायलिनमा 'क्लासिकल' धून भरेर बजाउन थालियो। पश्चिमा बाजामा मिसाइएको पूर्वीय संगीत सुमधुर हुन थाल्यो।
भायलिनमा चारवटा तार हुन्छन्। संगीतको तालअनुसार सानो लठ्ठीजस्तो 'बो'ले तारमा रगडेर बजाइने भायलिन चिउँडोले अड्याएर बजाइन्छ। केहीले आफ्नो सहजताअनुसार बजाउने गरेका छन्।
ललितपुरको वाद्य शिरोमणि स्कुलमा सोमबार केटाकेटीहरू यस्तै गरी लोक धून बजाइरहेका थिए। प्रशिक्षार्थीहरूमध्ये अधिकांश छोरीहरू छन्। उनीहरूले यहाँ सिकेको कला विभिन्न कार्यक्रममा सहभागी भएर देखाइरहेका छन्। अहिले उनीहरू कृष्ण जन्माष्टमीको तयारी गरिरहेका छन्।
२०७३ सालमा खोलिएको यो स्कुलमा सबै उमेर समूहका मान्छे सिक्न आउने गुरु शैलेन्द्र शाक्य बताउँछन्।
'पाँच वर्षदेखि ७० वर्षसम्मकालाई सिकाएको छु,' उनले भने, 'पहिले भायलिन बजाएर के गर्ने भन्ने हुन्थ्यो, अचेल यो सिकाइ धेरै व्यवसायिक भएको छ।'
शैलेन्द्रले भायलिन सिकाउन थालेको दस वर्ष भयो। उनका बुबाका साथीले भायलिन सिकाउँथे। उनलाई यो बाजा अनौठो लाग्यो। चासो बढेपछि उनले सिक्न थाले। सिकेपछि सिकाउनतिर लागे।
'दिउँसो ह्याण्डी क्राफ्टमा काम गर्थेँ र साँझ सिक्न जान्थेँ। पछि कार्यक्रमहरू गर्दागर्दै विभिन्न स्कुलमा सम्बन्ध बन्यो। आफूले सिक्दासिक्दै स्कुलहरूमा सिकाउन थालेँ,' उनले भने, 'पार्टटाइम कामका रूपमा सिकाउन थालेको, पछि पूरापूर यसैमा लागेँ।
शैलेन्द्र विभिन्न संगीत ब्याण्डमा पनि आबद्ध भए। सांगीतिक पेशामा लाग्न गाह्रो भए पनि निरन्तर यसैमा लागेको उनी बताउँछन्। उनको मिहिनेतको नतिजा हो, उनले सिकाएका केही विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका छन्।
‘केही विद्यार्थी अलि नाम चलेको ब्याण्डमा पनि छन्। केहीले पदक जितेका छन्,' शाक्य खुसी हुँदै भन्छन्, 'यो देख्दा आनन्द लाग्छ।'
उनका अनुसार पहिले-पहिले सांगीतिक क्षेत्रमा लाग्नेहरुप्रति दृष्टिकोण फरक हुन्थ्यो। 'संगीतले पेट पाल्दैन, छोराछोरीले पढाइ बिगार्छन्' जस्ता कुरा परिवारका सदस्यको मुखबाट निस्कनु सामान्य मानिन्थ्यो।
आजभोलि यो धारणा फेरिएको छ। आफ्ना छोराछोरीले पढाइसँगै कला पनि सिकून् भन्ने आमाबुबा अचेल धेरै छन्। केहीले भने अझै पनि संगीतलाई पेशाकै रुपमा काम गर्न नरुचाउने शैलेन्द्र बताउँछन्। तर उनीहरूले पनि बजाएको देखे-सुनेपछि राम्रो प्रतिक्रिया दिने गरेका छन्।
शैलेन्द्रकहाँ कोही भर्खरै सिक्न आएका छन् त कोही धेरै वर्षदेखि सिकिरहेका छन्। सात वर्षदेखि भायलिन सिक्दै आएको शैलेन्द्रकी विद्यार्थी हुन् सिमरन महर्जन।
'पहिले पहिले धूनहरू बजाउन त सजिलै लाग्थ्यो। पछि रागहरू बजाउन थालेपछि भने गाह्रो हुँदै जान्छ,' सिम्रन आफ्नो सिकाइ अनुभव सुनाउँछिन्।
शैलेन्द्र शाक्यका विद्यार्थीमा ललितपुरकी पूर्वकुमारी पनि छन्। पूर्वकुमारी युनिका बर्जाचार्यले यहाँ भायलिन सिक्न थालेको पाँच वर्ष भयो। उनी नेपालको सांस्कृतिक संगीत बजाउन रूचाउँछिन्। युनिकाकी दिदी विफसा पनि सँगै सिक्दै छिन्।
‘भायलिन बजाउन गाह्रो त छैन। इच्छा भएन भने चाहिँ सिक्न मुश्किलै हुन्छ। मलाई भने त्यत्ति गाह्रो लाग्दैन,' उनी भन्छिन्।
शैलेन्द्रका अनुसार यहाँ सिक्न आउनेमध्ये धेरैजसो सोखकै कारण आएका छन्। केहीले भने यसैमा भविष्य पनि खोज्ने उनी बताउँछन्।